सुर्खेतमा ग्यासको कृत्रिम अभाव

साझा बिसौनी संवाददाता
सुर्खेत, १२ फागुन । 
जिल्लामा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको पाइएको छ । ग्यास बिक्रेताहरूले कृत्रिम अभाव सिर्जना गरेपछि उपभोक्ताहरूले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । नाकाबन्दी खुलिसक्दा पनि जिल्लामा खाना पकाउने ग्यासको भने अभाव कायमै रहेको छ । 
यहाँका उपभोक्ताले ग्यास नपाएर सास्ती भोगिरहँदा सुर्खेतका लागि आएको ग्यास अन्य जिल्लाहरूमा पुग्ने गरेको उपभोक्ताहरू बताउँछन् । जसले गर्दा जिल्लामा कृत्रिम अभाव सिर्जना भएको छ । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयक बिक्रेताहरूको बेइमानीका कारण ग्यासको अभाव सिर्जना भएको बताउँछन् । ‘एकातर्फ पर्याप्त मात्रामा ग्यास आपूर्ति भएको छैन’ बयकले भने, ‘अर्कोतर्फ बिक्रेताहरूले बेइमानी गरेर कृत्रिम अभाव सिर्जना गरिरहेका छन् ।’ उनले सुर्खेतमा आएको ग्यास अन्य जिल्लाहरूसम्म पुग्ने गरेको तर सुर्खेतकै उपभोक्ताहरूले नपाएको बताए । सुर्खेतबाट दैलेख, जाजरकोट, कालिकोटदेखि काठमाडौंसम्म पनि ग्यास पुग्ने गरेको बयकले जनाए । ‘बिक्रेताहरूले स्थानीय उपभोक्ताहरूलाई प्राथमिकता दिनुपर्ने हो तर पैसाको लोभमा बाह्य जिल्लाहरूमा समेत पठाउने गरेको पाइयो’ उनले साझा बिसौनीसँग भने । 
नयाँ संविधान जारी भएपछि गरिएको नाकाबन्दीदेखि नै ग्यासको चरम अभाव भोगिरहेका यहाँका उपभोक्ताहरूले नाकाबन्दी खुलिसक्दा पनि उही अभाव झेलिरहेका छन् । पहुँचवालाहरूले चाहेजति ग्यास पाए पनि सर्वसाधारणहरू भने मर्कामा परिरहेका छन् । एकातर्फ पर्याप्त मात्रामा ग्यास आपूर्ति हुन सकिरहेको छैन भने अर्कोतर्फ वितरण प्रणालीमा बिक्रेताहरूको मनपरी चल्दा सर्वसाधारणले ग्यास पाउन सकेका छैनन् । डिजेल र पेट्रोल वितरणमा स्थानीय प्रशासनले आफै वितरण प्रक्रियालाई व्यवस्थित गरे पनि ग्यासको वितरणमा ध्यान नदिएकाले बिक्रेताहरूको मनपरी चलेको उपभोक्ताहरूको गुनासो छ । 
प्रशासनले पेट्रोल वितरणका लागि प्रशासनको सिफारिस तथा लट नम्बर अनुसार विभिन्न पेट्रोल पम्पहरूबाट वितरणको व्यवस्था मिलाएको थियो । तर ग्यासमा भने प्रशासनले कुनै चासो नै दिएको छैन । जसले गर्दा बिक्रेताहरूसँग पहुँच हुनेहरूले सहज रूपमा ग्यास पाइरहेका छन् तर सर्वसाधारणहरूले पटक–पटक लाइन लाग्दा पनि पाउन सकेका छैनन् । ग्यास वितरण प्रणालीलाई व्यवस्थित गर्न प्रशासनले कदम चाल्नुपर्ने उपभोक्ताहरूको माग छ । सबै उपभोक्ताहरूले समान रूपमा पाउने गरी प्रशासनले नै मापदण्ड बनाएर व्यवस्थित गर्नुपर्ने उनीहरू बताउँछन् । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी हितप्रसाद पौडेल पनि सबैलाई समान हुने खालको मापदण्ड आवश्यक रहेको बताउँछन् । ‘पेट्रोल वितरणमा जस्तै कुनै मापदण्ड बनाउने हो भने सबै उपभोक्ताले सहज रूपमा ग्यास पाउन सक्दछन्’ उनले भने ।
