महिला उम्मेदवार

प्रत्यक्ष प्रतिस्पर्धामा गोमा

आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भइसकेको छ । प्रत्यक्षतर्फ दलहरूले निकै न्यून महिलालाई मात्रै उम्मेदवार बनाएका छन् । कर्णाली प्रदेशमा त महिला उम्मेदवारको संख्या आधा दर्जनभन्दा पनि कम छ । प्रमुख राजनीतिक दलहरूबाट एकजना मात्रै महिला उम्मेदवार छिन् । उनी हुन्, गोमा गौतम कुँवर । नेकपा (माओवादी केन्द्र) ले उनलाई जुम्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

पढाइ छोडेर जनयुद्धमा

नेकपा(माओवादी)को नेतृत्वमा सशस्त्र युद्ध चर्किंदै थियो । युद्धको प्रभाव सुरुदेखि नै कर्णालीका जिल्लाहरूमा बढी थियो । जुम्ला पनि त्यसमध्ये एक हो । जुम्लाको तातोपानीमा जन्मिएकी गोमा त्यसको प्रभावबाट पर रहन सकिनन् । कक्षा ७ मा पढ्दै गर्दा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध भइन् । त्यतिबेला विद्यार्थीहरू पनि संगठित हुनुपर्छ, आफ्ना आवाजहरू उठाउनुपर्छ र समान हिसाबले सुविधा पाउनुपर्छ भनेर विद्यार्थी संगठनमा उनी लागेको बताउँछिन् ।

गोमा विद्यार्थी संगठनमा हुँदाहुँदै वाइसिएलको एरिया कमिटीको सचिव भइन् । ‘यो अन्यायको विरुद्ध हो । जहाँ शोषक, समान्तहरूले हामीलाई हेपचेप गरेका छन् । हामीहरू यसको विरुद्ध लागेका छौँ भनेर भनिन्थ्यिो । यही कुराले म प्रभावित थिएँ र मलाई राजनीतिमा तान्यो’ उनले भनिन् ।

वाइसिएलको सचिव भएपछि उनी प्रहरीको खोजीमा परिन् । उनलाई पक्राउ गर्न प्रहरी टोली गाउँसम्म पुग्थ्यो । उनी प्रहरीबाट बच्दै राजनीतिमा अघि बढिन् । परिवारका सदस्यले उनलाई राजनीति नगर्न पटक–पटक सम्झाउथे । तर उनले छोडिनन् । आफूलाई राजनीतिमै समर्पित गर्न अग्रसर भइन् ।

२०५६ सालबाट भने गोमा पूर्णकालिन रूपमा राजनीतिमा लागिन् । जुम्लामा पार्टी संगठनमै रहेर काम गरिन् । पार्टीले सञ्चालन गरेको ‘कर्णाली जनहातेमालो अभियान’ अन्तर्गत जुम्लासहित कालीकोट र दैलेख लगायतका जिल्लामा पुगिन् । द्वन्द्वको समयम जनयुद्धमै होमिएको दलमा आवद्ध भएर राजनीति गर्नु सजिलो कुरा थिएन । तर उनले यो चुनौतीलाई स्वीकारेर अघि बढिन् । पार्टीको एरिया सदस्य, जिल्ला कमिटी सदस्य, महिला संगठनको इन्चार्ज हुँदै पार्टीको केन्द्रीय सदस्य समेत भइन् । हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सदस्य छिन् । जनयुद्धताका उनले जनमुक्ती सेनाको राजनीतिक कमिसार भएर पनि काम गरिन् ।

जनयुद्धमै रहँदा उनको विवाह भयो । श्रीमान् पार्टीको जनमुक्ति सेनामा थिए । उनी संगठनमा रहेर काम गरिन् । विहेपछि पनि दुवैले पार्टीमै रहेर राजनीति गरे । शान्ति प्रक्रियापछि कर्णालीमा महिला संगठनको अध्यक्ष भइन् उनी । अहिले महिला संगठनको केन्द्रीय सचिवसमेत हुन् ।

युद्धमा लागेपछि पढाइ रोकियो । तर उनमा पढ्ने इच्छा राकिएको थिएन । कक्षा दश पढ्दै गर्दा पूर्णकालिन राजनीतिमा होमिएकी उनले शान्ति प्रक्रियामा आइसकेपछि एसएलसी दिइन् । अहिले उनी स्नात्तक तहमा अध्ययनरत् छिन् ।

संविधानसभा सदस्यदेखि राज्यमन्त्रीसम्म

२०७० सालमा संविधानसभा सदस्यको दोस्रो निर्वाचन भयो । उनी समानुपातिकतर्फबाट संविधान सभाको सदस्य भइन् । यति मात्र होइन, नेपाल सरकारको राज्यमन्त्रीसमेत भइन् । यसरी जुम्लाको कुनै विकट वस्तीबाट बाल्यकालमै विद्यार्थी राजनीति सुरु गरेकी गोमा जनयुद्ध हुँदै शान्तिपूर्ण राजनीतिको मूलधारसम्म आइपुगिन् ।

