तिहारको रौनकसँगै महँगीको मार

सुर्खेत: यस वर्षको तिहार सुरु भइसकेको छ । तिहारको रौनकले गाउँदेखि सहरसम्म चहलपहल बढाएको छ । केही दिनयता बजारमा किनमेल गर्नेको भिडभाड बाक्लो छ । भर्खरै दसैँलाई बिदाइ गरेका उपभोक्ताहरू फेरि लक्ष्मीपूजा र भाइटीकाका दिनमा आवश्यक पर्ने सामान खरिद गर्न जुटेका छन् । गाउँघर फर्कने र किनमेल गर्नेको घुइँचोले तिहारको रौनकता बढाएको छ । तिहारमा प्रयोग हुने सामग्रीले बजारका पसलहरू झकिझकाउ देखिन्छन् । यो समयमा झिलिमिली बत्ति, माला, भाइमसला तथा दैनिक उपभोग्य वस्तुहरूको माग पनि अधिक हुन्छ । यसैबेला हरेक सामानको भाउसमेत बढ्ने गरेको छ । कारोबार बढी हुने चाडपर्वका बेला बजार भाउ पनि आकाशिने गरेको हो । यसपटक पनि उपभोक्ताहरू महँगीको मारमा परेका छन् । तिहारमा चाहिने अत्यावश्यक वस्तुको मूल्य हरेक वर्ष बढ्दै गएको व्यवसायिहरू बताउँछन् ।
कर्णाली प्रदेशकै ठूलो व्यापारिक केन्द्र वीरेन्द्रनगर बजारमा तिहारले चहलपहल थपिएको छ । प्रदेश राजधानीको बजार भएकाले पनि यहाँ किनमेल गर्नेको धेरै भिड लाग्छ । तिहारका लागि लत्ताकपडा, माला, मसला, दुनाटपरी, रंगोलीलगायत सामानले बजार भरिभराउ भएका छन् । वीरेन्द्रनगर बजारमा बाहिरी जिल्लाहरूबाट समेत ग्राहकहरू आउने गरेका छन् । शनिवार वीरेन्द्रनगर बजारमा भेटिएकी जाजरकोटकी पानसरा गौतमले आफू तिहारका लागि चाहिने सामान किन्न आएको बताइन् । उनीसँगै आठ÷दश जना छिमेकी पनि किनमेलका लागि यहाँ आएका छन् । ‘उताभन्दा सस्तो पाइएला भनेर आएका थियौँ,’ गौतमले भनिन्, ‘यता झन हरेक सामान महँगो रहेछ ।’ चाडपर्वमा बजार भाउ ह्वातै बढ्दा निकै समस्या हुने गरेको उनले सुनाइन् ।
दसैँको भन्दा तिहारमा दैनिक उपभोग्य सामानको मूल्य झनै बढेको उपभोक्ताहरूको गुनासो छ । हरेक सामानमा परनिर्भर हुँदा पनि बजार भाउ आकाशिएको हो । तिहारका लागि आवश्यक भाइमसला, दुनाटपरी र मालासमेत भारतबाट बिक्रीका लागि ल्याइने गरिएको छ । आफ्नै गाउँघरमा सजिलै उत्पादन गर्न सकिने यस्ता सामानहरू पनि भारतीय बजारमा निर्भर हुँदा चाडपर्व निकै महँगिएका हुन् । यसले गर्दा चाडबाडको मौलिकतासमेत हराउँदै गएको जानकारहरू बताउँछन् । तिहारका लागि चाहिने सबै सामग्री बजारमै किन्न पाइने भएपछि गाउँमा सजिलै घर–आँगनमा उत्पादन गर्न सकिने फूलसमेत बजारबाटै खरिद गरेर लैजाने गरिएको छ । बजारमा प्लाष्टिकबाट बनाइएका मालाको व्यापार धेरै हुने गरेको हो । वीरेन्द्रनगरस्थित लक्ष्मी गिफ्ट पसलका सञ्चालक मनोजकुमार थापा विगत दश वर्षदेखि यस्तै माला बेच्दै आएका छन् । प्रत्येक वर्ष यस्ता मालाको मूल्य बढ्दै गएको उनी बताउँछन् । ‘मैले सुरुका वर्षहरूमा २० रूपैयाँदेखि एक सय रूपैयाँमा माला बेचेको हो,’ उनले भने, ‘अहिले तिनै मालालाई डेढसयदेखि एक हजारसम्म पर्छ ।’ प्लाष्टिकका ‐कृत्रिम) माला बजारमा जहाँत्यही सहजै उपलब्ध हुने भएकाले पनि यसप्रति उपभोक्ताहरूको आकर्षण बढेको हो । पछिल्ला वर्षहरूमा सुर्खेतमा मात्र नभइ कर्णालीका हिमाली जिल्लाका बजारहरूमा पनि यस्ता माला छ्याप्छ्याप्ती पाइने गरेका छन् । कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पासम्म प्लाष्टिकका मालाको प्रयोग बढ्दो छ । पछिल्ला वर्षहरूमा बजारमा हजारी फूलको माला बेच्न राखेपनि बिक्री हुनै मुस्किल हुन्छ ।
बुलबुले गिफ्ट कर्नरका सञ्चालक बेञ्जु थापाले यो वर्ष दश लाख मूल्य बराबरको प्लाष्टिकका माला खरिद गरेको जनाइन् । उनले भनिन्, ‘विशेष गरेर तिहारमा माला, भाइमसलाको बढी बिक्री हुन्छ । तीमध्ये अधिकांश सामान भारत र चीनबाट आयात हुन्छन् ।’ उनका अनुसार अझै पनि मागअनुसारका सामान आपूर्ति भने हुन सकिरहेको छैन । बजारमा मालाको माग अत्यधिक देखिएपछि पछिल्लो समय तिहारलाई लक्षित गरेर सयपत्री फूलको व्यावसायिक खेति गर्न थालिएको छ । वीरेन्द्रनगरका थुप्रै ठाउँमा फूलको व्यावसायिक खेति गरिए पनि बजारको मागअनुसार उत्पादन हुन सकेको छैन ।
वीरेन्द्रनगर–३ मा रहेको कर्णाली एग्रो मार्टले सयपत्री फूल तथा फूलका माला होलसेलमा बिक्री गर्दै आएको छ । गतवर्ष सयपत्री मालाको व्यापार राम्रो भएकाले यो वर्ष पनि निरन्तरता दिइएको सञ्चालक इन्द्रजीत सुनारले बताए । बजारको माग धेरै हुँदा पु¥याउनै हम्मेहम्मे परेको उनी बताउँछन् । सुर्खेतबाहेक उनले नेपालगञ्ज र धनगढीसम्ममा फूल निर्यात गरेर बिक्री गर्दै आएका छन् । बजारको माग बढेपछि केही युवाहरूले फूलको व्यावसायिक खेति सुरु गरेपनि ग्रामीण भेकमा समेत घर–आँगनमा सयपत्री र मखमली फूलहरू लगाउने चलन हराउँदै गएको छ । कर्णाली प्रदेशका अधिकांश जिल्ला फूलमा आत्मनिर्भर छैनन् । यहाँ वार्षिक लाखौँ रूपैयाँका प्लाष्टिकका माला निर्यात हुने गरेका छन् । तिहारलाई लक्षित गरी यसपालि पनि बजारमा प्लाष्टिकबाट बनेका थरिथरिका माला भित्रिसकेका छन् । विशेष गरेर तिहारमा माला लगाउने चलन अनिवार्यजस्तै छ । तिहार मात्र नभइ पूजाआजा र सामाजिक संस्कारमा पनि फूलको प्रयोग धेरै नै हुने गरेको छ ।


रजनी याेगी ।