स्वास्थ्य बिमामा बढ्दो आकर्षण

कर्णालीका तीन लाख ३६ हजार ९० जना बिमामा आबद्ध

सुर्खेत: कर्णाली प्रदेशका ८८ हजार नौ सय ६३ घरधुरी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् । कार्यक्रम लागू भएको झन्डै पाँच वर्षमा कूल दुई लाख ८१ हजार ६ सय ६२ मध्ये ३२ प्रतिशत घरधुरीमा स्वास्थ्य बिमाको पहुँच पुगेको हो । कर्णाली प्रदेशमा २०७४ देखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको थियो । सुर्खेत, जुम्ला, जाजरकोट र सल्यानबाट थालिएको कार्यक्रम हाल प्रदेशका १० वटै जिल्ला र ७९ वटै पालिकामा विस्तार भएको छ । प्रदेशको १५ लाख ७० हजार चार सय १८ जनसंख्यामध्ये तीन लाख ३६ हजार ९० जना स्वास्थ्य बिमामा जोडिएका छन् । स्वास्थ्य बिमा बोर्ड शाखा कार्यालय कर्णाली प्रदेशको तथ्याङ्कअनुसार गएको असार मसान्तसम्म प्रदेशभर २१ प्रतिशत जनसंख्या स्वास्थ्य बिमाको पहुँचमा रहेको छ ।

स्वास्थ्य बिमा गर्दा विशेषज्ञ उपचार सेवा पाइने भएपछि बिमितहरूको संख्या पनि बढ्दै गएको छ । यसले गर्दा कर्णाली प्रदेशमा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच वृद्धिमा मद्दत पुगेको छ । स्वास्थ्य बिमा बोर्ड सुर्खेतका संयोजक आरती चालिसेले बिमाको मुख्य उद्देश्य बिमितलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको जनाइन् । ‘स्वास्थ्य बिमा गर्नेलाई विशेषज्ञ सेवा दिने उद्देश्य हो,’ उनले भनिन्, ‘त्यस्ता सेवा प्रदायक निकायको संख्या भने कर्णालीमा कम नै छ ।’ अहिले प्रदेशभर ३३ वटा स्वास्थ्य संस्थाहरूमार्फत बिमितले उपचार सेवा लिइरहेका छन् । स्वास्थ्य बिमा कार्यक्रम केहीबाहेक अधिकांश सरकारी स्वास्थ्य संस्थाहरूबाटै सञ्चालनमा छ । विगतमा कतिपय निजी संस्थाहरू पनि सेवा प्रदायकका रूपमा रहेकोमा पछिल्लो समय सरकारी स्वास्थ्य संस्थालाई मात्रै छनोट गर्ने गरिएको छ । भौगोलिक विकटता, विशेषज्ञ जनशक्तिलगायत स्वास्थ्य पूर्वाधारको समस्याले सेवा प्रदायकहरूको संख्या बढाउन चुनौती रहेको बोर्डले जनाएको छ । थुप्रै चुनौतीका बीच पनि कर्णालीमा बिमा कार्यक्रम प्रभावकारी भइरहेको बोर्डको दाबी छ ।

जुम्लामा ५७ प्रतिशको बिमा

प्रदेशभर सबैभन्दा बढी स्वास्थ्य बिमाको पहुँचमा जुम्ला छ । त्यहाँ ५७ प्रतिशत जनसंख्याको स्वास्थ्य बिमा गरिएको छ । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकाले विशेषज्ञ सेवा सहजै पाइने हुँदा बिमा गर्नेहरू धेरै भएका हुन् । प्रदेशमा स्वास्थ्य बिमाको सबैभन्दा कम पहुँचमा सल्यान छ । उक्त जिल्लामा तीन प्रतिशत हाराहारीले मात्रै बिमा गरेका छन् । सल्यानमा कार्यक्रम नै ढिला सुरु भएकाले कभरेज दर पनि थोरै रहेको बोर्डका सुर्खेत संयोजक चालिसेले बताइन् । उनका अनुसार त्यहाँ दुई वर्षअघि मात्रै कार्यक्रम सुरु भएको हो । त्यस्तै, सुर्खेतमा २० प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् । सुर्खेतका नौ स्थानीय तहमा ६ वटा स्वास्थ्य सेवा प्रदायक निकायले बिमितलाई उपचार सेवा दिँदै आएका छन् । रूकुमपश्चिममा सात, जाजरकोटमा पाँच, दैलेखमा चार, सल्यानमा तीन, जुम्ला, कालीकोट र मुगुमा दुई÷दुई तथा हुम्ला र डोल्पामा एक÷एक वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरू रहेको बोर्डले जनाएको छ । सबै स्थानीय तहमा कार्यक्रम पुगे पनि सेवा प्रदायक स्वास्थ्य संस्थाको अभावका कारणले अझै धेरै संख्या बिमा कार्यक्रममा समेटिएका छैनन् । अहिलेलाई हरेक जिल्लामा ५० प्रतिशत र केही वर्षभित्र सतप्रतिशत घरधुरीमा बिमा कार्यक्रम पु¥याउने बोर्डको लक्ष्य छ ।

