स्वास्थ्यका एजेन्डामा होडबाजी

५० शैय्याका अस्पताल सञ्चालन गर्नेदेखि मेडिकल कलेज स्थापना गर्नेसम्म उम्मेदवारका चुनावी प्रतिबद्धता

सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरूले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर प्रतिबद्धता–पत्रमा समेटेका छन् । राजनीतिक दल तथा उम्मेदवारहरूले आफ्ना घोषणा र प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, स्तरोन्नति, जनशक्ति व्यवस्थापन तथा उपकरणको प्रबन्ध मिलाइने दाबी गरेका हुन् । मतदाता रिझाउन धेरैजसो भौतिक पूर्वाधारका एजेन्डालाई प्रतिबद्धतामा राखेका उम्मेदवारले स्वास्थ्य संरचनाको विकासमा पनि उत्तिकै जोड दिएका छन् । अहिले राजनीतिक दल तथा उम्मेदवारहरू घरदैलो अभियान, आमसभा लगायतका चुनावी प्रचारप्रसारमा तिनै एजेन्डाहरू लिएर मत मागिरहेका छन् । कर्णाली प्रदेशका ग्रामीण भेगका नागरिकले आधारभूत स्वास्थ्य सुविधासमेत पाउन नसकिरहेको बेला उम्मेदवारले भने महत्वाकांक्षी योजनालाई प्रतिबद्धता–पत्रमा बढी समेटेको देखिएको छ । धेरैजसो उम्मेदवारका स्वास्थ्यसम्बधी प्रतिबद्धता हेर्दा चुनावी नारामै सीमित हुने देखिएको छ । आधारभूत सेवा नै नपुगेका ठाउँमा ५० शैड्ढयाका अस्पताल सञ्चालन गर्नेदेखि मेडिकल कलेज स्थापनासम्म पहल गर्ने उम्मेदवारका चुनावी प्रतिबद्धतामा उल्लेख छ ।

सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ का उम्मेदवार एकीकृत समाजवादीका मोहन बडुवालले पश्चिम क्षेत्रबाट चिकित्सकीय सेवाका लागि वीरेन्द्रनगर आउनुपर्ने बाध्यताको अन्त्य गरिने प्रतिबद्धता जनाएका छन् । उनको प्रतिबद्धता–पत्रमा गुणस्तरीय स्वास्थ्य सेवा, जनशक्ति र पूर्वाधारमा जोड दिइएको छ । बडुवालले सालकोटलाई ५० शैड्ढयाको अस्पताल बनाउन पहल गर्ने, गाउँमै विशेषज्ञ सेवा उपलब्ध गराउने, चौकुने र बराहतालमा सुविधासम्पन्न १५ शैड्ढयाको अस्पताल बनाउन पहलकदी गरिने दाबी गरेका छन् । त्यस्तै, हरेक वडामा रहेका स्वास्थ्य संस्थाबाट सेवालाई गुणस्तरीय र सर्वसुलभ बनाउन जनशक्ति व्यवस्थापनमा पहल गर्ने भन्दै उनले मतदातालाई योजना सुनाइरहेका छन् ।

कर्णाली प्रदेश सरकारका पूर्व मुख्यमन्त्रीसमेत रहेका नेकपा ‐माओवादी केन्द्र) का महेन्द्रबहादुर शाही अहिले प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटबाट उनी सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका छन् । उनीसहित प्रदेशसभातर्फ माओवादी केन्द्रकै दुर्गबहादुर रावत र नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट उम्मेदवार छन् । यहाँ गठबन्धनका उम्मेदवारहरूले संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन् । उक्त जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धनको साझा प्रतिबद्धतामा स्वास्थ्य बिमा र सबैको लागि आधारभूत निःशुल्क स्वास्थ्य सेवाको प्रबन्ध मिलाइने उल्लेख छ । एक निर्वाचन क्षेत्र एक टेलिमेडिसिन सेवा, विशेषज्ञ सेवासहित प्रत्येक पालिकामा १५ शैड्ढयाको अस्पताल, हरेक वडामा प्रसुति गृहसहितका प्राथमिक स्वास्थ्यचौकी स्थापना गर्न लागि पहल गरिने जनाइएको छ । त्यस्तै, उनीहरूले रास्कोटमा ५० शैड्ढयाको अस्पताल निर्माणलाई पनि प्रतिबद्धता–पत्रको बुँदामा समेटेका छन् । गठबन्धनका उम्मेदवारले आयुर्वेद तथा प्राकृतिक चिकित्सा पद्धतिको विकास गरिने समेत दाबी गरेका छन् ।

