हुम्लामा अझै पुगेनन् पाठ्यपुस्तक

हुम्ला: नयाँ शैक्षिक सत्र सुरु भएको ६ महिना भइसकेको छ । हुम्लाका कतिपय विद्यालयका विद्यार्थीले अझै पनि पाठ्यपुस्तक पाएका छैनन् । सिमकोट गाउँपालिका–६ मा रहेको मानसरोवर माध्यमिक विद्यालयमा किस्ता किस्तामा पाठ्यपुुस्तक गयो । पटक–पटक किताब आए पनि अहिले पनि कतिपय विद्यार्थीका हात खाली छन् । त्यहाँ सबै कक्षामा पर्याप्त पाठ्यपुुस्तक नपुगेको हो । विद्यालय नियमित सञ्चालन भइरहे पनि पाठ्यपुस्तक नहुँदा पठनपाठनमा समस्या भएको विद्यालयका प्रधानाध्यापक अमरबहादुुर शाहीले बताए । उनले भने, ‘यो वर्ष पनि समयमा पाठ्यपुुस्तक आएन । विद्यार्थीको पढाइमा अन्योल भइरहेको छ ।’ हुम्लामा केही थान पुस्तक त्रैमासिक परीक्षा सकिएपछि मात्र पुगेको थियो । त्यो पनि अपर्याप्त ।

गएका तीन वर्ष कोरोना महामारीका कारण अस्तव्यस्त बनेको पठनपाठन यस पटक पनि पाठ्यपुस्तक नहुँदा समस्या भएको शिक्षकहरूले बताएका छन् । सरकारले समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विद्यार्थीहरू मर्कामा परेको बताइएको छ । सिमकोट गाउँपालिकाका सामुुदायिक विद्यालयका सबै कक्षामा पाठ्यपुस्तक अहिलेसम्म पुुग्न नसकेको शिक्षा शाखाका प्राविधिक सहायक कृष्णप्रसाद आचार्यले जनाए । ‘भौगोलिक विकटताले गर्दा समयमै पाठ्यपुुस्तक आएको छैन । हवाइ सेवा उपलब्ध नहँुुदा खच्चडबाट ढुुवानी गर्नुुपर्ने बाध्यता छ । अझै पुुरै सेट किताब आइसकेको छैन ।’

अदानचुली गाउँपालिकामा पनि सबै बालबालिकाले पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुुस्तक ढुवानीकर्ता र बिक्रेताको लापरबाहीकै कारण विद्यार्थीको हातमा किताब पुग्न नसकेको गाउँपालिकाका शिक्षा शाखा प्रमुुख रनसुर रोकायाले बताए । उनका अनुसार उक्त पालिकामा आधा विद्यार्थीले मात्रै अहिलेसम्म पाठ्यपुस्तक पाएका छन् । विगतका वर्षहरूमा पनि हुम्लालगायतका कर्णालीका हिमाली जिल्लाहरूमा समयमै पाठ्यपुुस्तक पुगेको थिएन । सरकारको बेवास्ताका कारण शैक्षिक अवस्था लथालिङ्ग बनेको शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालका कर्णाली प्रदेश अध्यक्ष तुुलाराम पाण्डेले बताए । उनी भन्छन्, ‘चुुनावका मतपत्र समयमै पुग्छन्, पाठ्यपुस्तक पुग्दैनन् ।’ शिक्षाप्रति सरोकारवाला जिम्मेवार बन्न नसक्दा बर्सेनि पाठ्यपुस्तकको अभाव हुने गरेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १४ कार्तिक २०७९, सोमबार १०:४२