आचारसंहिता पालना गर्ने प्रतिबद्धता

सुर्खेत: राजनीतिक दलहरूले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । सोमवार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकमा सुर्खेतमा क्रियाशील राजनीतिक दलहरूले आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता गरेका हुन् । आचारसंहिता उल्लंघन सम्बन्धमा राजनैतिक दल र उम्मेदवारबाट भएका कमजोरीलाई सच्याइ पूर्ण रूपमा परिपालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकमा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिसँगै मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्याल र सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी थिए । बैठकमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि निर्वाचन आचारसंहिता लगायतका विषयमा छलफल भएको थियो । निर्वाचन आचारसंहिताअनुसार दलहरूले कार्तिक १७ गतेपछि मात्रै जनसभा तथा प्रचार प्रसार गर्न पाउने व्यवस्था छ । सो समयमा सबै राजनीतिक दल तथा उम्मेदवारले मित्रवत व्यवहार गर्दै चुनावी प्रतिस्पर्धाको तयारी गर्ने निर्णय समेत गरिएको छ । यस्तै, दल तथा उम्मेदवारले चुनावी अभियानमा दुष्प्रचार नगर्ने र सभा जुलुस गर्ने क्रममा स्थानको तय समेतका विषयमा आपसी समन्वय गर्ने प्रतिबद्धता जनाएका छन् । कुनै पनि उम्मेदवारलाई सुरक्षा चुनौति देखिएमा अग्रीम रूपमा जिल्ला सुरक्षा समितिलाई लिखित जानकारी गराउनेलगायत निर्णय बैठकले गरेको छ ।

प्रकाशित मितिः   १५ कार्तिक २०७९, मंगलवार ०५:०१