ऊर्जामा लगानी

नेपाल स्रोत र साधानका दृष्टिले सम्पन्न मुलुक हो । प्राकृतिक स्रोतले भरिपूर्ण छ । तर यस्ता साधन र स्रोतको सदुपयोग भने हुन सकिरहेको छैन । जसले गर्दा नेपाल अविकसित मुलुकको लहरबाट माथि उठ्न सकेको छैन । जनता गरिबीको रेखामुनी बाँच्न बाध्य छन् । अनेक किसिमका समस्या र अभाव भोग्न परिरहेको 
छ । व्यक्ति र समाजको आवश्यकता अनि राष्ट्रको सामूहिक विकासका लागि ती स्रोतहरूलाई ऊर्जामा बदल्न मात्रै सक्ने हो भने मुलुकको विकास असम्भव छैन । जनताको जीविको पार्जनमा सुधार हुनुका साथै मुलुक आर्थिक सम्पन्नतातर्फ जानसक्ने सम्भावना प्रवल छ । तर त्यसका लागि स्रोतलाई ऊर्जामा बदल्न आवश्यक नीति, वैज्ञानिक सिर्जना र सामूहिक प्रयासको सर्वथा अभाव देखिन्छ । सरकारले यता आएर आफ्नो एक दसकको ऊर्जा नीतिमा मुलुकलाई अँध्यारोबाट मुक्ति दिने प्रतिबद्धता व्यक्त गरेको छ तर ऊर्जामा आत्मनिर्भर बन्ने उसको पटक–पटकको घोषणा पूरा नहुँदा सरकार तथा विगतका सरकार सञ्चालन गर्दै आएका राजनीतिक दलहरूले विश्वसनीयता गुमाउँदै आएका छन् । त्यो विश्वसनियता हासिल गर्नका लागि प्रतिबद्धता जनाइएका या विकास तथा जनताका जीवनस्तर उकास्ने नीतिको कार्यान्वयन आवश्यक हुन्छ । त्यस अर्थमा ऊर्जा क्षेत्रको विकासले महŒव राख्छ ।
करिब ४२ हजार मेगावाट जलविद्युत क्षमता भएता पनि अहिले मुलुक आधा दिन अँध्यारोमा बस्नुपर्ने वाध्यता छ । आगामी १० वर्षमा दुई हजार भन्दा बढी मेगावाट जलविद्युत उत्पादनका नीति बने पनि जनताको जीवनस्तर र आवश्यकताका हिसाबले त्यो पर्याप्त हुँदैन । मुलुकको विकास, भौतिक पूर्वाधार निर्माणसँगै औद्योगीकरणको लागि ऊर्जा आवश्यक हुने भएकाले भारतको आवश्यक अर्थात् भारतलाई एउटा बजारका रूपमा मात्र हेरेर नेपालले विद्युत उत्पादन गर्ने सोच र त्यो सोचबाट निर्देशित मान्यता र परम्परालाई परिवर्तन गर्नैपर्छ । आफ्नो आवश्यकता पछि र व्यापारिक हिसाबले उपयुक्त मूल्य पाएको अवस्थामा पक्कै पनि बिजुली र पानी बेचिनुपर्छ । त्यसैले सान्दर्भिक नीतिको समीक्षा आवश्यक छ । कृषि र वातावरणको सम्बद्र्धन तथा विस्तार र विकासबाट मुलुकको अर्थतन्त्रसँगै आर्थिक सम्पन्नता तथा किसानको जीवनस्तर उकास्नका लागि पनि ऊर्जामा लगानी जरुरी छ । ७० प्रतिशत भन्दा बढी खेतीमा निर्भर रहने जनसंख्याको जीवनस्तर उकास्न कृषि र हरित अभियानले प्राथमिकता पाउनुपर्छ र त्योसँगै त्यो पेसाले सम्मान पनि हासिल गर्न सक्नुपर्छ । त्यस्तै कृषि पैदावार बजारसँग जोडिएका हरित क्रान्तिको लाभ सिधै किसानले पाउने छन्, विचौलियाको साटो । कृषि पैदावरको सुनिश्चितताका लागि या सिँचाइका लागि ऊर्जा उत्पादन त्यति नै आवश्यक छ ।
नेपालमा सौर्य ऊर्जा विकासमा लगानी गर्न चाहेनेहरूलाई प्रोत्साहित गरिनुपर्दछ । यसमा, लगानी, नाफा र सम्भावनाको पर्याप्त अध्ययन पनि जरुरी छ । जलविद्युत विकासको लामो इतिहासमा नेपाल पटक–पटक ठगिएको छ विदेशीबाट र अर्को राष्ट्रको नीतिविहीनता र संस्थागत आलस्यबाट । तर ऊर्जामा आत्मनिर्भर बन्ने प्रयासमा र पर्याप्त सम्भाव्यता स्थापित भइसकेको सौर्य ऊर्जा उत्पादनलाई बेवास्ता गर्न मिल्दैन । भारतबाट फर्केपछि चीन जाने तयारीमा रहेका प्रधानमन्त्री केपी ओलीले सौर्य ऊर्जा उत्पादनको चरणबद्ध विकासमा चीनसँग सहमति गरी समृद्धिको शुभारम्भ गर्नु आवश्यक छ । त्यो सहज पनि हुनेछ, किनकी चीनसँगको कुटनीतिमा राजनीति भन्दा विकासले प्राथमिकता पाएको छ । सरकारले आन्तरिक लगानीलाई प्रबद्र्धन गर्नुका साथै अन्तर्राष्ट्रिय लगानीलाई पनि आकर्षित गर्ने योजना ल्याउन जरुरी छ । तर यसका लागि सबैभन्दा पहिला सरकारको तत्परता र सँगसँगै दीर्घकालीन योजनाको आवश्यकता पर्दछ ।
प्रकाशित मितिः   १४ फाल्गुन २०७२, शुक्रबार १०:५७