नयाँ मतदाता उत्साहित

सुर्खेत: आगामी मंसिर ४ मा हुने संसदीय निर्वाचनमा थुप्रै नयाँ पुस्ताले पहिलो पटक मतदान गर्दैछन् । मत खसाल्ने तरखरमा रहेका उनीहरू निकै उत्साहित छन् । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रतिनिधि चुन्ने अवसर पाएसँगै नयाँ मतदाता राजनीतिक दलभन्दा उम्मेदवारका राम्रा एजेन्डाको खोजिमा छन् । प्रतिबद्धता र एजेन्डा हेरेर मात्रै मत दिने मनसाय उनीहरूको छ । नयाँ मतदातामध्येका एक हुन्, वीरेन्द्रनगर–१४ का १९ वर्षीय यामलाल पौडेल । यसपालिको चुनावमा उनले पहिलो भोट खसाल्दै छन् । चुनाव नजिकिए पनि भोट कसलाई दिने भन्नेबारे उनले निधो गरिसकेका छैनन् । पौडेल भन्छन्, ‘केही दलका घोषणा–पत्र र कतिपय उम्मेदवारका चुनावी एजेन्डा अध्ययन गरिरहेको छु, अहिलेसम्म कसलाई भोट दिने भन्ने टुँगोमा पुगिसकेको छैन ।’ उनले चुनावी प्रतिबद्धताहरू लगभग सबैजसो उम्मेदवारका उस्तै लागेको बताए । उम्मेदवारले उठाएका एजेन्डा मन जित्ने खालका अझै नभेटेको उनले प्रतिबद्धता–पत्रहरूमा पनि विश्वास गर्न सकिने आधार देखेका छैनन् ।

उम्मेदवारहरूले पहिलो पटक भोट खसाल्ने मतदातालाई पनि लक्षित गरेर केही चुनावी नारा ल्याएका छन् । तर, सबैजसो उम्मेदवारका मुख्य एजेन्डा सडक पूर्वाधार, खानेपानी र विद्युत सेवाजस्ता सवालमा केन्द्रित देखिन्छन् । नेकपा ‐एमाले) का प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेलले आफ्नो चुनावी प्रतिबद्धता–पत्रमा नयाँ मतदातालाई आकर्षित गर्न केही बुँदाहरू समेटेका छन् । सुर्खेत क्षेत्र नं. २ ‘क’ बाट उम्मेदवार रहेका उनले वीरेन्द्रनगरमा प्रविधियुक्त पुस्तकालय स्थापना गर्ने, मुख्य सार्वजनिक स्थानहरूलाई ‘फ्रि वाइफाइ जोन’ बनाइने र मध्यपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा ‘साइन्स पार्क’ निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । आफूले जनप्रतिनिधिको जिम्मेवारी प्राप्त गरे यीसहित युवा पुस्ताका शैक्षिक मुद्दा, रोजगारीका सवाललगायतमा पहल गरिने उनको दाबी छ । अधिकांश उस्तै एजेन्डा र उही प्रकृतिका प्रतिबद्धता लिएर मतदाताको घरदैलोमा गइरहेका उम्मेदवारलाई पौडेलजस्ता नयाँ मतदाताको मत तान्न भने मुस्किल छ ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले शैक्षिक गुणस्तर सुधारदेखि रोजगारीका अवसर सिर्जना गर्नेसम्मका प्रतिबद्धता जनाएका छन् । एजेन्डाले नयाँ मतदाता आकर्षित गर्न खोजेपनि मतदाताले भने सहजै विश्वास गरिरहेका छैनन् । त्यस्ता एजेन्डा यसअघि पनि चुनावी नारा मात्रै बनेको देखेकाले प्रतिबद्धता–पत्रकै भरमा आश्वस्त हुन नसकिएको नयाँ मतदाता बताउँछन् । वीरेन्द्रनगर–६ का २१ वर्षीय लोकेन्द्रनाथ योगीले पनि यस पटकको निर्वाचनमा पहिलो पटक भोट दिँदै छन् । उनी राजधानी सहर वीरेन्द्रनगरकोे आधारभूत पूर्वाधार विकास गर्ने एजेन्डा उठाउनेलाई मत दिने तयारीमा छन् । ‘यस क्षेत्रका उम्मेदवार सबैले वीरेन्द्रनगरको पूर्वाधार विकासमा जोड दिएको देखिन्छ,’ योगी भन्छन्, ‘तर, सम्भव देखिएका र विश्वास गर्न सकिने प्रतिबद्धता जनाउनेलाई मेरो भोट जानेछ ।’ घोषणा–पत्र र प्रतिबद्धता हेर्दा लगभग सबैका मिल्दोजुल्दो देखिएको उनले बताए । पहिलो पटक मत दिन लागेको भएपनि योगीले २०७४ सालदेखिको निर्वाचनमा उठेका उम्मेदवारका प्रतिबद्धता–पत्र पनि हेरिरहेका छन् । ‘अहिले उठेका कतिपय नेताहरू त्यतिबेला पनि उम्मेदवार थिए, म उनीहरूले जितेपछि के गरे भनेर मूल्याङ्कन गरिरहेको छु,’ उनले भने, ‘सकभर पहिलो मत खेर नजाओस् भन्नेमा मेरो जोड हो ।’ सुर्खेत क्षेत्र नं. २ ‘क’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार कालीप्रसाद शाक्यले पछिल्लो समय बढ्दो प्रयोग भइरहेको सञ्चार प्रविधिलाई समयानुकूल बनाउन संरचनाको विकास गर्ने संकल्प गरेका छन् । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार बनेका उनले चुनावी प्रतिबद्धता–पत्रमा नयाँ पुस्ता र खासगरी युवाहरूका सवाललाई प्राथमिकता दिने बताउँदै आएका छन् । शाक्यले चुनावी प्रतिबद्धता–पत्र भने सार्वजनिक गरिसकेका छैनन् । नयाँ मतदाता ठूला सपना बाँड्नेभन्दा आधारभूत पूर्वाधारको विकास तथा शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता सवाल उठाउने उम्मेदवारलाई मत दिने मनसायमा छन् । प्रदेश राजधानीका बासिन्दानै आधारभूत आवश्यकताबाट वञ्चित भइरहेको अवस्थामा अबको नेतृत्व चुन्दा निकै ख्याल गर्नुपर्ने मतदाताहरूको बुझाइ छ ।

