चुनावी चटारो

मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि उम्मेदवार बनेकाहरू यतिबेला मतदाता केन्द्रित भएका छन् । निर्वाचन नजिकिएसँगै उनीहरूलाई मतदाता भेट्ने चटारो छ । प्रतिनिभिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारहरू मतदाता रिझाउने होडबाजीमा देखिएका छन् । आफ्नो पक्षमा जनमत पार्न विकासका एजेण्डा र आश्वासन लिएर घरदैलो अभियान सञ्चालन गरिएका छन् । धान काट्ने र बाली भिœयाउने सिजन यसैबेला परेको छ । जसले गर्दा उम्मेदवारलाई घरदैलोमै मतदाता भेटाउन भने मुस्किल छ । मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँ र चियाचौतारोमै उम्मेदवारहरू गएको देखिन्छ । धान बाली बटुल्ने समय भएकाले पनि धेरैजसोलाई घर आँगनमा भेट्न कठिन छ । उम्मेदवारहरू नेता कार्यकर्ताको हुल बाँधेर मतदाता खोज्दै बारीमै पुगिरहेका छन् । मतदाताहरूलाई कामको चटारो भइरहेका बेला उम्मेदवारलाई पनि भोट माग्न र आफ्ना एजेन्डा सुनाउन भ्याइनभ्याइ छ । अहिले नेताहरू पार्टीका आन्तरिक बैठक र भेलाहरूसँगै मतदातामाझ चुनावी प्रतिबद्धता जनाउन गइरहेका छन् । नेताहरू गाउँ पसेसँगै चुनावी माहोल पनि तातिएको छ ।

कामको चापले मतदातालाई भने चुनावी रौनकले खासै छोएको छैन । नेताहरूले मतदाता जहाँ भेटिन्छन् त्यही मौका छोपेर मत माग्ने गरेका छन् । घरदैलो गर्ने क्रममा उम्मेदवारसँग मतदाताले आशाभन्दा बढी निराशा व्यक्त गरिरहेका छन् । विगतमा गरेका प्रतिबद्धता पूरा नहुँदा जनप्रतिनिधिप्रति मतदाताको भरोसा घटेको छ । प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा अधिकांश पुरानै अनुहार उम्मेदवार बनेपछि झन मतदाताहरूमा अपेक्षाभन्दा गुनासो बढी देखिन्छ । मतदाता रिझाउन उम्मेदवारहरू विभिन्न योजना र एजेन्डा सुनाएर मन जित्ने प्रयास गरिरहेका छन् । तर, मतदाताले विकासका आधारभूत पूर्वाधार पनि नहुँदा सास्ती भइरहेको गुनासो गर्ने गरेका छन् । बाटो, बिजुली बत्ती र खानेपानीजस्ता आधारभूत सवालमा मतदाताको बढी चासो रहने गरेको उम्मेदवारहरूले बताउने गरेका छन् । यसअघि गरिएका बाचा कार्यान्वयन नभएपछि अधिकांश मतदाता खुसी छैनन् । तीनै असन्तुष्ट मतदातालाई फकाएर आफ्नो पक्षमा परिणाम पार्ने कसरतमा राजनीतिक दल र उम्मेदवारहरू देखिन्छन् ।

पछिल्ला वर्षहरूमा मतदाता सचेत भइसकेका छन् । राजनीतिक दल र उम्मेदवारका योजना र एजेन्डा हेरेर मात्रै प्रतिनिधि चुन्ने मतदाताको संख्या पनि ठूलो छ । सचेत मतदाता बढेसँगै उम्मेदवारहरूले निर्वाचनको प्रचार शैली पनि बदल्दै लगेका छन् । अहिले उम्मेदवारहरूले मतदातासँग भौतिक रूपमा मात्र नभइ भर्चूअल माध्यमबाट पनि मत माग्ने गरेका छन् । उम्मेदवारहरूले अघिल्ला निर्वाचनहरूको तुलनामा यसपालि प्रचारमा सामाजिक सञ्जालको प्रयोगसमेत व्यापक बनाएको देखिन्छ । उनीहरूले सामाजिक सञ्जालको माध्यमबाट मतदातालाई आफ्ना एजेन्डा सुनाउने गरेका छन् । निर्वाचनमा प्रविधिको बढ्दो प्रयोगले उम्मेदवार र मतदाता दुवैलाई सहज भएको छ ।

प्रकाशित मितिः   १४ कार्तिक २०७९, सोमबार ०५:०३