प्रदेश ६ का चुनौती र सम्भावना

नेकपा (एमाले) ६ नम्बर प्रदेश संगठन कमिटीले गत मंसिर १७ र १८ गते सुर्खेतमा प्रदेशस्तरीय बृहत् कार्यकर्ता भेला गरी ‘प्रदेशको विकास तथा समृद्धिको प्रारम्भिक घोषणापत्र’ सार्वजनिक ग¥यो, ‘नेकपा (एमाले) को उद्घोष, सुन्दर र समृद्ध ६ नम्बर प्रदेश !’ ‘आफ्नो प्रदेश आफैं बनाऔं, विकास र समृद्धिको ढोका खोलौं !’ भन्ने मूल नाराका साथ यो घोषणापत्र सार्वजनिक गरियो । यस घोषणाले चुनौतीको पहाड बोकेर सम्भावनाको ढोका खोल्ने प्रयास गरेको छ, प्रदेशभित्रको । देशको एक जिम्मेवार दलको प्रदेश कमिटीभित्र समृद्धिको बहस चलाएको छ भने अन्य दललाई समेत एक नमुना प्रस्तुत गरेको छ । यसले नेपाली राजनीतिको वर्तमान कार्यभारप्रति इमान्दार प्रयत्नको थालनी गरेको छ ।

यस प्रदेशको धरातलीय यथार्थलाई आत्मसात गर्दै चुनौतीलाई अवसरका रूपमा उपयोग गरेर विकासको ‘मोडालिटी’ बनाउन सकेमा त्यसलाई सम्भावनामा परिणत गर्न सकिनेछ ।

प्रदेशको वर्तमान अवस्था
६ नम्बर प्रदेशको क्षेत्रफल ३१ हजार आठ सय ७३ वर्ग किलोमिटर छ । जुन देशको कुल क्षेत्रफलको २१.६६ प्रतिशत हुन आउँछ । २०६८ को जनगणना अनुसार यस प्रदेशको कुल जनसंख्या १६ लाख २३ हजार ६ सय २ छ । यो देशको कुल जनसंख्याको ६.१२ प्रतिशत हो । मानव विकास सूचकांक ०.४०९ रहेको यस प्रदेशको साक्षरता दर ६५ प्रतिशत छ । यो देशको कुल साक्षरता दरभन्दा २३.६ प्रतिशतले कम हुन आउँछ । त्यस्तै प्रदेशको औसत आयु करिब ६० वर्षमात्र छ । यो देशको औसत आयुभन्दा ११ वर्षले कम हुन आउँछ । यहाँका नागरिकको प्रतिव्यक्ति वार्षिक आय करिब ८० हजार रूपैयाँ देखिन्छ । यो देशको औसत प्रतिव्यक्ति वाािर्षक आयभन्दा ७० हजार रूपैयाँले कम हुन आउँछ । कुपोषण, बाल मृत्यु दर र मातृ मृत्यु दर पनि यस प्रदेशमा अरु प्रदेशको भन्दा बढी नै छ । यी केही महत्वपूर्ण सूचकका आधारमा हेर्दा अहिलेको अवस्थामा यो प्रदेशको आर्थिक, सामाजिक र राजनीतिक सहभागिताका हिसाबले कमजोर रहेको प्रतित हुन्छ । भौगोलिक क्षेत्रफलका हिसाबले यो प्रदेश अन्य सबैभन्दा ठूलो छ भने प्रतिव्यक्ति आम्दानीका हिसाबले सात नम्बर प्रदेशभन्दा मात्र अगाडि छ । अरु सबै सूचकमा हालसम्म अन्य ६ वटै प्रदेशभन्दा यो प्रदेश पछाडि देखिन्छ ।

