काठमाडौंमा आज नौ दलको शक्ति प्रदर्शन
प्रमुख विपक्षी एमालेको नेतृत्वमा गठबन्धनका ९ दलले काठमाडौंमा शुक्रबार शक्ति प्रदर्शन गर्दैछन् ।
विदेशीको निर्देशनमा सरकारले राष्ट्रविरोधी संविधान संशोधन विधेयक ल्याएको भन्दै संघर्ष गर्दै आएका एमालेसहितका विपक्षी दलले काठमाडौंको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्न लागेका हुन् । शक्ति प्रदर्शनको ‘ट्रेलर’स्वरुप एमाले एक्लैले बिहीबार काठमाडौंमा हजारौंको मोटरसाइकल र्याली निकालेको थियो ।
जनप्रदर्शनमा एमालेसहित नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०, राष्ट्रिय जनमोर्चा, नेकपा माले, नेपाल परिवार दल, बहुजन शक्ति पार्टी, नेपास् राष्ट्रिय पार्टी, मधेस समता पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) सहभागी छन् । संसदमा नरहेको चुरेभावर राष्ट्रिय पार्टी (लोकतान्त्रिक)ले पनि विपक्षी सभालाई साथ दिएको छ ।
एमाले उपाध्यक्ष एवं ३ नम्बर प्रदेश ईञ्चार्ज अष्टलक्ष्मी शाक्यले डेढ लाख जनता सडकमा आउने दाबी गरिन् । ‘हामीले एक लाख जनता आउँछन् भन्ने आंकलन गरेका थियौं,’ उनले भनिन्, ‘तर, पार्टीले पाएको प्रतिबद्धताका आधारमा डेढ लाख नाघ्ने निश्चित भयो ।’
एमालेले दुई दर्जनभन्दा बढी भ्रातृ र शुभेच्छुक संगठनलाई अनिवार्य सबै सदस्यलाई उपस्थित गराउन सर्कुलर गरेको थियो । काठमाडौं उपत्यकामा मात्रै एमालेका ५० हजार संगठित सदस्य छन् ।
जनप्रर्दशनमा आउनुअघि विपक्षी ९ दलले काठमाडौंका ९ मुख्य तथा ३२ सहायकसहित ४० ठाउँबाट जुलुस निकाल्दैछ ।
प्रदर्शनअघि विपक्षी दलले उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा कोणसभा गरेको थियो ।
एमाले सचिव योगेश भट्टराईले सभाका लागि ५ सय स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । विपक्षी दलको सभा भए पनि स्वयंसेवक भने एमाले एक्लैले तयार गरेको छ ।
सभाका लागि भित्ते लेखन गरिएको छैन । फोन, एमएमएस, सामाजिक सञ्जाल र पर्चाको प्रयोग गरिएको सचिव भट्टराईले बताए ।
प्रकाशित मितिः २२ पुष २०७३, शुक्रबार ११:५१
साझा बिसौनी ।