कविता

कर्म योग्यता

उमालाल आचार्य

पश्चिमबाट उठेर घाम पूर्वतिर डुब्ने गरे
कतै फर्कन्थ्योकी मेरो बालापन,
तिलस्मी शक्तिले उल्टो गतिमा
केही गरि फर्किदिए त्यो बचपन
म तोडिदिने थिएँ बाबुको नियन्त्रण
फोडिदिने थिएँ गुरुजनको अनुशासन
पढ्ने थिइनँ पुस्तकहरू
लेख्ने थिइनँ अक्षरहरू
खोजी रहन्थें निरन्तर
मनमौजिको डुङ्गामा जीवन चलाउने बहाना
गर्दै गर्ने थिइनँ,
निरीह शिक्षक र कर्मचारी बनाउन खातिर
खण्डहर भविष्य देखाउने सरस्वतीको आराधना ।

जुनि सुधारेर सफलीभूत पार्न
मान मर्यादाका सबै बन्धन चुटाल्दै
हिड्ने थिएँ निष्कण्टक निश्फिक्री
षोडशी युवती नानीहरूका अघिपछि
समय परस्थिती बुझी अनुकुलता हेरि
बनेर पोख्त पारंगत अनुभवी शिकारी
घात लगाउने थिएँ भरपूर जोडले
जसरी झम्टन्छ मृगलाई बाघले ।

कथं कदाचित
कानुनले चाल पाई फन्दामा पारेका घडी
दुबै हात टाउकामाथि आकाशमा उचाली
सहर्ष अपराध स्वीकारी
निसंकोच दिनेथिएँ गिरफ्तारी
धुलोमा पुरियोस की हिलोमा गाडियोस
बाबु आमाको इज्जत प्रतिष्ठा
कुनै दाग र धब्बाको रत्ती प्रवाह नगरी
अघि बढाइ रहने थिएँ अभिष्ट चेष्टा
बा–आमाहरू नै बटुलुन्
उनका मनका दुःख कष्ट कथा र व्यथा
म त यता जेलका कैदि बन्दिहरूलाई
सुनाइ रहन्थेँ गौरवले आफ्नो वीर गाथा ।

कैद सजाय भुक्तान गरेपछि
कसले रोक्ला छेक्ला खुसी मनाउन
खुला आकाश हेर्न राजनीतिमा आउन
मेरो जेल जीवनलाई योग्यतामा भजाउन
चार भित्ताले घेरेको जेल घरमा बसि
खाइ मोटाएको जिन्दगीलाई मजबुत बनाउन
सिद्धान्त निष्ठा र नैतिकता
जसले जति धेरै मिल्काउन सक्यो रछानमा
प्रतिष्ठा झन अग्लिंदै र चुलिंदै गयो समाजमा ।

आदरणीय जनसमुदाय
आज निवेदन गर्दछु
राजनीतिमा आउनुको मेरो मनसाय
गरिब निमुखाको दुःख देख्न सकिन
द्रवीभूत भएँ, सदैव मातृभूमिको भलो चिताएँ
व्यवस्थाले मेरो चेतनाको आगो निभाउन खोज्दा
जवानीको उर्वर समय जेलमा बिताएँ
माटो समाइ प्रण गर्दछु देशका खातिर
शरीरमा एक मुठि रगत रहुन्जेल लडिरहने छु
चाहे हात पाउ टुक्राटुक्रा किन नपरुन्
निर्बल तागतले घर्षदै घर्षदै अघि बढिरहने छु ।
झुटको भाषणमा भ्रम यसरी घोलेर मिसाइ
राजनीतिको गर्तमा कुटनीतिको कारोबार
चलाउने थिएँ निरन्तर लगानी बिनाको व्यापार
दुनियाँलाई छल्न र छक्याउन केको आइतवार ।

खुसीले चन्दा दिनेसँग हात मिलाउँदै
चन्दा दिन आनाकानी गर्नेलाई खुकुरी उद्याउँदै
मनग्ये छ्यालव्याल खर्च सामल जुटाएर
सर्वत्र नमस्कृत हुँदै उम्मेद्बारी दिने थिएँ
पार्टीसँग पार्टीकै महंगो टिकट किनेर
चुनाव जित्न गाह्रो साह्रो भए मतपत्र च्यातेर
द्रव्यपिचास लोभीपापी न्यायमूर्तिका
तरल नैतिकता किनेर
टन्टा झन्झट र कपट मुछेर
प्रतिस्पर्धीकै भाग हाल्थें उल्झन र तनाव
ऐन मौका हेरेर बरु मतपेटिका नै फेरेर
साम दान दण्ड भेदका नीतिले जितिदिन्थेँ चुनाव ।

हत्या हिंसा बलात्कार
देशको राजनीतिमा न्यूनतम् योग्यता
बेइमानी दुराचार नैतिकपतन
अग्रगमनका लागि बिशेष खास क्षमता
वरपर र पर परका छिमेकीहरूको
गुप्ती आदेश शिरोधार्य गरि
बिचौलियाहरूको बलियो विश्वासमा परि
म बदल्ने थिएँ सारा सपना
जसरी बदलेका छन राजनीतिक व्यापारीले
सुख सयल आफ्नो भौतिक जीवनमा
घुन पुत्ला नलाग्ने चरा मुसाले नखाने
राजनीतिको खेती जोखिम बिनाको लगानी
उपद्रव गरेको जेलमा परेको सर्व थोक
कर्म योग्यतामा गाँसिए बन्ने थिएँ भाग्यमानी ।

प्रकाशित मितिः   ५ कार्तिक २०७९, शनिबार ०५:०२