चार करोड बढी कारोबार
सुर्खेत: धनन्जय बहुउद्देशीय सहरकारी संस्था लिमिटेड वीरेन्द्रनगरको १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार भएको साधारणसभामा संस्थाले आर्थिक वर्ष २०७८÷०८९ मा गरेका कार्यक्रम तथा उपलब्धीको विवरण सार्वजनिक गरिएको छ । उक्त सहकारी संस्थाले स्थापना भएदेखि गत आर्थिक वर्षसम्ममा चार करोडभन्दा बढी कारोबार गरेको छ । हालसम्म चार करोड १९ लाख ५२ हजार ६ सय ६३ रूपैयाँ बराबरको कारोबार भएको संस्थाका कोषाध्यक्ष दयाराम पंगालीले जनाए । उनले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कारोबार समग्रमा १३ प्रतिशतले वृद्धि भएको जानकारी दिए । संस्थाले आर्थिक वर्ष २०७९/०८० मा दिगो विकासको लक्ष्य प्राप्तिमा सघाउ पुग्नेगरी नेपाल सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई टेवा पु¥याउने गरी कार्यक्रमहरू सञ्चालन गरेको बताइएको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक सम्मान, हौसला, भरोसा तथा उत्प्रेरणा कार्यक्रम सञ्चालन गरिएका हुन् । त्यस्तै, विपद् व्यवस्थापन, कृषि पशु व्यवसाय प्रवद्र्धन योजना, सुशासन तथा संस्थागत विकासजस्ता कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष भलाराम पंगालीले जनाए ।
साधारसभाका प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले सहकारी संस्थाले उत्पादनमुखी योजना बनाउनुपर्नेमा जोड दिएकी थिइन् । सहकारीले शेयर सदस्यहरूलाई स्थानीय उत्पादनमा जोड दिन प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ थियो । साधारणसभामा जनहितकारी सहकारी संस्थाका अध्यक्ष हरिहरनाथ योगीले सहकारी संस्थाहरू नीति, नियम र विधानअनुसार चल्नुपर्ने बताए । साधारणसभाले उक्त सहकारीको नयाँ सञ्चालक समिति पनि चयन गरेको छ । संस्थाले ११ सदस्यीय नयाँ सञ्चालक समिति बनाएको हो । अध्यक्षमा भलाराम पंगाली, उपाध्यक्ष डिला धमला, सचिव देवेन्द्र शर्मा, कोषाध्यक्ष दयाराम पंगाली चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा यामप्रसाद शर्मा, हरिभक्त पंगाली, प्रकाशकुमार सापकोटा, भरतकुमार पन्त, शंकर रिजाल, चन्द्रा भण्डारी न्यौपाने र यामुना चालिसे चयन भएका छन् । मणिराम लामिछानेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति बनाइएको छ । जसको सदस्यमा ओमप्रसाद शर्मा र कृष्णप्रसाद जैसी रहेका छन् ।
प्रकाशित मितिः ६ कार्तिक २०७९, आईतवार ०५:०१
साझा बिसौनी ।