अपाङ्गताको पहिचानमा चुनौती

सुर्खेत: वीरेन्द्रनगर नगरपालिका–११ धुलियाविटकी कमला सुनारलाई आफ्नो बच्चाले पूर्णरूपमा आँखा देख्दैन भन्ने धेरैपछि मात्रै थाहा पाइन् । आठ वर्षका छोराले राम्रोसँग पढ्न लेख्न नसकेपछि आँखामा समस्या भएको पहिचान भयो । कमला भन्छिन्, ‘विद्यालय नपठाउँदासम्म हामीलाई छोराले आँखा देख्दैन भन्ने लागेकै थिएन ।’ विद्यालयमा शिक्षकहरूले पढाउँदा अक्षर पहिचान गर्न नसकेपछि उनको समस्या खुलेको हो । कमलाका छोरा रमित शिव माध्यमिक विद्यालय धुलियाविटमा कक्षा तीनमा अध्ययन छन् । अहिले उनलाई विशेष कक्षामा भर्ना गरिएको छ । शिव माध्यमिक विद्यालय धुलियाविटमा ४५ जना बालबालिकामा अपाङ्गताको प्रारम्भिक पहिचान गरिएको थियो । तीमध्ये आठ जना बालबालिकामा कार्यगत सिमितता देखिएको छ । तीन जनामा दृष्टिसम्बन्धी समस्या रहेकाले चस्मा वितरण गरिएको छ । सबैका लागि शिक्षा कार्यक्रमले समस्या पहिचान गरेर बालबालिकालाई चस्मा वितरण गरेको हो ।

वीरेन्द्रनगरमै रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खजुरामा शिशुु कक्षादेखि तीन कक्षासम्म ८७ बालबालिहरूमा अपाङ्गताको प्रारम्भिक परिचान गरिएकोमा संकाको दायरामा १२ जना विद्यार्थी परेका थिए । कर्णाली प्रदेशमा सबैका लागि शिक्षा कार्यक्रमले अपाङ्गताको पहिचानका लागि ‘पाइलट प्रोजेक्ट’ का रूपमा विभिन्न विद्यालय र समुदायका चार वर्ष काम ग¥यो । यो कार्यक्रमले अपाङ्गता भएका बालबालिको शैक्षिक सहजताका लागि काम गर्दै आएको छ । कार्यक्रम निकै प्रभावकारी बन्दै गएको विशेष कक्षा शिक्षक डीलकुमारी ढकालले बताइन् । ‘बालबालिकाको प्रारम्भिक अपाङ्गता पहिचान गरेर विशेष कक्षा सञ्चालन भएका छन्,’ उनले भनिन्, ‘यसको निरन्तरता आवश्यक छ ।’ जसले गर्दा अपाङ्गता भएका बालबालिकाको सिकाइमा निकै सहजता भएको उनको भनाइ छ ।

वीरेन्द्रनगर–७ मा रहेको श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयका शिक्षक सुरेश खड्काले पनि सबैका लागि पढाइ कार्यक्रमको प्रभाव राम्रो देखिएको जनाए । देखिने मात्र नभइ नदेखिने खालका अपाङ्गताका समस्याहरू पनि पहिचान गरी उपचार भइरहेको उनी बताउँछन् । यो कार्यक्रममार्फत मानसिक अपाङ्गता भएका बालबालिकालाई पनि पहिचान गर्न सहज भएको उनको भनाइ छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशभर विभिन्न प्रकृतिका गरी २४ हजार अपाङ्गगता भएका बालबालिका छन् । हाल ११ हजार बालबालिका मात्र विद्यालयको पहुँचमा रहेका छन् । अझै पनि १३ हजार बालबालिका विद्यालय बाहिर छन् । अपाङ्गता भएका बालबालिकाको शिक्षा र संरक्षणमा पर्याप्त बजेट विनियोजन नहुने गरेको सरोकारवालाहरूले बताएका छन् । प्रदेश र स्थानीय सरकारले बालबालिकाका क्षेत्रमा निकै न्यून बजेट छुट्याउँदै आएको उनीहरूको गुनासो छ ।

कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कृष्णा शाह बालबालिका र शिक्षा क्षेत्रलाई समेट्ने गरी पर्याप्त बजेट विनियोजन हुन नसकेको स्वीकार गर्छिन् । शिक्षा क्षेत्रको जगबाटै सुधार गर्नुपर्नेमा उनको जोेड छ । कर्णाली प्रदेशमा सबैका लागि पढाइ कार्यक्रम २०७५ देखि लागू भएको थियो । उक्त कार्यक्रम अपाङ्ग सशक्तिकरण केन्द्र (डेक) सुर्खेतले सञ्चालन गरेको थियो । सुर्खेतका नौ वटै पालिकामा यो कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रकाशित मितिः   ४ कार्तिक २०७९, शुक्रबार ०५:०४