एमाले अध्यक्ष ओली सुर्खेत आउँदै
वीरेन्द्रनगरमा कार्तिक २९ गते एमालेको चुनावी जनसभा
सुर्खेत: नेकपा (एमाले)ले यही कार्तिक २९ गते सुर्खेतको वीरेन्द्रनगरमा बृहत् चुनावी जनसभा आयोजन ागर्ने भएको छ । मंसिर ४ गते हुने संसदीय निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको उक्त जनसभालाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । चुनावी सभामा हजारौँ जनसमुदायको सहभागिता रहने एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जनाए । उनका अनुसार एमाले सुर्खेतले उपाध्यक्ष कूलमणि देवकोटाको संयोजकत्वमा सात सदस्यीय जनसभा व्यवस्थापन समिति बनाएको छ । जसमा जिल्ला पार्टी सचिव कविन्द्रकुमार केसी, उपसचिव घनश्याम पाण्डे, सचिवालय सदस्य डम्मर तिवारी, गंगाराम तिमिल्सेना, पूर्णप्रसाद पौडेल र नगर कमिटी अध्यक्ष निलकण्ठ खनाल सदस्य रहेका छन् । चुनावी जनसभालाई एमाले स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सोही दिन दैलेखमा हुने एमालेको चुनावी जनसभालाई पनि अध्यक्ष ओलीसहितका नेताहरूले सम्बोधन गर्ने बताइएको छ । अध्यक्ष ओलीले निर्वाचनअघि सुर्खेत र दैलेखसहित ४० जिल्लाका चुनावी जनसभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ । स्थानीय चुनावभन्दा ६ प्रतिशत मत बढाउने लक्ष्यसहित एमालेले भारतसँग सीमा विवाद रहेको दार्चुलाबाट देशव्यापी चुनावी अभियान थाल्ने बताएको छ ।
प्रकाशित मितिः १५ कार्तिक २०७९, मंगलवार ०५:०२
साझा बिसौनी ।