वीरेन्द्रनगरमा चलचित्र महोत्सव

सुर्खेत: वीरेन्द्रनगरमा यही कार्तिक १९ देखि २२ गतेसम्म चलचित्र महोत्सव हुने भएको छ । नेपालस्थित युरोपियन युनियनको डेलिगेशनले ११औँ नेपाल युरोपेली युनियन चलचित्र महोत्सव पहिलोपटक सुर्खेतमा आयोजना गर्न लागेको हो । चलचित्र महोत्सव मध्यपश्चिम विश्वविद्यालयको कुइनेपानीस्थित सेमिनार हलमा आयोजना गरिने भएको छ । निःशुल्क हेर्न सकिने महोत्सवमा पाँच युरोपियन र तीन वटा नेपाली चलचित्र प्रदर्शन गरिनेछ ।
‘दुई वर्षको अन्तरालपछि सिनेमा हलमा फेरि जान पाउनु र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै तीन नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित भएका छौँ,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेशनकी कार्यवाहक प्रमुख जोयेल हिभोनेटले भनिन् । उनले सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहने भएकाले यसले संस्कृति आदानप्रदानलाई प्रवद्र्धन गर्ने बताइन् । त्यसका साथै जीवनलाई प्रभावित पार्ने सवालहरूलाई हामी कसरी हेर्छौं भन्ने हाम्रो बुझाइलाई समृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम भएको उनको भनाइ छ । १३ युरोपियन चलचित्रमध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण्ड लिली’मा नेपाली सब्टाईटल हुनेछन् । चलचित्र महोत्सवका आकर्षणहरूमध्ये एक ‘ऐना झ्यालको पुतली’ हो । यो नेपाली कथानक चलचित्रले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको छ ।
महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी छन् । किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स्’ उत्सवमा देखाइने छन् । महोत्सव अन्तर्गत चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित तीन पूरक क्रियाकलापहरूको पनि आयोजना गरिनेछ । चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकमीहरूलाई लागि मास्टर क्लास सञ्चालन गर्ने बताइएको छ । चलचित्रकर्मी बिडारीले कात्तिक २२ गतेको पहिलो प्रहरमा नै फिल्म बनाउन चाहिने कथादेखि त्यसलाई खिच्ने तरिकासम्मको बारेमा छलफल गर्ने जानकारी दिए ।
प्रकाशित मितिः ६ कार्तिक २०७९, आईतवार ०५:०२
साझा बिसौनी ।