अति विपन्न परिवारलाई निःशुल्क

सबै नागरिकको पहुँचमा कार्यक्रम विस्तार गर्न बोर्डले कर्णालीका सात जिल्लामा अति विपन्न परिवारको निःशुल्क बिमा गर्दै आएको छ । सुर्खेत, दैलेख र सल्यानबाहेकका जिल्लाहरूमा स्थानीय तहको सिफारिसका आधारमा सरकारले नै रकम तिरेर ती अति विपन्न लक्षित परिवारको बिमा गर्ने गरेको हो । त्यसका साथै ७० वर्ष पूरा गरेका ज्येष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका व्यक्तिका एकाघरका सबै परिवार, एचआईभी संक्रमित र कुष्ठरोगीहरूको निःशुल्क स्वास्थ्य बिमा गर्ने गरिएको छ । उनीहरूले एक लाख रूपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउँछन् । यस्तै, स्वास्थ्य स्वयम्सेविका परिवारलाई ५० प्रतिशत कम रकममा बिमा गरिँदै आएको छ । स्वास्थ्य बिमा घरधुरीमा आधारित कार्यक्रम हो । पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय रूपैयाँमा स्वास्थ्य बिमा गर्न पाउने व्यवस्था छ । उनीहरूले वार्षिक एक लाख रकम बराबरको स्वास्थ्य उपचारको सुविधा पाउँछन् । ६ जनाभन्दा बढीको परिवार भएको हकमा प्रति व्यक्ति सात सय रूपैयाँ थप बिमा शुल्क तिर्नुपर्छ । सोही आधारमा बिमित परिवारले पाउने उपचार खर्चको सुविधा पनि बढ्दै जाने बोर्डले जनाएको छ ।

प्रचारप्रसारको अभाव

सुगम तथा स्वास्थ्य संस्थाको सहज व्यवस्था रहेका क्षेत्रमा बिमाप्रति आकर्षण देखिएका बेला कतिपय जिल्लामा भने यसबारे जानकारी नै नपाएका नागरिकहरू पनि छन् । हुुम्लाको अदानचुली गाउँपालिका–३ का रगवीर दमाइ स्वास्थ्य बिमाको नामसमेत नसुनेको बताउँछन् । रगवीरको गाउँमा स्वास्थ्य चौकी छैन । पैदल तीन दिनमा मुस्किलले सदरमुकाम पुगिन्छ । अदानचुलीका बासिन्दालाई आफ्नो जिल्ला सदरमुकाम जानुभन्दा बाजुुराको कोल्टीमा स्वास्थ्य सेवा लिन जान सहज हुुन्छ । रगवीर भन्छन्, ‘सरकारले दिइरहेका धेरै सेवा त हामीले थाहासम्म पाउँदैनौँ ।’ अति विपन्न परिवारकै भएपनि उनीजस्तै थुप्रै दुर्गमका लक्षित वर्ग बिमा कार्यक्रममा जोडिन सकेका छैनन् । हुुम्लाकै सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुुख नरबहादुर भण्डारीले यो कार्यक्रम जिल्लाभर नै प्रभावकारी नभइरहेको जनाए । उनका अनुसार भौगोलिक विकटताले गर्दा नागरिकले सेवा लिन झन्झटिलो छ । ‘केही परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन्,’ उनले भने, ‘स्वास्थ्य संस्थाको अभावमा उपचार गर्न टाढा पुग्नुपर्ने बाध्यताले सेवा बिमाले दिने सुविधा लिनै सकस छ ।’ बोर्डका सुर्खेत संयोजक चालिसेले बिमाबारे प्रचारप्रसार भइरहे पनि पर्याप्त भने हुन नसकेको जनाइन् । उनका अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाको पहुँच सहज नहुँदा बिमितको नवीकरण दर पनि अपेक्षित देखिएको छैन । आगामी दिनमा सबैको सहज पहुँचका लागि कार्यक्रमलाई थप व्यवस्थित गर्दै लैजाने योजनामा बोर्ड रहेको उनको भनाइ छ ।

प्रकाशित मितिः   २२ कार्तिक २०७९, मंगलवार ०५:०५