‘मगर समुदायको संस्कृति जगेर्ना गर्नु मेलाको उद्देश्य हो’

jhakkad-pulamiयही पुस २७ गतेदेखि तीन दिनसम्म वीरेन्द्रनगरमा माघे संक्रान्ति मेला सञ्चालन हुँदैछ । नेपाल मगर संघ सुर्खेतको आयोजनामा मेला हुन लागेको हो । मेलाको उद्घाटन सभामुख ओनसरी घर्ती मगरले गर्ने आयोजकले जनाएका छन् । माघे संक्रान्तिको अवसर पारेर आयोजना हुने लागेको यो मेलालाई आयोजकले आफ्नो संस्कृतिको संरक्षण र मगरात स्वायत्त प्रदेश प्राप्तिको अभियानको रूपमा लिएका छन् । स्थानीय खुलामञ्चमा सञ्चालन हुने मेलाको तयारी र उद्देश्यको बारेमा सहकर्मी गीता थापाले मेला आयोजक नेपाल मगर संघका जिल्ला कोषाध्यक्ष झक्कडबहादुर पुलामीसँग कुराकानी गरेकी छन् । प्रस्तुत छ, कुराकानीको सारांश  :

मेलाको तयारी कस्तो छ ?
– हामीले मेलाको आवश्यक तयारी जारी राखेका छौं । मेलाको प्रचार–प्रसार गर्ने र सांस्कृतिक कार्यक्रमहरूको तयारी भइरहेको छ । मेलालाई सफल बनाउन हामीले विभिन्न उपसमितिहरूमार्फत् काम गरिरहेका छौं । समग्रमा भन्दा मेलाको तयारी लगभग पूरा भएको छ भन्दा हुन्छ ।

यो मेला किन आयोजना गर्नुभयो नि ?
– हामीले मेलाको आयोजना गर्नुको उद्देश्य भनेको मगर समुदायको भाषा, कला र संस्कृतिको जगेर्ना गर्नको लागि नै हो । माघी पर्व मगर जातिको मुख्य पर्व हो । यसको प्रवद्र्धन र संरक्षणका लागि हामीले मेलाको आयोजना गरेका हौं । पछिल्लो समयमा आउँदा नयाँ पुस्ताले मगरको प्रमुख पर्व कुन हो भन्नेसम्म बिर्सेको अवस्था छ । त्यसकारण पछिल्ला पुस्तालाई मगर समुदायको प्रमुख पर्व भनेको माघी नै भन्ने जानकारी दिनको लागि पनि मेलाको आयोजना गरेका हांै ।

दर्शकले मेलामा के–के देख्न पाउनेछन् ?
-मुख्यतया हाम्रो मगर संस्कृतिसँग सम्बन्धी नृत्य, गीत, भेषभूषा, पुर्खादेखि खेल्दै आएका खेलहरू, लोप हुन लागेका कौडा, सोरठी, झ्याउरे, सारङ्गी लगायत प्रस्तुतीहरू देख्न सकिनेछ । त्यस्तै मगर समुदायको खानपिनका स्टलहरू विशेष बाडा, तरुल, गिठ्ठा लगायतका खानाका परिकारहरू पनि पाइनेछ । मगर समुदायको पहिचान झल्कने संस्कृति नै मेलाको मुख्य आकर्षण हुनेछन् । जहाँ दर्शकलाई अवलोकन गर्न टिकट लाग्ने छैन ।

माघी मेला र मगर समुदायबीच के सम्बन्ध छ ?
-मगर समुदायको प्रमुख चाड भएकाले माघी मेलासँग गहिरो सम्बन्ध छ । हिन्दुहरूको ठूलो चाडपर्व दशैं, तिहार भएजस्तै मगर समुदायको पनि ठूलो पर्व माघी हो । त्यसैले यही माघे संक्रान्तिलाई विशेष तरिकाले मनाउने उद्देश्यले माघी मेलाको आयोजना गरेका हौं । सरकारले अन्य जातिको पर्वका बेला बिदा दिए पनि मगर समुदायको माघीमा सरकारले त्यति वास्ता गरेको छैन । मगर जातिको ठूलो पर्व के हो भन्ने अहिले सायद धेरैलाई थाहा पनि नभएको हुन सक्छ । त्यसैले मगर सुमदायको ठूलो पर्व माघे संक्रान्ति हो भनेर सबैसामु चिनाउनको लागि पनि यो मेला र मगर सुमदायको बीचमा सांस्कृतिक सम्बन्ध रहेको छ ।

