विकृति रोक्न घरदैलो

सुर्खेत, २९ चैत ।
वीरेन्द्ररनगर–२ धारापानीमा गठन भएको टोल सुरक्षा समितिले सामाजिक विकृति रोक्न घरदैलो अभियानको सुरुवात गरेको छ । समितिले सोमवार आफ्नो टोलमा घरदैलो गरेको हो । बाङ्गेसिमल प्रहरीचौकी प्रमुख कृष्णप्रसाद पौडेल, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, आमा समूह, टोल विकास समिति लगायतको सहभागितामा उक्त अभियान चलाइएको हो । अभियानका क्रममा उक्त सुरक्षा समितिले स्थानीयलाई घरमा रक्सी नबनाउन, मदिरापान नगर्न, जुवातास तथा लागू औषध प्रयोग नगर्न सचेत गराएकोे त्रिपुरेश्वर युवा क्लबका अध्यक्ष दिनेश खत्रीले जानकारी दिए । साथै अभियानकै क्रममा मदिरा सेवन गरी घरमा झै–झगडा गर्ने वीरेन्द्रनगर–२ धारापनीका एक जनालाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।