प्रदेशको नाम र राजधानी
प्रदेशको नाम र राजधानीका सम्बन्धमा नेपालको संविधानले व्यवस्था गरे अनुरूप भविष्यमा कार्यान्वयनका लागि थप बहस आवश्यक होला । तर प्रदेशको वैज्ञानिक र वस्तुवादी आधार अंगीकार गर्ने हो भने ऐतिहासिक सन्दर्भ, कर्णाली सभ्यता, कर्णाली नदी बेसिनसमेतका आधार ध्यानमा राख्दा प्रदेश नम्बर ६ को नाम ‘कर्णाली प्रदेश’ राख्न उचित देखिन्छ । त्यसैगरी भौगोलिक अवस्था, भौतिक पूर्वाधार, जनताको सेवा सुविधालगायतका तथ्यलाई ध्यानमा राखेर प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा राख्दा न्यायोचित हुने देखिन्छ ।

प्रदेशका चुनौती
माथि उल्लिखित सूचकबाट यो प्रदेशमा चुनौतीका पहाड छन् भन्ने स्पष्ट हुन्छ । भौतिक विकासको दृष्टिबाट सबैभन्दा पछि परेको प्रदेश हो यो । सडक पुगेका जिल्लामा राम्रो पक्की सडक पुग्न सकेको छैन भने हुम्ला र डोल्पा जिल्ला अझैसम्म पनि सडक मार्गले छुन सकेको छैन । आधारभूत पूर्वाधारको समुचित विकास हुन नसक्नु यो प्रदेशको प्रमुख चुनौती हो । भौगोलिक विकटता र मानव बस्ती छरिएर रहनु यहाँको समानुपातिक विकासका लागि अर्काे ठूलो चुनौती हो । ‘देशभित्रै देश खोज्नुपर्ने’ अवस्थामा छ यो प्रदेश । भोकमरी, महामारी, उपचारको कमी, कुपोषण, प्राकृतिक प्रकोपमा परेर सित्तैमा मर्नुपर्ने ज्यादै कारुणिक दृश्यको नमुना पनि हो प्रदेश नम्बर छ । राज्यको आँखामा सधैं उपेक्षित रहनु र केन्द्रमा पहुँच स्थापित हुन नसक्नु यो प्रदेशको अर्को ठूलो चुनौती हो । सुर्खेत र सल्यानबाहेक अन्य कुनै पनि जिल्ला खाद्यान्नमा आत्मनिर्भर छैनन् । यो प्रदेशको दक्षिणतिर छिमेकी राष्ट्र भारतसँग जोडिने निकास विन्दुसमेत छैन । अर्कोतिर उत्तरतिरका नाकासमेत भरपर्दोरूपमा खुलेका छैनन् र तत्काल उत्तरी नाका खुलाउनुपर्ने चुनौती प्रदेशसामु छ । एकातिर केन्द्रबाटै कम बजेट विनियोजन हुने र अर्कोतर्फ विनियोजित बजेट पनि समयमै खर्च नभएर फ्रिज हुने समस्या थप चुनौती हो ।

प्रदेशका सम्भावना
विभिन्न चुनौतीका बाबजुद यस प्रदेशको गर्भमा विराट सम्भावना लुकेका छन् । तिनीहरूको अध्ययन, विश्लेषण, पहिचान र सही सदुपयोग गर्न सकेको अवस्थामा चुनौती सहजै निराकरण गर्न सकिने सम्भावना छ । यो प्रदेश जलस्रोतमा अत्यन्त धनी छ । ‘प्रदेशको गौरवः हाइड्रो हब’ नीति अवलम्बन गर्दै अघि बढ्न आवश्यक छ । देशको सम्पूर्ण सम्भाव्य जलविद्युत् क्षमतामा आधाभन्दा बढी विद्युत् ऊर्जा उत्पादनको क्षमता यही प्रदेशमा छ । यसको सदुपयोग गर्नसकेको खण्डमा प्रदेशकै काँचुली फेरिन सक्छ ।