यसरी वर्षमा एकपटक मेला सञ्चालन गर्दैमा मगर समुदायको उत्थान होला त ?
-यो मेला मगर समुदायको उत्थानको लागि भन्दा पनि पहिला मगर समुदायको कला, संस्कृति तथा भेषभूषाको संरक्षण गर्नको लागि गरिएको हो । पछिल्लो पुस्ताहरूलाई आफ्नो कला संस्कृतिका बारेमा जानकारी गराउन सकेमा मगर समुदायको उत्थानका लागि ती पछिल्ला पुस्ताहरूले नै कदम चाल्नेछन् । विस्तारै मगर समुदायको पहिचान बुझाउँदै गएमा पछि ठूलो महोत्सव नै सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।

मगर समुदायलाई राज्यको मूलधारमा पु¥याउन के गर्नुपर्ला ?
-मगर समुदायलाई राज्यको मूलधारमा पु¥याउनको लागि त राज्यको सिङ्गो संरचना नै बदल्नुपर्छ । राज्यभित्रको प्रणाली पूर्ण समानुपातिक हुनुपर्दछ । पहिचानसहितको संघीयता कार्यान्वयन हुनुपर्छ । तबमात्र मगर समुदायलाई राज्यको मूलधारमा पु¥याउन सकिन्छ । यस्तै राज्यले मगर समुदायका लागि विषेश अधिकार प्रदान गर्न आवश्यक छ । अर्कोतर्फ मगर समुदाय पनि अब एकताबद्ध हुँदै आफ्नो अधिकारको खोजीमा जुट्नुपर्ने बेला भएको छ ।

मगर संस्कृति र पहिचानलाई संरक्षण गर्न यहाँहरूले गरेका केही प्रयासहरू भन्न सक्नुहुन्छ ?
-हामीले मगर समुदायको संस्कृति र पहिचानलाई संरक्षण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गर्ने गरेका छांै । विभिन्न सभा, मेला लगायतका कार्यक्रमहरू गर्ने र पछिल्ला पुस्ताहरूलाई मगर समुदायको कला संस्कृति, भेषभूषाका बारेमा जानकारी दिने पनि गरेका छांै । मगर समुदायकै विभिन्न सांस्कृतिक कार्यक्रम, चलचित्र समेत निर्माण गरेका छौं ।

पछिल्लो पुस्ताले मगर संस्कृति भुल्दै गएको हो ?
-पछिल्लो पुस्ताले मगर संस्कृति भुल्दै गएको केही हदसम्म साँचो नै हो । त्यसैले हामीले अब पछिल्लो पुस्तालाई आफ्नो पहिचान के हो भनेर चिनाउनको लागि मेलाको आयोजना गरेका छौं । राज्यले पनि अन्य चाडपर्वको समयमा बिदा धेरै दिने र मगर समुदायको पर्वमा बिदा नदिने हुँदा पछिल्ला पुस्ताहरूले पनि अरुकै पर्वलाई आफ्नो पर्वको रूपमा मान्दै आएका छन् । अब राज्यले पनि मगर समुदायको पर्वमा अन्य पर्वमा जस्तै बिदा दिनुपर्छ । ता कि मगर सुमदायका पछिल्लो पुस्ताहरूले आफ्नो पहिचान सहज रूपमा चिन्न सकुन् ।

राज्यले मगर समुदायका लागि के गरोस् भन्ने चाहनुहुन्छ ?
-राज्यले समग्रमा राज्यको मूल प्रवाहमा आउने खालको संरचना निमार्ण गर्नुपर्छ । यसले मगर समुदाय पनि राज्यको मूलधारमा जान सकोस् । राज्यले सबै जातजातिलाई समान व्यवहार र हक दिनुपर्छ । अझ पछाडि परेको मगर समुदायलाई विशेष गरेर यी समुदायको कला संस्कृति, भेषभूषा लगायतमा विशेष जोड दिन आवश्यक छ । राज्यले मगर समुदायको लागि अन्य जातजाति सरह हरेक क्षेत्रमा विशेष अवसर दिनुपर्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
-अन्त्यमा म के भन्न चाहन्छु भने मगर सुमदायको यो महान पर्व माघी मेला सुर्खेतमा यही पुस २७ गतेदेखि हुन गइरहेको छ । यसमा सबै मगर समुदाय तथा अन्य जातजातिहरूलाई समेत सहयोग र साथ दिनुहुन अनुरोध गर्दछु । मेलामा स्थानीय कलाकारदेखि राष्ट्रिय कलाकारहरू समेत आउनेछन् । मेलामा सहभागिताका लागि म सबैलाई आग्रह गर्दछु ।

प्रकाशित मितिः   २१ पुष २०७३, बिहीबार १२:२७