पूर्वाधार विकासको अवसर

राष्ट्रिय खेलकुद प्रतियोगिताको आगामी संस्करण कर्णाली प्रदेशमा हुँदैछ । कर्णालीले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको अवसर पाएको छ । यसअघि ठूला खेलकुद प्रतियोगिता सञ्चालन नगरेको कर्णालीलाई राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनमा भने निकै चुनौती हुने देखिएको छ । कर्णाली खेल पूर्वाधारमा कमजोर छ । यसकारण सबैभन्दा ठूलो चुनौती पूर्वाधारको विकास गर्नु हो । यसमा कर्णाली खरो उत्रिनुपर्नेछ । यद्यपि, यो अवसर पनि हो । सदुपयोग गर्न सकेमा त्यसले ठूलो महङ्खव राख्नेछ । त्यसका लागि अहिलेदेखि नै तीव्र तयारी आवश्यक देखिन्छ । तयारी भने सुरु भइसकेको छ । धमाधम खेल पूर्वाधारको निर्माण थालिएको छ । आवश्यक पूर्वाधारको तयारीमा सरोकारवालाहरू जुटेका छन् । प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्नेगरि योजना बनाएर पूर्वाधार निर्माणको कामलाई तीव्रता दिइएको छ ।

राष्ट्रिय प्रतियोगिताका लागि मुख्य खेल मैदानका रूपमा हेरिएको वीरेन्द्रनगरस्थित प्रदेश रंगशाला निर्माणको काम हालसम्म २५ प्रतिशत सम्पन्न भएको छ । प्रदेश रंगशालामा मात्रै १४ प्रकारका खेल सञ्चालन गर्ने तयारी छ । निर्माणाधीन प्रदेश गौरवको उक्त रंगशालामा फुटबल मैदान, भलिबल कभर्डहल, एथलेटिक्स ट्रयाक र स्विमिङ पुल निर्माणका काम भइरहेका छन् । त्यस्तै, भीआईपी प्याराफिटको दुईतले भवन, खेलाडीको चेन्जिङ कोठा, शौचालय, सावर, मिक्स जोन, मिडिया रुम, पार्किङ र स्विमिङ पुलसहित १५ सय दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल निर्माण हुने परिषद्ले जनाएको छ । प्रदेश रंगशालामै ह्यान्डबल र बास्केट बललगायत खेलका आउटडोर पनि बनाइनेछ । योसहित अन्य स्थानहरूमा पनि प्रतियोगिता सञ्चालन गर्न सकिने क्षमताका पूर्वाधार निर्माण भइरहेका छन् । कर्णाली सरकार र परिषद्ले खेल पूर्वाधारलाई उच्च प्राथमिकतामा राखेर अनुगमन तथा समन्वय गरिरहेको छ । प्रदेश सरकारले समेत पूर्वाधार निर्माण कार्यलाई महत्वका साथ हेरेको छ । सरकारले प्रदेश रंगशाला निर्माणको कामलाई प्रत्येक दुई सातामा अनुगमन गर्दै आएको हो । सुर्खेतबाहेक कर्णालीका दैलेख, कालीकोट, जुम्ला र रूकुमपश्चिममा भएका कभर्डहलहरूको स्तरोन्नति पनि सुरु गरिएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेल दैलेख, कालीकोट, जुम्ला, हुम्ला, मुगु र रूकुुमपश्चिममा समेत सञ्चालन हुनेछन् ।

प्रदेशमै पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्नुपर्ने भएपछि कर्णालीलाई अनुुभवको पनि अभाव छ । भौगोलिक विकटताले गर्दा सबै जिल्लामा खेल सञ्चालन गर्न सहज छैन । पूर्वाधार निर्माणका लागि योजनागत रूपमा काम अघि बढाइए पनि निर्माण समयमै सम्पन्न गर्नुपर्ने चुनौतीहरू छन् । यद्यपि, अहिलेदेखि नै पर्याप्त तयारी गरेको खण्डमा यो चुनौती नै अवसरमा बदलिनेछ ।

प्रकाशित मितिः   २१ कार्तिक २०७९, सोमबार ०७:४१