पश्चिममा सधैँ सडक राजनीति

सुर्खेत: मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । यतिबेला उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । राजनीतिक दल र उम्मेदवारले हरेक निर्वाचनअघि भोट माग्ने क्रममा विकासको लहर ल्याउने प्रतिबद्धता जनाउँछन् । यसपाली पनि उस्तै आश्वासन बोकेर उनीहरू मतदातामाझ पुगेका छन् । नेताबाट सधैँ आश्वासन मात्रै पाएका पश्चिम सुर्खेतका मतदातासँग अहिले पनि उम्मेदवारहरू उनै पुराना एजेन्डा लिएर मत माग्दैछन् । खासगरी प्रमुख राजनीतिक दलबाट उम्मेदवार बनेकाहरू विकासका सपना देखाएर मतदाता फकाउने कसरतमा जुटेका छन् ।

सुर्खेतको पश्चिम क्षेत्र विकासका दृष्टिकोणले निकै दुर्गम छ । प्रदेश राजधानी वीरेन्द्रनगरसँगै जोडिएका यस क्षेत्रका बस्तीहरूमा आधारभूत सुविधासमेत पुगेको छैन । दशकौँदेखि यस भेकका उम्मेदवारका प्रतिबद्धता र मतदाताका माग उही छन् । जनप्रतिनिधिले चुनावअघि गरेका वाचा पुरा नगर्दा मतदाताले विकासको अनुभूति गर्न पाएका छैनन् । तीन दशकभन्दा बढी समयदेखि पश्चिम सुर्खेतमा यहीक्रम दोहोरिरहेको छ । सडक, बिजुली र खानेपानीजस्ता न्यूनतम पूर्वाधारको अभावमा त्यहाँका बासिन्दाको जीवनशैली कष्टकर छ । हालसम्म थुप्रै नेता जन्माएको पश्चिमले जनताका मर्का बुझ्ने जनप्रतिनिधि नपाएको पञ्चपुरी नगरपालिका–९ का पूर्ण खरेल बताउँछन् । उनका अनुसार अहिले पनि आधारभूत विकास देख्न नपाएका पश्चिमका बासिन्दाले बहुदल आएदेखि नै सडक र बिजुली माग्न थालेका हुन् । ‘हामीले उहिले पनि पक्की सडक माग्थ्यौँ ।

गाउँ–गाउँमा विद्युत हुनुप¥यो भन्थ्यौँ । चार दशक बित्दा पनि हाम्रा माग उहीँ छन् । नेताले उस्तै आश्वासन मात्रै बाँडिरहेका छन्,’ उनले भने । सुर्खेत क्षेत्र नं. २ को अधिकांश भू–भाग पश्चिम सुर्खेतमा पर्छ । अहिलेसम्म पश्चिमका मतदाताले निर्वाचित गरेर पठाएका धेरै सांसदहरू मन्त्री पनि बने । प्रदेशदेखि संघीय सरकारसम्म सत्ता र शक्तिमा सहज पहुँच बने पनि पश्चिमको मुहार भने फेरिएन । यस क्षेत्रका कैयन् नेता अहिले पनि सत्ता राजनीतिको पहुँचमै छन् । तर, पश्चिमका मतदाताले आश्वासनबाहेक विकास नपाएको गुनासो गर्दै आएका छन् । यही भूगोलबाट नेपाली कांग्रेसका शिवराज जोशी, तप्त विष्ट र नेकपा (एमाले) का नवराज रावत संघीय सरकारका राज्यमन्त्री भए । यस्तै, कांग्रेसका यज्ञबहादुर बुढाक्षेत्री र नेकपा ‐माओवादी केन्द्र)का विन्दमान विष्ट कर्णाली सरकारका मन्त्री बने । आधा दर्जन हाराहारी मन्त्री र त्योभन्दा धेरै सांसदहरू जन्माएको पश्चिम सुर्खेतमा अहिलेसम्म चुनावी प्रतिबद्धताअनुसार नेताहरूले काम गर्न नसकेको आरोप लाग्ने गरेको छ । विकास ओसार्ने आधारभूत पूर्वाधार सडक नै भरपर्दो नभएपछि यहाँका बासिन्दा बाह्रै महिना सास्ती खेप्न बाध्य छन् । यसपाली पनि सडक पूर्वाधारको विकास गर्ने एजेन्डा लिएर उम्मेदवारहरू मत माग्न थालेका छन् ।

