बाटोमै म्याद गएका औषधि जाजरकोट पठाइयो
राष्ट्रिय समाचार समिति
जाजरकोट, १३ फागुन ।
यहाँको ५० शैयाको जिल्ला अस्पतालमा पनि सिटामोल समेत नपाउँदा बिरामी हैरान भएका छन् । दैनिक दर्जनौँ बिरामी उपचारका लागि आएपनि उपचार नहँुदा जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । खगेनकोट गाविस वडा नं ५ का अशोक बस्नेत पेट दुखेपछि यहाँको जिल्ला अस्पतालमा दुईदिन हिँडेर आइपुगे । अस्पतालमा उनलाई कम्पासको सहाराले जाँच भयो तर औषधि नभएपछि औषधि पसलमा पठाइयो । तर उनलाई त्यो बाहिर किनेको सिटामोलले निको भएन । जिल्ला अस्पतालमा उपचार हुने नदेखेपछि रुकुमको चौरजहारी गएर उपचार गरी घर फर्केको उनी बताउँछन् ।
ग्यास्ट्रिकका कारण पेट दुखेको पत्ता लागेपछि अहिले नियमित औषधि खाएर सन्चो भएको बस्नेतको भनाइ छ । खत्री जस्तै नायकवाडा–५ का रामबहादुर शाही पनि पेट दुख्ने समस्याले जिल्ला अस्पतालमा पुगे, डाक्टरलाई देखाउँदा डाक्टरले बाहिर किनेर आयोडेक्स लगाउन सल्लाह दिए तर सो औषधिले उनलाई खासै काम गर्न नसकेपछि नेपालगन्ज गएको र त्यहाँ भिडियो एक्स–रे गरेर अहिले नियमित औषधि खाएपछि सुधार भएको छ । सामान्य रोगको उपचार जिल्ला अस्पतालमा नहुँदा र सिटामोलसम्म अस्पतालमा नपाउँदा यहाँका स्थानीयवासी हैरान भएका छन् । जिल्ला अस्पतालमा ७२ प्रकारका औषधि पाइने भने पनि यहाँको जिल्ला अस्पतालमा अहिले सिटामोलसम्म नपाउँदा निकै समस्या परेको छ ।
क्षेत्रीय कार्यालय र स्वास्थ्य विभागले म्याद गएका औषधि पठाएका कारण औषधिको चरम अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले बताए । म्याद गएको औषधि बिरामीलाई दिनेबेलामा नष्ट गर्नुपर्ने बाध्यता रहेको छ । नयाँ औषधि खरिद प्रभावकारी नहुँदा थप समस्या आएको छ । जनस्वास्थ्य प्रमुख राजेन्द्र जिसी जिल्ला बाहिर रहेका तर निमित्त कसैलाई नछोड्दा प्रशासनिक कामसमेत प्रभावित भएको छ । जिल्ला अस्पतालमा राम्रो भिडियो एक्सरे, ल्याब सेवा, इसिजी सेवा लगायतका दैनिक अति आवश्यक सेवाहरू जिल्ला अस्पतालमा उपलब्ध नभएपछि यहाँका गरिब जनसाधारण जिल्ला बाहिर गएर महँगो स्वास्थ्य सेवा लिन बाध्य भएका छन् ।
सामान्य सेवा प्रवाहमै समस्या
जाजरकोटको जिल्ला अस्पताललाई गत असोजमा १७ शैयाबाट बढाएर ५० शैया बनाए पनि आवश्यक स्रोत सामग्री र भौतिक पूर्वधार नहुँदा निकै समस्या परेको जिल्ला अस्पतालका चिकित्सक ओम बिसीले जानकारी दिए । अहिले जिल्ला अस्पतालमा तीनजना डाक्टर भए पनि आवश्यक उपकरणको अभावमा उपचार सेवा प्रभावित हँुदै आएको छ । ५० शैयाको अस्पतालमा सात जनाभन्दा बढी विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सक रहनुपर्ने हुन्छ । तर जिल्लामा एउटा पनि विशेषज्ञ नहँुदा स्थानीयवासी मर्कामा परेका छन् ।
जिल्ला अस्पतालमा विगत १० महिनादेखि टेलिमेडिसिन सेवासमेत बन्द हुँदा विशेषज्ञ सेवासमेत बन्द भएको छ । आवश्यक विद्युत् आपूर्ति नहुँदा सादा एक्स–रेसमेत बेलाबेलामा बन्द हुँदै आएको छ । नाममा मात्र ५० शैया बनाएर सरकारले जाजरकोटका नागरिकलाई ढाँटेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए ।
स्वास्थ्य संस्थाका भवनको अवस्था चिन्ताजनक
जिल्लाका १० ठाउँमा रहेका स्वास्थ्यसंस्था जीर्ण भएपनि आवश्यक मर्मत नहँुदा स्थानीयवासी हैरान भएका छन् । जिल्ला अस्पतालका भवन निर्माण कार्य गरिरहेका ठेकेदारले बीचमै छाडेर हिँडेपछि पाँचवटा भवन अलपत्र अवस्थामा पुगेका छन् । ती भवनमा राखिएका काठ किराले खाएर जीर्ण भएका छन् । ढिमे, दशेरा, दल्ली लगायतका ठाउँका स्वास्थ्य संस्थाका भवन ठेकेदारको लापरबाहीका कारण तोकिएको मितिमा निर्माण नहुनाले बिरामीलाई उपचार गर्ने ठाउँ नै नहुँदा मुस्किल हुँदै आएको छ । ठेकेदारलाई जतिसुकै ताकेता गरे पनि निर्माण कार्यको गति नबढाएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।
