खुलेन कर्णाली करिडोर

सुर्खेत: गत असोज तेस्रो साता परेको अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध कर्णाली करिडोर अझै खुलेको छैन । करिडोर अन्तर्गत कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर खुलाउन चुनौति भएको हो । सो क्षेत्रमा अहिले पनि सुख्खा पहिरो खसिरहेको छ । करिडोर सञ्चालन नहुँदा कालीकोट, बाजुरा, मुगु र हुम्लामा दैनिक उपभोग्य सामान ढुवानीमा समस्या भएको छ । ‘निरन्तरको पहिरोका कारण सडक सञ्चालन गर्न कठिनाइ भएको छ,’ निशान्त निर्माण सेवा कम्पनीका अनन्त बरालले भने, ‘स्काइभेटर पहिरो खसेको स्थलमा छन् तर काम गर्न सकिएको छैन ।’ पहिरो पन्छाउन नसकिए पछि वैकल्पिक उपाय खोज्नुको विकल्प नभएको उनले जनाए । बरालका अनुसार पहिरो खसिरहेको ठाउँमा तारजाली हालेर रोक्नुपर्ने देखिएको छ ।

हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र यादवले हावा चल्दा पनि पहिरो खस्ने गरेकाले सडकको अवरोध हटाउन मुस्किल हुने गरेको बताए । ‘पहिरो पन्छाउनै जोखिम छ,’ उनले भने, ‘मेसिनसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ । तर, अपेक्षित गतिमा काम हुन सकेको छैन ।’ कालीकोटको खुलालुदेखि हुम्लासम्मको सडकखण्ड अवरूद्ध हुँदा कालीकोट, बाजुरा, मुगु र हुम्लामा खाद्यान्न अभाव हुँदै गएको रास्कोट नगरपालिका–५ स्युनाका रजबहादुर शाही बताउँछन् । कर्णाली करिडोरअन्तर्गत कालीकोटमा ४० किलोमिटर, बाजुरामामा ४३ किलोमिटर र हुम्लामा एक सय १३ किलोमिटर सडकखण्ड पर्दछ । उक्त सडक खण्डमा विभिन्न ठाउँमा पहिरो खस्दा सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

प्रकाशित मितिः   १४ कार्तिक २०७९, सोमबार १०:४४