एमयूका दुई पदाधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेत: मध्यपश्चिमाञ्चल विश्वविद्यालय ‐एमयू)का दुई जना पदाधिकारीलाई भ्रष्टाचार गरेको अभियोग लागेको छ । विश्वविद्यालयका सहायक डिन एवम् परीक्षा समितिका संयोजक कमलेश डिसी र अंग्रेजी विषयका विज्ञ विनयकुमार दासविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमवार उनीहरूविरुद्ध प्रश्नपत्रको गोपनीयता भङ्ग एवम् परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा विशेष अदातलमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम् योग्यता एउटै विषय मात्र राखिएको, विज्ञको छनोट, लिखित तथा मौखिक परीक्षामा मिलेमतो गरी छनोट प्रक्रिया सम्पन्न गरिएको र लिखित परीक्षाको कपीमा अंक थपघट गरिएको भन्दै उनीहरूमाथि आरोप लगाएको छ । डिसी र दासविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुरमा ऐ. ऐनको दफा १३ बमोजिम सजाय गर्न अख्तियारले विशेष अदालतसँग मागदावी गरेको छ ।

प्रकाशित मितिः   २९ कार्तिक २०७९, मंगलवार ०५:०१