मतदाता सञ्चारविहीन, उम्मेदवारका एजेण्डा प्रविधिमैत्री

प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचित त्यस क्षेत्रका सांसदहरूले पनि यही समस्यालाई मुख्य चुनावी एजेण्डा बनाएका थिए । तर, स्थानीयदेखि केन्द्रसम्म चुनिएका जनप्रतिनिधिले यसमा ध्यान नदिएको नागरिकहरूको गुनासो छ ।

सुर्खेत: दैलेखको गुँरास गाउँपालिकामा मोबाइल फोनको नेटवर्कसम्म भरपर्दो छैन । दूरीका हिसाबले प्रदेश राजधानीसँगै जोडिएको नजिकको पालिका हो यो । त्यस क्षेत्रमा नेपाल टेलिकमको टावरले राम्रो काम गर्दैन । सञ्चार सम्पर्कका लागि नेटवर्क खोज्दै अग्ला डाँडा खोज्नुपर्ने यहाँका बासिन्दाको बाध्यता छ । फोन सम्पर्क नहुने समस्याले स–साना कामका लागि पनि भौतिक रूपमै उपस्थित हुनुपर्छ । यतिसम्म कि पालिकाको केन्द्र रहेको रानीमत्तामा नै फोनको नेटवर्क छैन । जनप्रतिनिधिहरू पालिकाको कार्यालयमा हुँदा सञ्चार सम्पर्क गर्नै मुस्किल छ । उक्त स्थानीय तहका अघिल्लो कार्यकालका र हाल निर्वाचित सबैजसो जनप्रतिनिधिको चुनावी एजेण्डा भने सूचना प्रविधिमैत्री पालिका बनाउने र सञ्चारको पहुँच विस्तार एवम् सुधार गर्ने थियो । प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचित त्यस क्षेत्रका सांसदहरूले पनि यही समस्यालाई मुख्य चुनावी एजेण्डा बनाएका थिए । तर, स्थानीयदेखि केन्द्रसम्म चुनिएका जनप्रतिनिधिले यसमा ध्यान नदिएको नागरिकहरूको गुनासो छ । गुँरास गाउँपालिका–३ की सीता विक गाउँमा कोही बिरामी पर्दा एम्बुलेन्स बोलाउनसमेत समस्या हुने गरेको बताउँछिन् । उनको वडामा मोबाइल नेटवर्कले राम्ररी काम गर्दैन । उनी भन्छिन्, ‘हामीलाई सञ्चार सम्पर्कका साह्रै दुःख छ । स्वास्थ्य संस्था र प्रहरी चौकी नजिक छैनन् । केही स्वास्थ्य समस्या भइहाले हत्तपत्त खबर गर्नै कठिन हुन्छ ।’ यो पालिकामा अहिले सूचनाको भरपर्दो एकमात्र माध्यम भनेकै रेडियो बनेको छ ।

दैलेखको क्षेत्र नं. २ मा पर्ने दुल्लू नगरपालिकालाई २०७४ को चुनावमा स्थानीय तहदेखि प्रतिनिधिसभाका उम्मेदवारसम्मले प्रविधियुक्त नगर (स्मार्ट सिटी) बनाउने प्रतिबद्धता जनाएका थिए । त्यसका लागि इन्टरनेटको पहँुच विस्तार गर्ने उनीहरूका बाचा थिए । सबैतिर विद्युतको समेत पहुँच नभएको उक्त क्षेत्रमा यो योजना आश्वासनमै सीमित भयो । सडक सञ्जालसमेत भरपर्दो नहुँदा यहाँका नागरिकले निकै सास्ती खेप्दै आएका छन् । यसपालि पनि यस्तै एजेण्डा लिएर उम्मेदवारहरू मतदाताका घरदैलोमा पुगेका छन् ।

