सबै जिल्लामा पुग्यो निर्वाचन सामग्री

सुर्खेत: कर्णालीका हिमाली जिल्लामा मंसिर ४ गते हुने निर्वाचनका लागि सामग्री ढुवानी भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हुम्ला, डोल्पा, जुम्ला र मुगुमा चारै किसिमका मतपत्र र निर्वाचन सामग्री ढुनावी गरिएको हो । सडक यातायातको सहज पहुँच नभएका यी चार जिल्लामा नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेतदेखि ती सामग्री र मतपत्र ढुवानी भएका हुन् । कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले चारवटै हिमाली जिल्लामा मतपत्र र निर्वाचन सामग्री पुगिसकेको जानकारी दिए । उनका अनुसार शुक्रवार र शनिवार डोल्पा तथा हुम्लामा सेनाको हेलिकोप्टरबाट मतपत्र र निर्वाचन सामग्री पुगेको हो । यी दुई जिल्लामा मतपत्र पुगेपछि अब सहज भएको उनले बताए । यसअघि जुम्ला र मुगु जिल्लाका लागि पनि हेलिकोप्टरबाट मतपत्र र निर्वाचन सामग्री ढुवानी भइसकेको छ ।

प्रदेशका अन्य ६ वटा जिल्ला दैलेख, कालीकोट, जाजरकोट, सल्यान, रूकुमश्चिम र सुर्खेतमा पैदल मार्ग तथा गाडीबाट सामग्रीहरू पठाइएको छ । निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र र ५८ प्रकारका सामग्री प्रदेशका सबै जिल्लामा पुगिसकेकाले निर्वाचनको तयारी करिब करिब पूरा भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । यसैबीच हुम्लाका निमित्त जिल्ला निर्वाचन अधिकृत श्यामबहादुर रानाले निर्वाचनका लागि आवश्यक पर्ने एक सय ५० पेटी मतपत्र र ४३ प्रकारमा निर्वाचन प्रयोजनका सामग्री जिल्लामा आइपुगेको जानकारी दिए । उजनले सबै प्रकारका मतपत्र मुख्य निर्वाचन अधिकृत र निर्वाचन सामग्री निर्वाचन कार्यालयमा राख्ने व्यवस्था मिलाइएको बताए । यसअघि नेपालगञ्जबाट हवाई जहाजबाट मतदान शिक्षासम्बन्धी सामग्री जिल्लामा आएको र हाल मतदाता शिक्षा कार्यक्रम ४४ वटै वडामा लागू भइसकेको उनको भनाइ छ ।

प्रकाशित मितिः   २१ कार्तिक २०७९, सोमबार ०७:४३