जनज्योति माध्यमिक विद्यालय बड्डिचौरका प्रधानाध्यापक नारायण सिग्देलले पश्चिमले विकासको अवधारणा अनुसार काम गर्न सक्ने प्रतिनिधि पाउन नसकेको जनाए । ‘सडक स्तरोन्नतिमा समेत जनप्रतिनिधिको ध्यान जान सकेको छैन,’ उनी भन्छन्, ‘यहाँ विकास भन्ने कुरा चुनावी एजेन्डा मात्रै बने, काम कहिल्यै भएन ।’ उनका अनुसार सडक र विद्युतबाहेक पश्चिम क्षेत्रका लागि अन्य सवाल चुनाव एजेन्डासमेत बन्दैनन् । जल, जमिन, जटिबुटी, उद्यम, प्रविधि, शिक्षा, रोजगारी, गरिबी निवारणजस्ता एजेन्डाहरू कुनै उम्मेदवारको प्राथमिकतामा नपरेको सिग्देलले बताए । ‘यो भूगोलले सांसद र मन्त्री त धेरै पायो उनले भने, ‘उहाँहरूसँग विकासको योजना भएन, त्यसैले पश्चिम क्षेत्र सधैँ पछि परिरह्यो ।’ सडक र विद्युत नहुँदा अन्य पूर्वाधार विकासमा समेत पश्चिम पछि परेको उनको भनाइ छ ।

पश्चिमका धेरैजसो क्षेत्रहरू विकास नभएकै कारण विकट छन् । प्रदेश राजधानीकै जिल्ला भए पनि अधिकांश ठाउँमा सडक सुविधा छैन । सडक नै नहुँदा पश्चिमको समग्र विकासमै बाधा छ । भएका सडकमा पनि नियमित यातायातका साधन सञ्चालन हुँदैनन् । ती सडक बर्खामा मात्र नभइ हिउँदमै हिलाम्मे हुन्छन् । तीन दशक अघिदेखिको समस्या अहिले पनि सुधार हुन नसकेको हो । निर्वाचनका बेला नेताले यही सडकको सवाललाई चुनावी एजेन्डा बनाए पनि निर्वाचितपछि यो मुद्दा ओझेलमा पर्छ । पश्चिममा सधैँ यसैगरी सडक राजनीति चलिरहेको स्थानीयको आरोप छ । यस पटकको निर्वाचनमा केही पुराना र केही नयाँ अनुहार चुनावी मैदानमा छन् । नयाँ उम्मेदवारले पनि सडक र बिजुलीलाई प्राथमिकतामा राखेको भन्दै आश्वासन दिइरहेका छन् ।

सुर्खेत क्षेत्र नं. २ ‘ख’ मा नेकपा ‐एमाले)बाट प्रदेशसभा सदस्यका उम्मेदवार ताराकेशर गौतम यसपाली पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । उनले सडक र विद्युतलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् । ‘घरदैलोमा पुग्दा सडक, विद्युतसँगै स्थानीय समस्याहरू सम्बोधन गर्ने वचन दिएको छु,’ उनी भन्छन्, ‘जुन काम विगतका जनप्रतिनिधिबाट अपेक्षित रूपमा अघि बढ्न सकेनन् । त्यसलाई पूर्णता दिने मेरो प्रतिबद्धता हो ।’ उनले पश्चिम खण्डमा पर्ने मदनभण्डारी राजमार्ग दुई वर्षभित्र सम्पन्न गर्न पहल गर्ने मतदातालाई वचन दिएका छन् । त्यस्तै, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, तटबन्धन र रोजगारका सवालहरूलाई आफूले एजेन्डा बनाएको गौतमले बताए । सुर्खेत क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता हृदयराम थानीको एजेन्डा पनि सडक पूर्वाधारको विकास र विद्युतीकरण नै छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका थानी २०७४ को निर्वाचनमा पराजित भएका थिए । उसबेला यिनै आश्वासन दिएर भोट मागेका उनले अहिले पनि एजेन्डा फेरेका छैनन् । पश्चिम क्षेत्रमा रहेका अधुरा विकासलाई पूर्णता दिन आफ्नो उम्मेदवार रहेको थानीको दाबी छ । लाइसेन्स होल्ड गरेका सिमेन्ट उद्योग सञ्चालन गर्न पहल गर्ने, बड्डिचौरदेखि बेनीघाट र तेलपानीदेखि बर्दिया जोड्ने सडक निर्माणलाई प्राथमिकता दिने योजना उनको छ । ‘मतदाताको माग सडक पूर्वाधार भरपर्दो बनाउनुप¥यो भन्ने छ, उनले भने, त्यसका साथै विद्युत, अस्पताल, खानेपानी र रोजगारीजस्ता समस्या पनि यहाँ छन् । ती सबै विषय सम्बोधन गर्ने मेरो प्रतिबद्धता छ ।’

प्रकाशित मितिः   १४ कार्तिक २०७९, सोमबार ०५:०५