उनको राजनीतिक जीवन त्यति सजिलो भने छैन । यहाँसम्म आइपुग्न राजनीतिमा धेरै दुःख र चुनौतीहरू चिरेकी छिन् । आज पनि महिलालाई समान रूपमा हेर्न र ग्रहण गर्न नसकिरहेको समाजमा गोमाको राजनीतिक उदय सहज हुने कुरै भएन । त्यसमाथि कर्णालीको दुर्गम ठाउँमा जन्मिएकी, कुनै राजनीति पृष्ठभूमि नभएको परिवारबाट राजनीतिमा आउन उनलाई जनयुद्धले नै डो¥याएको थियो ।

संसदीय राजनीतिका चुनौती

त्रासदीपूर्ण जनयुद्ध लडेर आएकी उनलाई संसदीय राजनीति अझ चुनौतीपूर्ण लाग्छ । उनी भन्छिन्, ‘संसदीय राजनीति गर्न चुनौती छ । त्यसमाथि क्षमता हुँदाहुँदै महिलालाई तल्लो दर्जाको रूपमा हेरिन्छ । शारिरीक हिसाबले मुल्यांकन गरिन्छ । त्यसलाई चिरेर हिँड्न सजिलो छैन ।’

त्यसो त यसपटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी उनले सहज रूपमा उक्त टिकट पाएकी भने होइनन् । जिल्लाबाट तीन जनासहित गोमा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएकी थिइन् । तर असोज २३ गते मनोनयन दर्ता गर्ने दिनको बिहानसम्म पनि उनले टिकट पाउने निश्चत भइसकेको थिएन । अन्तिम समयमा मात्रै उनलाई उम्मेदवार बनाइएको थियो । ‘टिकट पाउनै चुनौती छ । टिकट पाइहाले पनि जित्छन् र ? भनेर प्रश्न गर्छन् । जिते पछि के गर्न सक्छन् र ? भनेर भन्छन् । यि सबै कुरामा हामीलाई चुनौती नै छ’ उनले अनुभव सुनाइन् ।

राजनीतिक दलहरूले प्रत्यक्षतर्फ निकै न्यून महिलालाई मात्रै उम्मेदवार बनाएका छन् । प्रमुख राजनीतिक दलहरूबाट केही अपवाद मात्रै छन् । तिनैमध्ये एक हुन् गोमा । उम्मेदवार सिफारिस गर्दा जिल्ला कमिटीले दुई नम्बरमा उनको नाम सिफारिस गरेको थियो । एक नम्बरमा पूर्व प्रदेशसभा सदस्य नरेश भण्डारीको नाम थियो । भण्डारीले नै टिकट पाउने चर्चा सर्वत्र थियो । गोमाको चर्चा नै थिएन । महिलालाई अविस्वास गर्ने प्रवृत्तिकै कारण उम्मेदवारका रूपमा समेत चर्चा नगर्ने गरिएको उनको बुझाइ छ । मनोनयन दर्ताको बिहान मात्रै उनको नाम टुँगो लागेको थियो । प्रत्यक्षतर्फ टिकट पाउँदा उत्साहित भएको उनले बताइन् । उनी मात्र होइनन्, त्यस क्षेत्रमा महिलाहरू पनि उत्साहित छन् । उनले भनिन्, ‘महिला, दलित, पछाडि परेका समुदायको मुद्दालाई उठाएर अघि बढेको पार्टीले ति मुद्दालाई सार्थकता दियो भन्ने बुझाई पनि छ ।’

नयाँ अवसर

संविधानसभा सदस्य भएर सबैका अधिकार समेटिएको संविधानमा हस्ताक्षर गर्दा उनी जति खुसी थिइन्, अहिले त्यसको कार्यान्वयन गर्ने समय आएको छ । अब फेरि संसद्मा प्रतिनिधित्व गरेर संविधानमा भएका व्यवस्थाहरूको कार्यान्वयनका लागि कानुन निर्माणमा सक्रिय भूमिका निभाउने उनको योजना छ । भनिन्, ‘महिला, दलित, पछाडि पारिएका वर्ग समुदायको मुद्दा लिएर जनयुद्धमा होमिएका थियौँ । जननिर्वाचितले संविधान बनाउनपर्छ भनेका थियौँ । जनताको छोराछोरी भएर, अझ कर्णालीको दुर्गम ठाउँबाट गएर सबैका अधिकार समेटिएर आफैले लेखेको संविधानमा हस्ताक्षर गर्दा अति खुसी लागेको थियो । अहिले पनि संविधानमा व्यवस्था भएका अधिकार कार्यान्वयन हुन सकेका छैनन् । अब संसद्मा गएर यि अधुरा विषयहरू कार्यान्वयन गराउन आवशयक कानुन निर्माणका साथै विकास र समृद्धि मेरो प्राथमिकता हुने छ ।’

विकासका दृष्टिले कर्णाली अझै पनि पछि परेको छ । हेर्दा साना र महŒवपूर्ण कामहरू पनि छन् । यहाँका नागरिकको जीवनस्तर सुधार हुन सकेको छैन । जनआकाँक्षा अनुसार काम हुन सकेको छैनन् । विकास र समृद्धिका लागि धेरै गर्न बाँकी रहेको बताउन गोमा प्रदेशकै समृद्धिका लागि आवाज उठाउने बताउँछिन् ।

 

प्रकाशित मितिः   ५ कार्तिक २०७९, शनिबार ०५:०३