दैलेखको महाबु गाउँपालिका–१ खरिगैराका १९ वर्षीय अमर पौडेल पहिलो भोट सदुपयोग होस् भन्नेमा छन् । त्यसका लागि उपयुक्त उम्मेदवारको खोजि गरिरहेको उनी बताउँछन् । ‘यसअघिका प्रतिनिधिले गाउँठाउँमा खासै विकास गरेको देखिएन,’ उनले भने, ‘त्यसैपनि मेरो पहिलो प्राथमिकतामा नयाँ अनुहार पर्नेछन् । तर, उनीहरूका पनि एजेन्डा नहेरि भोट दिइहाल्ने पक्षमा छैन ।’ महाबुमा बेरोजगारी समस्या विकराल रहेको भन्दै उनले युवा पुस्ताका मुद्दा सम्बोधन गर्न युवाहरू नै प्रतिनिधि छानिनुपर्ने जनाए । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाका २२ वर्षीय प्रशासन सञ्ज्याल भोट हाल्न पाइने भएपछि उत्साहित छन् । यसैपालि मतदाता बनेका उनलाई आफ्नो गाउँको विकासका लागि प्रतिबद्धता जनाउने उम्मेदवारलाई भोट दिने मन छ । ‘मेरो गाउँ भौगोलिक रूपमा निकै विकट छ,’ उनले भने, ‘हामीलाई सडक पूर्वाधार, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरूको विकास गर्ने प्रतिनिधि चाहिएको छ ।’ युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने योजनासहितका प्रतिबद्धता भने कोही उम्मेदवारका नआएको सञ्ज्यालले बताए । रुकुम–पश्चिमस्थित त्रिवेणी गाउँपालिकाकी २० वर्षीया विन्दु ओली पनि मंसिर ४ मा प्रतिनिधि चुन्न हतारिएकी छन् । गाउँठाउँको विकाससँगै रोजगारीको व्यवस्था गर्ने एजेन्डा भएका उम्मेदवारलाई भोट दिने उनले जनाइन् । सिएमए पढेकी विन्दुले रोजगारीका अवसर पाएकी छैनन् । उनी भन्छिन्, ‘हामीलाई विकासका योजना र रोजगारीका अवसर सिर्जना गर्ने प्रतिनिधि चाहिएको छ ।’

यसपटक कर्णाली प्रदेशमा ६१ हजार पाँच सय नयाँ मतदाता थपिएका छन् । २०७४ को निर्वाचनमा आठ लाख ४६ हजार नौ सय ३३ मतदाता थिए । त्यो संख्या बढेर अहिले नौ लाख आठ हजार चार सय ३३ मा पुगेको छ । थपिएका अधिकांश मतदाता भर्खरै किशोर अवस्था पार गर्दै गरेका हुन् । नयाँ मतदाताको रोजाइँमा उम्मेदवार पनि नयाँ अनुहारकै पर्ने गरेका छन् । यो उम्मेर समूहका धेरै मतदाता प्रविधि र शैक्षिक गुणस्तरका एजेन्डा उठाउने उम्मेदवारलाई चुन्ने तरखरमा देखिएका छन् ।

प्रकाशित मितिः   २१ कार्तिक २०७९, सोमबार ०७:४४