आश्वासनको राजनीति

मंसिरमा हुने संसदीय निर्वाचन नजिकिँएसँगै यतिबेला नेताहरू मत माग्न व्यस्त छन् । मतदाता रिझाउन उम्मेदवारहरू गाउँ–गाउँमा पसेका छन् । राजनीतिक दल र उम्मेदवारले विकासका योजना सुनाएर आफ्नो पक्षमा जनमत बटुल्ने कसरत थालेका हुन् । सधैँ उही एजेन्डा सुनाउने र चुनाव जितेपछि प्रतिबद्धता कार्यान्वयन नगर्ने नेताहरूको प्रवृत्तिले मतदाता आजित छन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवार बनेकाहरू अहिले विकासका प्रतिबद्धता जनाउन घरदैलोमा छन् । नेताहरू मतदाता केन्द्रित भएसँगै चुनावी सरगर्मी बढेको छ । तर, विकास योजनामा राजनीति गर्ने परिपाटीका कारण मतदातालाई भने सधैँ धोका मात्रै भएको छ । खासगरी सुर्खेतको पश्चिमका वासिन्दा नेताहरूको व्यवहार र कार्यशैली देखेर दिक्क छन् । आफूले भरोसा गरेर निर्वाचित गरी पठाएका प्रतिनिधिले विकासमा ध्यान नदिएको यस क्षेत्रका मतदाताको गुनासो छ ।

विकासका लागि राजनीति नभइ विकास योजनामा राजनीति गरिँदा पश्चिम सुर्खेत अहिले पनि विकट छ । यो ठाउँ विकासका दृष्टिकोणले निकै पछाडि परेको छ । चुनाव नेताहरूलाई विकासका नारामा टेकेर सत्तामा जाने भ¥याङ्ग मात्र भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरसँग जोडिएको पश्चिम सुर्खेतका अधिकांश भूभागमा अहिले पनि आधारभूत पूर्वाधार छैनन् । राजनीतिक नेतृत्व र जनप्रतिनिधि जनताप्रति उत्तरदायि नबन्दा नागरिकले विकासको अनुभूति गर्न नपाएका हुन् । उसो त यहाँ राजनीतिक दल र उम्मेदवारले हरेक निर्वाचनअघि भोट माग्ने क्रममा विकासको लहर ल्याउने बाचा गर्छन् । यसपाली पनि उस्तै आश्वासन बोकेर मतदातामाझ पुगेका छन् । नेताबाट सधैँ आश्वासन मात्रै पाएका मतदातासँग अहिले पनि उम्मेदवारहरू उनै पुराना एजेन्डा लिएर मत मागिरहेका छन् । प्रमुख राजनीतिक दलबाट उम्मेदवार बनेकाहरू विकासका सपना देखाएर मतदाता फकाउने होडबाजीमा छन् ।

दशकौँदेखि यस भेकका उम्मेदवारका आश्वासन र मतदाताका माग उही छन् । भरपर्दो सडक, बिजुली र शिक्षा, स्वास्थ्य र खानेपानीको माग यहाँका वासिन्दाहरूले गर्दै आएका छन् । तीन दशकभन्दा बढी समयदेखि पश्चिम सुर्खेतमा प्रतिबद्धता जनाउने र माग राख्ने यहीक्रम चलिरहेको छ । हालसम्म थुप्रै नेता जन्माएको पश्चिम सुर्खेतले जनताका मर्का बुझ्ने जनप्रतिनिधि भने नपाएको जोकोहीलाई भान हुन्छ । जब कि पश्चिमका वासिन्दाले बहुदल आएदेखि नै सडक र बिजुलीको सुविधाका लागि नेता गुहार्न थालेका थिए । चार दशक बित्दा पनि यहाँ नेताले आश्वासन मात्रै बाँडिरहेका छन् । प्रदेशदेखि संघीय सरकारसम्म सत्ता र शक्तिमा सहज पहुँच रहेपनि पश्चिमको मुहार भने फेरिएको छैन । आधा दर्जन हाराहारी मन्त्री नै पाएको पश्चिम सुर्खेतले अहिलेसम्म चुनावी प्रतिबद्धता अनुसार काम गर्ने नेता भने भेटेको छैन । जसले गर्दा त्यस क्षेत्रमा विकासको विजोक देखिन्छ ।

प्रकाशित मितिः   १५ कार्तिक २०७९, मंगलवार ०५:०३