विद्युत समस्याले सेवामा बाधा
जिल्ला अस्पतालमा भरपर्दो विद्युतलाइन नहुँदा बिरामीलाई अक्सिजन दिनसमेत कठिनाइ हुँदै आएको छ । भएका स्रोत सामग्री पनि विद्युत आपूर्तिमा समस्या हँुदा सञ्चालनमा बाधा पुग्दै आएको छ । जिल्लाका ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा विद्युत नहुँदा सोलार जडान गरी दिइने सेवासमेत प्रभावकारी हुन सकेको छैन ।
जडान गरिएका सौर्य ऊर्जा उपकरण बेलाबेला मर्मत सम्भार नहँुदा सोलारले काम गर्न छाडेका छन् । सोलारले काम गर्न छाडेपछि सल्लीको दियालो या मैनबत्तीको सहारासमेत लिनुपरेको नायकवाडा उपस्वास्थ्य चौकीका गणेश खड्काले जानकारी दिए । स्रोत साधनको अभाव यहाँका दूरदराजका स्वास्थ्य संस्थामा उत्तिकै रहेको छ ।
५० शैयाको अस्पतालमा तीन जना मात्र
जिल्ला अस्पतालमा कागजमा कार्यरत गराइएका डा. धनिकलाल यादव विगत लामो समयदेखि अस्पतालको सम्पर्कमा रहेका छैनन् । स्वास्थ्य विभागले निज यादवलाई कारबाही पनि नगर्ने र अस्पतालमा हाजिर गराउन नसक्दा विगत १३ वर्षभन्दा बढी अस्पतालमा दरबन्दी ओगट्ने काममात्र भएको छ । अहिले जिल्लाका विभिन्न ठाउँमा करिब २९ वटा स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेको छ । जिल्ला अस्पतालमा मात्र ५० शैया बन्नका लागि चाहिने पूरै दरबन्दी खाली रहेको छ । जिल्ला अस्पतालमा अहिले तीनजना मात्र चिकित्सक रहेका छन् । कार्यालय प्रमुख राजेन्द्र जिसी अधिकांश समय जिल्ला बाहिर हुने र अन्य दुईजना चिकित्सक अध्ययनका लागि बाहिर नै भएका कारण जिल्ला अस्पतालमा तीनजना मात्र चिकित्सक रहेका छन् ।
स्वास्थ्य संस्था नहुँदा सास्ती
सरकारले निःशुल्क भनेका सबै औषधि स्वास्थ्य संस्थामा नपाउँदा दुःख गरेर गरिबीको जालो तोड्नेहरू पीडित भएका छन् । बिरामी उपचार गर्ने अनुमति नै नपाएका औषधि पसलले बिरामी जाँच गरी तोकिएको मापदण्डभन्दा कडा डोजको औषधि प्रयोग गर्दा स्वास्थ्य संस्थाको औषधिले काम नगरी स्थानीयवासी हैरान भएका छन् । औषधि पसलको नियमित अनुगमन गर्ने निकायको लापरबाहीले प्रतिबन्धित औषधिसमेत खुलेयाम बिक्री वितरण गरेको पाइएको छ । यहाँका ग्रामीण भेगका महिलाले नियमित गर्भजाँच पनि गर्न नपाएको बताएका छन् । स्वास्थ्य संस्था आउनजान मात्र एक दिनभन्दा बढी लाग्ने भएका कारण नियमित सुत्केरी जाँच गर्न नपाएको खगेनकोट–९ मंसिरीकी पुतली सिंहले जानकारी दिए । मंसिरीका मात्र होइन जिल्लाको नायकवाडाको धुम, जिरी, भगवतीको सिउन, रग्दाको ध्यारगाउँ, रावतगाउँ, बानियाँ गाउँ, दहलगायतका दुई दर्जनभन्दा बढी ठाउँका स्थानीयवासीले खोप, गर्भजाँच तथा औषधि पाएका छैनन् ।
सिटामोल लिनैका लागि पनि स्वास्थ्य संस्थामा दिनभरि हिँडेर पुग्ने तर त्यही पनि नपाएपछि जाजरकोटका ग्रामीण क्षेत्रका स्थानीयवासी मनभरी पीडा लिएर हिँड्नुको विकल्प नभएको यथार्थ यहाँ रहेको स्थानीयवासी बताउँछन् । सामान्य बिरामी हुँदा पनि सहज उपचार नहुँदा त्यही रोग बल्झिदै अन्त्यमा ज्यान गएका थुप्रै उदाहरण भएको रामीडाँडाका नागरिक अगुवा नरबहादुर गिरीले बताए । ‘जब पर्छ राती, अनि बुढी ताती’ भनेझँै जाजरकोटमा ठूला–ठूला महामारी फैलिएपछि सरकारले हेर्ने तर पहिले नै प्रभावकारी स्वास्थ्य सेवा दिनतिर नलागेको स्थानीयवासीको आरोप छ ।
प्रकाशित मितिः १४ फाल्गुन २०७२, शुक्रबार ११:०४
साझा बिसौनी संवाददाता ।