पश्चिम सुर्खेतका तीन वटै पालिकामा सञ्चार सम्पर्क गर्न कठिनाइ छ । यी पालिकाका धेरैजसो ठाउँमा मोबाइल फोनले राम्रोसँग काम गर्दैन । पञ्चपुरी नगरपालिका–२ का मनबहादुर खत्रीले पश्चिम सुर्खेतका बासिन्दाको सबैभन्दा ठूलो समस्या सञ्चार भएको बताए । त्यहाँ नेपाल टेलिकमको टावरले सबैतिर टिप्दैन । घाम लागेन भने मोबाइलको टावर नै नहुने समस्या छ । खत्री भन्छन्, ‘कहिलेकाहीँ त महिनादिनसम्म नेटवर्क अवरुद्ध हुन्छ ।’ सबैका लागि अनिवार्य र सबैतिर सर्वसुलभ भइसक्दा पनि पश्चिमका नागरिकले अहिलेसम्म टेलिफोन सेवासमेत भरपर्दो पाउन नसकेको उनी बताउँछन् । खत्रीकाअनुसार यसअघिका सबैजसो उम्मेदवारले मत माग्दा यही मुद्दालाई प्रमुख एजेण्डा बनाएका थिए । मंसिर ४ मा हुने संसदीय निर्वाचनका लागि यतिबेला घरदैलो गरिरहेका उम्मेदारले पनि उही आश्वासन बाँडिरहेका छन् । गएका पाँच वर्षमा पश्चिम कुनै पनि भूगोलमा सञ्चार क्षेत्रको सुधारका लागि केही पनि काम हुन नसकेको खत्रीले बताए ।

पश्चिम सुर्खेतमा विकासका अन्य पूर्वाधारको पनि बिजोक छ । धेरै नागरिक अहिले पनि सडक पूर्वाधार र विद्युतको समेत पहुँचमा छैनन् । निर्वाचनका बेला सधैँ एजेण्डा बन्ने यी विषय निर्वाचित भएपछि नेताहरूले बिर्सिन्छन् । पञ्चपुरी नगरपालिका–३ की डिला चपाईं भन्छिन्, ‘अरु सुविधा त धेरै टाढाको कुरा भइहाल्यो, हामीले आधारभूत सेवासमेत पाउन सकेका छैनौँ ।’ उनका अनुसार गत असोजमा पञ्चपुरीमा झन्डै एक महिना नै मोबाइलको नेटवर्कले काम गरेन । विद्युत नहुँदा यस क्षेत्रका नागरिक अँध्यारोमा बस्न बाध्य छन् । गएको पाँच वर्षे कार्यकालमा नेताहरूले जनताको पक्षमा कुनै पनि काम गर्न नसकेको चपाईंले बताइन् । उनले भनिन्, ‘खानेपानी, बिजुली बत्ती, सडक र टेलिफोनको समस्या ज्युँका त्युँ छ । अहिले फेरि त्यही आश्वासन बोकेर उम्मेदवारहरू मतदाता फकाउँदै छन् ।’

२०७४ मा भएको तीन तहकै निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूले सूचना प्रविधिमैत्री बनाउने, चोक–चोक र सार्वजनिक स्थलमा इन्टरनेट सेवा ‐फ्रि वाइफाई) को प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उक्त प्रतिबद्धाअनुसार कुनै पनि क्षेत्रमा काम भएको छैन । अहिले उनै पुराना एजेण्डा लिएर पुनः उम्मेदवारहरू भोट माग्न थालेका छन् । दैलेख क्षेत्र नं. १ प्रदेशसभा ‘क’ बाट नेकपा ‐एमाले)का उम्मेदवार धर्मराज रेग्मी आफ्नो निर्वाचन क्षेत्र रहेका तीन वटै पालिकामा टेलिफोन सेवा प्रभावकारी बन्न नसकेको स्वीकार गर्छन् । उनी सोही क्षेत्रबाट अघिल्लो प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिसमेत हुन् । गँुराससहित तीन वटा पालिका उनको निर्वाचन क्षेत्रमा पर्छन् । त्यतिबेला उनले पनि टेलिफोनका टावर निर्माण, विद्युतीकरण, इन्टरनेटको पहुँच विस्तार र सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने बाचा गरेका थिए । तीमध्ये केही कामहरू भएको र बाँकी योजनालाई पूरा गर्न आफूले यसपालि फेरि उम्मेदवारी दिएको रेग्मीको दाबी छ ।

सुर्खेत क्षेत्र नं. २ प्रदेशसभा ‘ख’ मा नेकपा (एकीकृत समाजवादी) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका मोहनसिंह बडुवालको चुनावी एजेण्डा पनि सडकको स्तरोन्नती र सञ्चारको पहुँच विस्तारमा केन्द्रित छन् । पहिलो पटक संसदीय निर्वाचनको उम्मेदवार बनेका उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकलाई सूचना प्रविधिमा जोड्न इन्टरनेट सेवाको विस्तारमा पनि प्राथमिकता दिइने जनाए । ‘विगतमा जनताका अपेक्षा र आवश्यकताअनुसार थुप्रै कामहरू हुन सकेनन्, मलाई अवसर प्राप्त भए ती विषयलाई उच्च प्राथमिकता दिनेछु,’ उनी भन्छन् ।

प्रकाशित मितिः   ५ कार्तिक २०७९, शनिबार ०५:०७