कालिकोटमा काष्ठमण्डप एयरको जहाज दुर्घटनाग्रस्त

सुर्खेतः पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाज दुर्घटना भएको तीन दिन नबित्दै अर्को जहाज दुर्घटनामा परेको छ । नेपालगन्जबाट जुम्लाका लागि उडेको एक यात्रुवाहक जहाज कालिकोटको चिलखायामा शुक्रबार दिउँसो दुर्घटनाग्रस्त भएको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिआईजी माधव नेपालले जानकारी दिए  । ९ एन एजेबी कलसाइन भएको काष्ठमण्डप एयरको यो जहाज नेपालगन्जबाट नौजना यात्रु लिएर मध्यान्ह सबा १२ बजे जुम्लाका लागि उडेको थियो । 
जुम्ला जाने क्रममा प्राविधिक समस्या आएपछि चिलखायाको गहुँबारीमा आकष्मिक अवतरण गर्ने क्रममा यो जहाज दुर्घटनामा परेको हो । कालिकोट सदरमुकामबाट चार घन्टा पैदल दुरीको चिलखायामा आकष्मिक अवतरणका क्रममा भएको दुर्घटनामा दुबैजना पाइलोटको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शीलाई उधृत गर्दै प्रहरीले जनाएको छ । 
स्थानीय शिवालय उच्च माविका लेखापाल अजबहादुर खत्रीका अनुसार आकष्मिक अवतरणका क्रममा बारीको भित्तामा जहाजको अगाडिको भाग ठोकिएर क्षतिग्रस्त भएको छ । ‘दुर्घटना भएको केही बेरमा एक पाइलोटको ज्यान गयो भने अर्काको त्यसपछि ज्यान गउएको हो’, खत्रीले भने, ‘दुर्घटनामा घाइते अन्य यात्रुको हामीले प्राथमिक उपचार गरिरहेका छौं । सुरक्षाकर्मी अझै आइसकेका छैनन् ।’चालक दलका अर्का सदस्य पनि गम्भीर घाइते भएका छन् । यो जहाजलाई क्याप्टेन दिनेश न्यौपानेसहित दुई चालक दलका सदस्यले उडाएका थिए । 
दुर्घटनापछि कालिकोट सदरमकामबाट प्रमुख जिल्ला अधिकारीसहितको टोली उद्धारका लागि हिँडेको छ । काठमाडौंबाट पनि हेलिकोप्टर गइसकेको छ । दुर्घटनामा घाइते भएकाहरुलाई स्थानीयबासीले जहाजबाट निकालेर घटनास्थलमै प्राथमिक उपचार गरिरहेका छन् ।
प्रकाशित मितिः   १४ फाल्गुन २०७२, शुक्रबार १०:०९