शान्तिपुुरमा छाक टार्ने पिरलो
सुर्खेत: आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनलाई लक्षित गरी राजनीतिक दल र उम्मेदवारहरूले अहिले टोल–टोलमा समृद्धिका आश्वासन बाँडिरहेका छन् । गाउँ–गाउँमा चुनावी चहलपहल भइरहेपनि वीरेन्द्रनगर–११ को एउटा बस्तीमा भने बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने पिरलो छ । शान्तिपुर भनिने झुप्रा खोलामा रहेको बादी समुदायको उक्त बस्तीमा छाक टार्न मुस्किल भएको हो । सोही बस्तीका ६२ वर्षीय गगने बादी भन्छन्, ‘हामीलाई के को चुनाव लाग्नु, नेताहरू भोट माग्न मात्रै आउँछन्, हाम्रा दुःख कहिल्यै देख्दैनन् ।’ उनी शारीरिक रूपमा अशक्त छन् । ज्यालामजदुरी गर्ने अवस्था नभएकाले गुजरा चलाउनै मुस्किल छ । अहिले चुनाव आएकाले फाट्फुट नेताहरू मतदाता रिझाउन यो बस्तीमा जान थालेका छन् । आश्वासन मात्रै बाँड्ने भएकाले नेताहरूको विश्वास लाग्नै छोडेको त्यहाँका बासिन्दा बताउँछन् । चुनाव आउँदा घरदैलोमै पुगेर समस्या सोध्ने नेताहरू जितेपछि पाँच वर्ष फर्केर नआउने गरेको उनीहरूको गुनासो छ ।
शान्तिपुरकै गोल्मा बादीले नेताका आश्वासन देखेर दिक्क भइसकेको बताइन् । उनले भनिन्, ‘चुनाव आउँदा खोजी–खोजी बस्ती छिर्ने नेताको बोलिमा विश्वास लाग्न छाडेको छ ।’ विपन्न यो बस्तीका बासिन्दासँग लालपुर्जा छैन । खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या छन् । खोला किनारको शान्तिपुरमा अभाव र गरिबीले पिरोलेको बिमा वादीले बताइन् । खोलाबाट गिट्टी बालुवा निकालेर दैनिकी गुजार्दै आइरहेकी उनले तीन÷चार महिनादेखि ज्याला मजदुरीको काम पनि नपाएको बताइन् । हरेक चुनावताका नेताहरूले शान्तिपुरका बासिन्दालाई लालपुर्जा दिलाउने आश्वासन दिए पनि पूरा भएको छैन । ऐलानी जग्गामा बस्दै आएका उनीहरूले वर्षाैंको संघर्षपछि बल्ल सेतोपुर्जा पाएका छन् । शान्तिपुरमा बादी समुदायका ८० घरधुरी छन् ।
प्रकाशित मितिः २४ कार्तिक २०७९, बिहीबार ०५:०१
साझा बिसौनी ।