महिला अधिकार, समानता, समता र नेतृत्व: कागजमा छ, व्यवहारमा खोइ ?

दीपेन्द्र ओली
विश्वभर अधिकांश संख्यामा रहेका दुईथरी लैङ्गिक अवस्था भएका मानिस अथवा महिला र पुरुष भनेर हामीले चिन्ने गरेका छौं । हुन त अहिले न महिला न पुरुष लिङ्ग भएका मानिस अथवा समलिङ्गी तेस्रो लिङ्गीहरूको पनि अधिकार र समस्याको बारेमा चर्चा हुने गरेको छ । यी तीन थरी लैङ्गिक अवस्था भएका नागरिकहरूमध्ये पनि नेपाली महिलाहरूका विषयवस्तुमा चर्चा गर्न लागिएको हो । नेपालमा महिला अधिकारबारे व्यापक बहस विमर्श भइरहँदा महिलालाई अधिकार सम्पन्न बनाउन निकै छलफल, विचार, विमर्श र गोष्ठीहरू भइरहने गरेका छन् । अधिकार प्राप्ती लैङ्गिक रूपमा समान हैसियत कायम भएमा हुनसक्छ । विशेष गरी महिलालाई अधिकार सम्पन्न र आत्मनिर्भर बनाउन निकै धेरै प्रयासहरू भएका छन् । तर पनि ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलाहरूले अधिकार र स्वतन्त्रताको महसुस राम्ररी गर्न अझै पनि पाएका छैनन् भन्दा गलत भइदैन । आधा धर्ती ओगटिसकेका महिलालाई सम्पूर्ण रूपले अधिकार सम्पन्न गराइनुपर्छ भनेर राज्यका सबैजसो निकायमा महिला सहभागिता, प्रतिनिधित्व र नेतृत्वका व्यवस्थाहरू गरिएका छन् । महिलालाई अधिकार सम्पन्न बनाउनका लागि भनेर सुर्खेतसहित देशभर नै सरकारी तथा गैरसरकारी पक्षबाट परियोजनाहरू समेत सञ्चालन भइरहेका छन् । तर अहिलेसम्म महिलाले पूर्ण रूपमा अधिकार पाए वा महिलाहरू अधिकार सम्पन्न भए भन्ने कुरा सुनिएकै छैन । भाषणमा महिलावादी आन्दोलन अनि अधिकारको चर्को वकालत गर्नेहरूकै घर–घरमा महिला अधिकार हनन् हुने गरेको दृष्टान्तहरू जगजायर छन् । यस्ता कारणहरूले अझै लैङ्गिक विभेदको खाडल र सीमा छन् । महिलाहरूले कानुनी रूपमा अधिकार पाएर पनि समस्याहरू भोगिरहनु परेको छ । सहरी महिलाको तुलनामा ग्रामीण क्षेत्रका महिलाहरूले धेरै समस्याहरूको सामना गर्नु परेको हुन्छ । अशिक्षा, बेरोजगार लगायत अन्य विभिन्न समस्यालाई ग्रामीण महिलाहरूले भोग्न परेको छ । सधैं काम तथा घरको हेला, दुव्र्यवहार, बलात्कार लगायत अन्य समस्याको पनि सामना गर्न परेको छ । सहरी महिलाहरूले पनि बेरोजगार समस्या सँगै बलात्कार, पारिवारिक हिंसा र यातनाजस्ता समस्याहरूको सामना गर्नु परिरहेको छ । यसमा धेरै साना–साना बानी व्यवहार र चलन कारण बनेका मेरो ठहर हो ।
महिलाकै ठेक्का जस्ता बनेका कामहरूः
गाउँ वा सहरमा एउटा ठूलो कार्यक्रम हुँदैछ । त्यस्तो बेला पुरुषहरू नीति, नेतृत्व मात्रै होइन कि त्यो कार्यक्रमका अन्य व्यवस्थापकीय काममा जुट्छन् । धेरै पुरुषहरू त्यो कार्यक्रमबारे प्रचार–प्रसार मात्रै होइन कि प्रमुख अतिथि, अतिथि वा वक्ता भएका हुन्छन् र अघिल्लो पट्टिको मञ्चमा गजदम्ब बसिरहन्छन् । कार्यक्रममा प्रवेशस्थलमै हुन्छन् महिला । उनीहरूले नै पाहुनाको स्वागत स्वरूप पुष्पगुच्छा हातमा लिएर बस्ने, के त्यो काम पुरुषले गर्न सक्दैनन् ? के महिलाले त्यो बाहेक अरु काम गर्न मिल्दैन ? जब कार्यक्रम सुरु हुन्छ उद्घोषकले बोलाउँछन् ‘सम्मानीय प्रमुख अतिथि तथा अतिथिज्यूहरूलाई ब्याच वितरण गरिदिनुहुन म फलानो कुमारी वा फलानो मायालाई अनुरोध गर्दछु ।’ के महिलाहरू त्यो ब्याच वितरण गर्नका लागि मात्रै योग्य छन् ? कार्यक्रमका अन्य गतिविधि पनि हुन्छन्, त्यस्ता अन्य गतिविधिमा हामीलाई पनि सरिक गराए हुन्थ्यो भन्ने महिलाहरूले नसोच्ने र नसक्ने होइन तर महिलालाई ब्याच वितरणमै मात्र सीमित गरिन्छ । भाषण गर्दागर्दै पुरुषको घाँटी सुख्खा भयो, त्यो बेला पनि बनाइन्छ ‘ए नानी पानी ल्याउ त ।’ के अरु पुरुषले पानी ल्याएर दिन सक्दैनन् त ? पुरुषले पनि गर्न सक्ने काम महिला देखिना साथ महिलालाई अहराइन्छ किनकी स्वागतमा महिला नै प्रयोग गर्ने संस्कार छ । अगाडि पट्टि आशनमा महिलाभन्दा पुरुष धेरै छन् । आशनमा बसेकाको भाषण सुन्दा–सुन्दा दिक्क लागेको बेला मनोरञ्जनको जरुरत भयो । अब मनोरञ्जनात्मक क्रियाकलापमा भने आशनमा भएका भन्दा ठीक उल्टो पुरुषभन्दा महिला धेरै ।
तपाईंलाई लागेको होला यो ठूला–ठूला कुरा । आशन र भाषणका कुरा किन गरेको होला ? कुरा आशन र भाषणको मात्रै होइन, विचार गरौं तपाई हाम्रो गाउँघरमा पूजापाठ, विवाह, ब्रतबन्ध जस्ता भइरहेका ठाउँमा महिलाको काम के हुन्छ ? टीकाको थाली बोकेर गेट नजिक बस्ने अनि पाहुनापाक्षीलाई टीका लगाइदिने, भान्छामा काम गर्ने त्यो पनि भाँडा माझ्नका लागि, पानी ओसार्ने । पुरुषहरू भने नजिकै बसेर गफ चुटेर बस्नुपर्ने, धार्मिक काम हो भने धर्मग्रन्धहरू सुनाउने अथवा जजमानी गर्ने । अब फेरि मेरो प्रश्न के पुरुषहरूले टीकाको थाली बोकेर गेट नजिक बस्ने अनि पाहुनापाक्षीलाई टीका लगाइदिने गर्न सक्दैनन् ? अनि भान्छामा भाँडा माझ्ने ठेक्का जिन्दगीभरी महिलाको मात्रै हो ? अनि धर्मग्रन्थलाई राम्रोसँग उच्चारण गर्न र वाचन गर्न महिलाले किन सक्दैनन् ?
गाउँघरमा कुनै झमेला आइलाग्यो वा विकास निर्माणका काम हुँदैछन् । गाउँका लागि महŒवपूर्ण निर्णय हुँदैछन् । त्यहाँ सक्भर छलफलका लागि पुरुष नै जानुपर्ने संस्कार छ । काहीं कतैबाट केही महिला सहभागी भए पनि छलफलमा आवाज चर्का–चर्का पुरुषका मात्रै । महिलाले केही कुरा भन्न खोज्दा सुन्यान सुन्यै गर्ने तपाईं हाम्रो बानी । हो यस्ता खालका साना साना विषय वस्तुमा हामीले ध्यान दिदैनौं । तर हामी अधिकार र समानता अनि समताका सबैभन्दा चर्का नाराहरू लगाउँछौं । के हो अधिकार र समानता अनि समता ? जबसम्म सामाजिक रूपमा चलनचल्तीमा रहेका साना–साना तर विभेदकारी बनेका हाम्रा बानी व्यवहार र संस्कारलाई बदल्न सकिँदैन, तबसम्म समानता र समता कायम हुँदैन । समानता र समताविहिन अवस्थामा नेतृत्वका के कुरा गर्नु ? त्यसकारण अब नेतृत्वका लागि पहिला बानी बदलौं ।
प्रकाशित मितिः   १४ फाल्गुन २०७२, शुक्रबार ११:०१