ग्यास डिपोहरूको अनुगमन
यसैबीच जिल्ला संयुक्त बजार अनुगमन समितिले बुधवार वीरेन्द्रनगरका ग्यास डिपोहरूको अनुगमन गरेको छ । पहुँचवालाहरूले चाहिए जति ग्यास पाए पनि सर्वसाधाणहरूले नपाएको समाचार यस दैनिकमा प्रकाशित भएपछि अनुगमन समितिले बुधवार बिहान वीरेन्द्रनगरका चार वटा ग्यास डिपोहरूमा अनुगमन गरेको हो । यस दैनिकको बुधवारको अंकमा ‘ग्यास अभाव कायमै ः पहुँचवालाले पाउँछन्, सर्वसाधारण रित्तै’ शीर्षकको समाचार प्रकाशित भएको थियो । 
भेरी, राप्ती, मनकामना र रेडियन्ट ग्यासका डिपोहरूको स्थलगत अनुगमन गरिएको अनुगमन समितिका संयोजक एवम् सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी हितप्रसाद पौडेलले जानकारी दिए । ‘नाकाबन्दी खुलिसक्दा पनि ग्यास नपाइएको गुनासो हामीसम्म पनि आइपुगेको थियो’ पौडेलले भने, ‘पत्रिकामा बुधवार समाचार आएपछि बुधवार नै हामीले वीरेन्द्रनगरमा रहेका चार वटै उद्योगका डिपोहरूमा अनुगमन गरेका हौं ।’ 
अनुगमनका क्रममा समितिले खाना पकाउने ग्यास वितरण गर्नु पूर्व उपभोक्ताहरूलाई सूचना दिन ग्यास बिक्रेताहरूलाई निर्देशन दिएको छ । ग्यास आएको सूचना नपाउँदा सबै उपभोक्ताले समान रूपमा ग्यास प्राप्त गर्न नपाएको ठहर गर्दै समितिले अबदेखि सूचना गरेर मात्रै ग्यास वितरण गर्न निर्देशन दिएको हो । ‘ग्यास आएको सूचना नपाउँदा थुप्रै उपभोक्ताहरू लामो समयदेखि समस्यामा परेको समेत पाइयो’ पौडेलले भने, ‘त्यसैले ग्यास आएको सूचना उपभोक्ताहरूमा सम्प्रेषण गरी समान रूपमा वितरण गर्न निर्देशन दिएका छौं ।’ साथै डिपोहरूमा ग्यास आएपछि आयल निगम डिपो कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई पनि अनिवार्य रूपमा सूचना गर्न निर्देशन गरिएको समितिका संयोजक पौडेलले बताए । त्यसैगरी उपभोक्ताहरूको विवरण राख्न पनि ग्यास बिक्रेताहरूलाई समितिले सुझाव दिएको छ । जिल्लामा नियमित ग्यासको आपूर्ति भइरहे पनि त्यसको वितरण प्रक्रिया नमिल्दा अभाव सिर्जना भएको पौडेल बताउँछन् । ‘कसैले लामो समयदेखि एउटा सिलिण्डर समेत पाएका छैनन्, कतिपयले एउटाभन्दा बढी पाइरहेका छन्’ उनी भन्छन्, ‘वितरण प्रणालीलाई व्यवस्थित गर्न सकियो भने ग्यासको अभाव सिर्जना हुँदैन ।’
प्रकाशित मितिः   १३ फाल्गुन २०७२, बिहीबार १०:२७