वीरेन्द्रनगरमा नागरिक अतिथि सेवा गृह बनाइँदै

सुर्खेत: वीरेन्द्रनगरमा ठूलो क्षमताको नागरिक अतिथि सेवा गृह निर्माणको काम अघि बढाइएको छ । कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर–६ स्थित राम मन्दिर परिसरमा उक्त भवन बनाउन लागेको हो । निर्माण कार्य प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिको समन्वयमा अघि बढाइनेछ । चालु आर्थिक वर्षका लागि सामाजिक विकास मन्त्रालयले शिक्षा विकास निर्देशनालयमार्फत कार्यान्वयन गर्नेगरी दुई करोड बजेट छ्ट्याएको छ । भवनको विस्तृत परियोजना प्रतिवेदन ‐डीपीआर) निर्माण भइसकेको छ । वीरेन्द्रनगर नगरपालिकाको लगानीमा बनाइएको डीपीआरका लागि ११ लाख ७९ हजार रूपैयाँ खर्च गरिएको छ । निर्देशनालयका निर्देशक दिपा हमालले यो ठूलो परियोजना भएको बताइन् । उनका अनुसार अतिथि गृह निर्माण सम्पन्न हुन दुुईदेखि तीन वर्षसम्म लाग्नेछ । डेढ सय जना क्षमताको भवनका लागि अबको केही दिनमा सार्वजनिक खरिद ऐन बमोजिम टेण्डर आह्वान गर्न लागिएको हमालले जनाइन् । भवनमा १७ वटा कोठा र एउटा कोठामा चार जना बस्न मिल्नेगरी निर्माण गरिँदै छ । अतिथि सेवा गृहमा एउटा सुविधासम्पन्न सभाहल पनि निर्माण गरिनेछ ।

अतिथि गृह प्रदेशका विभिन्न जिल्लाबाट उपचार गर्न आउने तथा अन्य कामको सिलसिलामा प्रदेश राजधानी झर्ने नागरिकको बसाइँको सहजताका लागि निर्माण गर्न लागिएको हो । भवन निर्माण भइ सञ्चालनमा आए महँगंो पैसा तिरेर होटलमा बास बस्नुुपर्ने समस्याको अन्त्य हुुने विश्वास लिइएको छ । ‘प्रदेश राजधानीमा आउने जोकोही अतिथिहरूको लागि सुरक्षित र व्यवस्थित बसाइँको प्रबन्ध गर्न आवास निर्माण गर्न लागिएको हो,’ हमालले भनिन्, ‘लक्ष्यअनुुसार नै निर्माण पूर्वका प्रक्रियाहरू अघि बढाइएको छ ।’ भवन निर्माण भइसकेपछि कार्यविधि बनाएर नागरिक अतिथि सेवा गृह सञ्चालन गर्ने तयारी छ । सो गृहमा सशुल्क र निःशुुल्क पनि आवास सुविधा दिने व्यवस्था गरिनेछ । भवन निर्माण कार्यका लागि राम मन्दिर व्यवस्थापन समितिसँग पनि समन्वय गरेर अघि बढ्ने निर्देशनालयले जनाएको छ । भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले राम मन्दिर क्षेत्रलाई सिफारिस गरेको थियो । नगरपालिकाका योजना शाखा प्रमुुख प्रकाश पौडेलले यो काममा नगरपालिकाको समन्वयकारी भूमिका रहने बताए । नागरिक अतिथि सेवा गृहका लागि कर्णाली सरकारले गएको आर्थिक वर्ष २०७८÷०७९ मा पनि बजेट विनियोजन गरेको थियो । उक्त वर्ष पाँच करोड विनियोजन गरिएपनि बजेट कार्यान्वयन भने भएन । यो शीर्षकको बजेट रकमान्तरण गरी अन्यत्र खर्च गरिएको थियो ।

यसैबीच, वीरेन्द्र नगरपालिका ३ को उत्तरगंगा मन्दिर परिसरमा क्रियापुत्री भवन निर्माण गरिने भएको छ । उक्त भवनको पनि डीपीआर बनाइ निर्माण कार्य अघि बढाइएको छ । भवन निर्माणका लागि गत वर्ष नै शिक्षा विकास निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकालाई चार करोड बजेट पठाएको थियो । ढिलागरी बजेट प्राप्त भएकाले यो वर्षबाट मात्रै काम सुरु हुने भएको हो । यसपटक निर्देशनालयले भवन निर्माणका लागि एक करोड बजेट विनियोजन गरेको छ । गतवर्ष कार्यान्वयन नहुँदा यसपालि बजेट घटेर आएको निर्देशनालयले जनाएको छ । निर्माणको काम अघि बढाउने र थप बजेटका लागि प्रदेश सरकारसँग माग गरिने निर्देशक हमालले बताइन् । उनका अनुसार यसको पनि भवन सञ्चालन कार्यविधि अनुुसार नै सञ्चालन, व्यवस्थापन तथा नियमन गरिनेछ ।

प्रकाशित मितिः   १७ कार्तिक २०७९, बिहीबार ०५:०२