सुर्खेत क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा ‘क’ मा उम्मेदवार बनेका नेकपा ‐एमाले) का स्थायी कमिटी सदस्य यामलाल कँडेलले हालको प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने प्रतिबद्धता मतदाता समक्ष गरेका छन् । उनको चुनावी प्रतिबद्धता–पत्रमा सुर्खेत मेडिकल कलेजको पूर्वाधार निर्माण समयमै सम्पन्न गर्न पहल गर्ने, सबै प्रकारका स्वास्थ्य संस्थालाई जनशक्ति, औषधि, उपकरण तथा भौतिक पूर्वाधारमा सुविधासम्पन्न बनाउने उल्लेख छ ।

त्यस्तै, रुकुम–पश्चिमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका माओवादी केन्द्रका जनार्दन शर्माले आफ्नो प्रतिबद्धतामा गाउँघर क्लिनिकदेखि पालिकास्तरमा ठूलो क्षमताका अस्पताल स्थापना गरिने दाबी गरेका छन् । मेडिकल कलेज स्थापना तथा जिल्लामा गुणस्तरीय स्वास्थ्य सेवाका सबै प्रबन्ध मिलाइने उनको चुनावी प्रतिबद्धता छ । स्वस्थ जीवनका लागि योग र ध्यान तथा युवाका लागि खेलकुद अभियान सञ्चालन गरिनेसमेत उनले दाबी गरेका छन् । जाजरकोटमा पनि उम्मेदवारहरूमा स्वास्थ्यका एजेन्डा मतदातामा लैजाने होडबाजी छ । त्यहाँबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माओवादी केन्द्रका शक्ति बस्नेतले खलंगामा ५० शैड्ढयाको अस्पताल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । नेता बस्नेतले प्रत्येक पालिकामा पाँचदेखि १५ शैड्ढयाको अस्पताल निर्माणका लागि पहल रहने र वडापिच्छे सामुदायिक स्वास्थ्य इकाईको स्थापना गर्ने प्रतिबद्धता–पत्रमा उल्लेख गरेका छन् ।

राजनीतिक दलका मात्र नभइ स्वतन्त्र उम्मेदवारी दिएकाको प्राथमिकतामा पनि स्वास्थ्य परेको छ । मतदातालाई आकर्षित गर्न उनीहरूले पनि स्वास्थ्य क्षेत्रका धेरै बुँदा समेटर आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । दैलेख क्षेत्र नं. २ प्रदेशसभा ‘क’ का स्वतन्त्र उम्मेदवार पुरुषोत्तम रिजालले सरकारले दिने निःशुल्क औषधिलाई सर्वसुलभ गराउने, विपन्न परिवारको विना शुल्क बिमा गर्ने र मानसिक स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य चौकीहरूको स्तरोन्नतिका लागि पहल हुने बताएका छन् । निर्वाचनका बेला दल तथा तिनका उम्मेदवारले महŒवाकांक्षी एजेन्डा ल्याए पनि जिम्मेवारीमा पुग्दा कार्यान्वयन नहुने गरेको मतदाताहरूको गुनासो छ । प्रदेशमा स्वास्थ्य संरचना तथा जनशक्ति व्यवस्थापनका सरकारी कार्यक्रमसमेत प्रभावकारी बन्न सकेका छैनन् । यहाँको स्वास्थ्य सेवा सुधारोन्मुख भए पनि भौगोलिक विकटता, पूर्वाधार तथा जनशक्तिको अभावका कारण विकटका बासिन्दालाई उपचारका लागि सकस हुने गरेको छ । चुनावी घोषणा र प्रतिबद्धतामा अन्य क्षेत्रजस्तै स्वास्थ्यका सवाल समेट्ने गरि अधिकांश एजेन्डा व्यावहारिक नदेखिने गरेको जानकारहरू बताउँछन् । कर्णालीको आवश्यकता र अवस्थाको ख्याल नगरी लोकप्रिय बन्ने होडमा उम्मेदवारहरूले स्वास्थ्य क्षेत्रलाई चुनावी नारा बनाएको उनीहरूको भनाइ छ ।

प्रकाशित मितिः   २९ कार्तिक २०७९, मंगलवार ०५:०५