सुरक्षित निर्वाचन

निर्वाचनको मिति नजिकिएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल थप तातिएको छ । तर सुरक्षित रूपमा निर्वाचन सम्पन्न गराउनुपर्ने चुनौती पनि उत्तिकै रहेको छ । कर्णाली प्रदेशमा सुरक्षित रूपमा निर्वाचन सम्पन्न गराउन चुनौती देखिएको हो । प्रदेशका थुप्रै मतदानस्थल अहिले पनि जोखिमपूर्ण छन् । सात जिल्लामा दुई सय ६७ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । भौगोलिक विकटताका कारणले संवेदनशील मानिएका मतदानस्थलमा यसपालि चुनाव बहिष्कार गरेका समूहरूको पनि अवरोध रहने जोखिम छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित केही वाम दलले चुनाव बहिष्कार गर्ने नीति लिएका छन् । त्यस्तै, दलगत झडप हुनसक्ने भएकाले त्यसले पनि शान्ति सुरक्षामा जोखिम थपिने आकलन गरिएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारिएका बेला सुरक्षा रणनीतिबारे पनि छलफल थालिएको छ । निर्वाचनलाई सुरक्षित, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गर्न सुरक्षा रणनीति बनाउन सरोकारवालाहरू जुटेका छन् । कतिपय जिल्लामा विगतका निर्वाचनहरूमा दलका कार्यकर्ताबीच झपड हुँदा मतदाताको सुरक्षामा समस्या हुने गरेको थियो । अतिसंवेदनशील मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्थामा थप कडाइ गर्नुपर्ने भएको सरकारी अधिकारीहरूले जनाएका छन् । धेरै मतदानस्थलहरू संवेदनशील भएकाले निर्वाचन सुरक्षामा चुुनौती देखिएको हो । आउँदो निर्वाचनका लागि कर्णाली प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चार सय तीन वटा मतदान केन्द्र तोकिएका छन् । त्यसमध्ये कालीकोटमा सबैभन्दा बढी ७४ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचिमा छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सल्यानका ६३, दैलेखका ४८, रुकुम–पश्चिमका २१, सुर्खेतका २० र डोल्पाका २३ वटा मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । त्यस्तै, जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जनाइएको छ । प्रदेशभर तीन सय २५ मतदानस्थल संवेदनशील ठानिएका छन् । प्रदेशमा एकीकृत सुरक्षा प्रणालीअन्तर्गत सामान्य, संवेदनशील र अतिसंवेदनशील मतदानस्थलहरूको वर्गीकरण गरेर सुरक्षा व्यवस्थापन गरिएको छ ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रशासन र सुरक्षा निकायका अधिकारीले सुरक्षा अवस्थाबारे छलफल गरेका छन् । सुरक्षा रणनीतिका सन्दर्भमा उनीहरू एक अर्काे जिल्लाबीच सिकाइ आदान–प्रदान पनि गरिएको छ । निर्वाचनमा शान्ति सुरक्षाको बलियो प्रबन्ध गर्न जिल्लास्थित सुुरक्षा निकायलाई निर्देशन गरेका छन् । निर्वाचनलाई व्यवस्थित, शान्तिपूर्ण, मर्यादित र भयरहित बनाउन सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन गरिएको हो । प्रत्येक जिल्लाले आफ्नो जिल्लामा रहेको सुरक्षा संवेदनशीलताअनुसार रणनीति बनाएर लागू गरिने भएको छ ।

प्रकाशित मितिः   २४ कार्तिक २०७९, बिहीबार ०५:०३