प्राकृतिक सुन्दरता, ऐतिहासिक धार्मिक धरोहर, सांस्कृतिक सम्पदा, पर्या–पर्यटन यो प्रदेशका अमूल्य सम्पत्ति हुन् । यहाँ देशकै ठूलो र गहिरो रारा तालदेखि मानसरोवर कैलाशको मूलमार्ग, विभिन्न आकर्षक ताल र दह, हिमाल, झरना, गुफा, गुम्बा, मठमन्दिर, वेशभूषा, चाडपर्व, घरेलु प्रविधि आदि सम्पदाका कारण आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्न सक्नेछ । यस प्रदेशलाई जडिबुटीको राजधानी नै भन्न सकिन्छ । हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने धान, मकै, गहँु, फापर, जौ, स्याउ, सुन्तला, केरा, अम्बासमेत उत्पादन हुन्छ भने प्रदेशका विभिन्न स्थानमा चौंरी, भेडा, घोडा, भैसीं, गाई, बाख्रासमेत पशुपालन हुन्छ । साथै कस्तुरी, मृग, रेडपाण्डा, डाँफे आदि महत्वपूर्ण पशुपन्छीको बासस्थान पनि यही प्रदेश हो ।

यसैगरी यस प्रदेशको पशुपालन र कृषि उत्पादनलाई विविधिकरण र व्यावसायीकरण गर्न सकिने सम्भावना उत्तिकै छ । ‘आफ्नो प्रदेश, आफैं बनाऔं’ भन्ने उद्घोषका साथ प्रदेशको विकास तथा समृद्धि आफैले गर्न पाउने अवसरको उपयोग गर्न सकिने र उपस्थित सक्रिय जनशक्तिलाई प्रशिक्षित गर्दै प्राविधिक ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्न जरुरी छ । प्रदेशको विकासका लागि आर्थिक र सामाजिक रूपान्तरणको नेतृत्व गर्नसक्ने जनशक्ति उत्पादन पहिलो लक्ष्य हुनुपर्छ । यसरी विकासमा जनताको स्वामित्व र अपनत्व स्थापित गर्न सकिनेछ । यो प्रदेश जैविक विविधताको भण्डार हो । यसको सही व्यव्स्थापन गर्नसके विकासमा ठूलो योगदान पुग्न सक्नेछ । यहाँको विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायहरूमा लगानीको चासो बढिरहेकाले पनि त्यसलाई सदुपयोग गरेर भविष्यमा यहाँका ठूला आयोजना सञ्चालन गर्न सकिने पनि त्यत्तिकै सम्भावना बढेको छ । कर्णाली कोरिडोर, भेरी कोरिडोर, मध्य पहाडी पुष्पलाल राजमार्ग, अपर कर्णाली, भेरी–बबई डाइभर्सन, नलसिं गाड जलविद्युत् आयोजना, शारदा जलविद्युत आयोजना, तिला जलविद्युत् आयोजना लगायतका ठूला र मझौला जलविद्युुत् आयोजना पनि यस प्रदेशका विकास र समृद्धिका आधार बन्न सक्नेछन् । यहाँ प्रशस्त खानी र खनिज पदार्थ छन् । यहाँका मौलिक सीप, संस्कृति, रहनसहन, नाच गीत, स्थानीय बाली, उत्पादन आदि पनि यो प्रदेशलाई विकासतर्फ डो¥याउने महत्वपूर्ण साधन बन्न सक्छन् । उत्तरी छिमेकीसँग जोडिएका हुम्लाको हिल्सा, लाप्चा, चवाखोला र टाँके, डोल्पाको धो मोरिम्ला र मुगुको नाग्चे लाग्ना नाका खोल्ने र व्यवस्थित गराउने, तिनीहरूलाई सडक मार्गले जोड्ने काम पूरा भएमा पनि यस प्रदेशकै समग्र विकासमा धेरै ठूलो योगदान पुग्नेछ ।

(लेखक नेकपा एमाले हुम्लाका अध्यक्ष हुन् । )

साभार : नागरिक न्युजबाट

प्रकाशित मितिः   २१ पुष २०७३, बिहीबार १२:३०