मतदाता शिक्षा घरदैलोमै

सुर्खेत: आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । निर्वाचन नजिकिएसँगै कार्यत्रलमलाई तीव्रता दिइएको छ । निर्वाचन आयोगले सदर मत बढाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ । सुर्खेतमा पनि कार्तिक १८ गतेदेखि वडास्तरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सुर्खेतका नौ स्थानीय तहका ९९ वटै वडामा मतदाता शिक्षाको अभियान चलिरहेको हो । कार्यक्रम अन्तर्गत मतदातालाई मतदान गर्ने सहि तरिकाबारे सिकाउने गरिएको छ । मतदाता शिक्षा महिला स्वास्थ्य स्वयम्सेविकामार्फत सञ्चालन गरिएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जनाए । ‘महिला स्वास्थ्य स्वयम्सेविकाहरूले घरदैलोमा पुगेर मतदातालाई मतदाता शिक्षा दिइरहनु भएको छ,’ उनले भने, ‘त्यसका लागि प्रत्येक वडामा एक/एक जना स्वास्थ्य स्वयम्सेविका खटिनु भएको छ ।’ मतदाता शिक्षासम्बन्धी सामग्री मतदाताको घरदैलोमै पु¥याएर मतदाता शिक्षा प्रदान गरिएको उनको भनाइ छ ।

मतदातालाई मतदानमा अधिक सहभागिता र मतदान गर्ने सहि तरिका तथा मतदानको महŒवको बारेमा समेत सिकाइने गरिएको छ । घरदैलो र टोलटोलमा पुगेर नमुना मतदानसमेत गर्ने गरिएको छ । मतदाता शिक्षा कार्यक्रम कार्तिक ३० गतेसम्म सञ्चालन गरिनेछ । निर्वाचन आयोगका अनुसार विभिन्न सञ्चारमाध्यमबाट पनि मतदाता शिक्षासम्बन्धी सामग्री प्रकाशन प्रसारण तथा मतदान गर्ने तरिकाबारे कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । मतदाताहरूमा बढ्दो सचेतनाका कारण पछिल्ला निर्वाचनहरूमा बदर मतको दर घटेको छ । मतदाता शिक्षा राजनीतिक दल र उम्मेदवारहरूको भने बेवास्तामा परेको छ । राजनीतिक पार्टी र उम्मेदवारले मतदाता शिक्षामा भन्दा मत माग्नमै जोड दिने गरेका छन् । अझै पनि थुप्रै मतदातालाई बदर नहुने गरी कसरी भोट हाल्ने भन्ने अन्योल देखिने गरेको छ । निर्वाचन आयोगले केही दिन सञ्चालन गर्ने मतदाता शिक्षा पनि अपेक्षित रूपमा प्रभावकारी हुन नसकेको सरोकारवालाले बताएका छन् । गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचमा सुर्खेतमा झन्डै ४ प्रतिशत मत बदर भएको थियो ।

प्रकाशित मितिः   २३ कार्तिक २०७९, बुधबार ०५:०१