इयूले कर्णालीको महिला फुटबलमा सहभागिता बढाउन सहकार्य गर्दै

सुर्खेत: नेपालस्थित युरोपेली युनियन (इयू) ले कर्णाली प्रदेशमा महिला फुटबललाई प्रोत्साहन गर्ने जनाएको छ । डेलिगेजनकी कार्यवाहक प्रमुख हिभोनेटले कर्णाली प्रदेशमा महिला फुटबललाई प्रोत्साहन गर्न तथा महिला खेलाडीको सहभागिता बढाउन इयूले लगानी गर्न गैरसरकारी संस्थामाफर्त सहकार्यको सुरुवात गरेको जनाइन्् । ‘महिलालाई फुटबलको तालिम दिने, वृत्तिविकासका लागि लगानी बढाइनेछ,’ उनले भनिन्, ‘यसले महिलाको आत्मविश्वास बढाउनुका साथै महिलालाई खेलकुदतर्फ आर्कषण बढाउने विश्वास लिएका छौँ ।’ उनले लैंङ्गिक सशक्तिकरणसम्बन्धी परियोजना सञ्चालनका लागि पनि नेपाल सरकारसँग हालै सम्झौता भएको बताइन् । नेपाल युरोपेली युनियन चलचित्र महोत्सव उद्घाटनका सिलसिलामा वीरेन्द्रनगर आएकी हिभोनेटले नगर प्रमुख मोहनमाया ढकालसँगको भेटमा नेपाल र विशेष गरी कर्णाली प्रदेशमा सञ्चालन गरेका परियोजना, भावी योजना, महिला सशक्तिकरण र समावेशीकरणलगायतका विषयमा कुराकानी गरेकी थिइन् ।

भेटवार्तामा ढकालले नगरपालिकाले महिला सशक्तिकरण र महिला स्वास्थ्य तथा सुरक्षाका क्षेत्रमा सञ्चालन गरेका क्रियाकलापबारे जानकारी दिइन् । नगरपालिकाले महिलालाई सीपमुलक तालिम, स्वास्थ्य संस्थाबाट निःशुल्क सेनेटरी प्याड वितरण, निःशुल्क गर्भजाँच, सुत्केरी सेवालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको नगर प्रमुख ढकालले जनाइन् । यसले महिलाको स्वास्थ्य र आयआर्जनमा ठूलो टेवा पुगेको उनको भनाइ थियो । इयूले महिलाको प्रतिनिधित्व र सशक्तिकरणलाई मुख्य चासो दिएकामा नगर प्रमुख ढकालले धन्यवाद व्यक्त गरिन् । भेटवार्तामा डेलिगेजनकी कार्यवाहक प्रमुख हिभोनेटले नेपाल सरकारले सुरक्षालाई कारण देखाएर महिलालाई वैदेशिक रोजगारमा जान रोक लगाएको विषयमा पनि चासो व्यक्त गरेकी थिइन् ।

प्रकाशित मितिः   २१ कार्तिक २०७९, सोमबार ०७:४३