निर्वाचन आचारसंहितामा कडाइ

सुर्खेत: निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गरेको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचन प्रचारप्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने बताइएको छ । बुधवार आयोगले गरेको पत्रकार सम्मेलनमा यस्तो जनाइएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कार्तिक १७ गतेदेखि दोस्रो चरणको चुनावी प्रचारप्रसार गर्न पाइने भन्दै सार्वजनिक पदमा आसीन व्यक्तिले निर्वाचन प्रचारप्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने बताए ।

त्यस्तै, सार्वजनिक पदमा रहेका व्यक्तिले चुनावी प्रचारप्रसारमा जाँदा सरकारी सवारी प्रयोग गर्न नपाइनेसमेत आयोगले जनाएको छ । ‘सार्वजनिक पद धारण गरेका माननीय, प्रधानमन्त्री, मन्त्री र प्रदेशमन्त्रीज्यूहरूले अनुमति लिएर जानसक्नुहुन्छ । त्यसरी जाँदा कुनै पनि सरकारी स्रोतसाधनको प्रयोग गर्न हुँदैन,’ प्रमुख आयुक्त थपलियाले भने । आयोगले यो निर्वाचनमा दल र उम्मेदवारले गरेको खर्चको अडिट गर्नेसमेत जनाएको छ । अहिलेसम्म आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई स्पष्टीकरण सोधिएको आयोगको भनाइ छ ।

यसैगरी, उम्मेदवार तथा दलले निर्वाचनसम्बन्धी प्रचारप्रसार गर्दा आयोगद्वारा जारी आचारसंहिता उल्लंघन गरेमा उनीहरूलाई सोही स्थानमा कारबाही गर्नका लागि स्थानीय तहलाई अनुमति दिइएको प्रमुख आयुक्त थपलियाले बताए । निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई दण्ड, जरिवाना भने आयोगले नै निक्यौल गर्नेछ । उम्मेदवारको निर्वाचनसम्बन्धी खर्च अरूले गर्न नपाइनेसमेत आयोगले स्पष्ट पारेको छ ।

प्रकाशित मितिः   १७ कार्तिक २०७९, बिहीबार ०५:०२