पूर्वाधार विकासको चुनौती

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हालै सम्पन्न भयो । यो प्रतियोगितामा कर्णाली प्रदेशले दुई स्वर्णपदकसहित कूल १८ पदक हात पार्न सफल भयो । यद्यपि पदक तालिकामा भने कर्णाली सबैभन्दा पछाडि रह्यो । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि कर्णाली अन्तिममा थियो । यद्यपि अघिल्लोको तुलनामा यसपटक पदक संख्या बढाएको छ । यस हिसाबले यसपटकको नतिजा विगतको भन्दा सुधार भएको मान्न सकिन्छ । आठौँ राष्ट्रिय खेलकुदमा प्रदेशले १० वटा पदक मात्रै जितेको थियो । यो पटक पनि अपेक्षित लक्ष्यअनुसार कर्णालीले पदक ल्याउन सकेन । गएका वर्षहरूभन्दा खेलकुदको अवस्था सन्तोषजनक बन्दै गएपनि अपेक्षित नतिजा भने निकाल्न नसकिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । परिषद्ले यसपटक चार स्वर्ण, आठ रजत र २१ वटासम्म कास्य पदक जित्ने आकलन गरिएको थियो । अपेक्षाभन्दा झन्डै आधाजस्तो पदक जितेर कर्णालीले चित्त बुझाउनु परेको हो ।

पदकको अपेक्षा गरिरहँदा यहाँको खेल क्षेत्र कसरी अघि बढिरहेको छ भन्ने कुरालाई पनि ध्यान दिनुपर्ने हुन्छ । सम्भावना बोकेका खेलाडीहरू हुँदाहुँदै पनि खेल पूर्वाधार तथा दक्ष प्रशिक्षकको कमी, खेलाडिको पेसागत सुरक्षा र प्रोत्साहन गर्नेजस्ता नीतिको अभाव हुँदा कर्णालीले खेलकुदमा फड्को मार्न सकेको छैन । अन्य प्रदेशको तुलनामा यहाँको खेलकुद नतिजा निकै कमजोर छ । खेलकुदका लागि उपयुक्त वातावरण बनिनसकेको अवस्थामा केही खेलाडिहरूले भने आफ्नै बलबुतामा अब्बल प्रदर्शन गरिरहेका छन् । उनीहरूले अभावका बीच पनि विभिन्न विधामा पदक जित्ने गरेका हुन् । यसबीच आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गरिने भएको छ । दुई वर्षको अन्तरालमा हुने प्रतियोगिताको आउँदो श्रृंखला कर्णालीमा आयोजना गरिने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । यसले कर्णालीलाई चुनौतीसँगै अवसर पनि दिएको छ । आगामी प्रतियोगिताका लागि खेल पूर्वाधारको विकासमा जोड दिइएको छ । सोही प्रतियोगितालाई मध्यनजर गरेर प्रदेश गौरवको रंगशाला निर्माणको कामलाई तीव्र पारिएको छ ।

कर्णालीका लागि सबैभन्दा प्रमुख चुनौती खेल पूर्वाधारको हो । यहाँ पर्याप्त पूर्वाधार छैन । यद्यपि, विकास गर्ने प्रयास भने भयरहेको छ । वीरेन्द्रनगरमा निर्माणधीन अन्तर्राष्ट्रियस्तरको रगंशालाको हालसम्म काम ४० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत हुने ३६ प्रकारका खेलमाहरूमा २२ वटा खेल सुर्खेतमै सञ्चालन गरिने छ भने बाँकी दैलेख, जुम्ला र जाजरकोटमा हुनेछन् । ती जिल्लाहरूमा पनि खेलकुदका पूर्वाधार विकासमा ध्यान दिन जरुरी छ ।

प्रकाशित मितिः   ६ कार्तिक २०७९, आईतवार ०५:०३