नतिजामा सुधार, पर्याप्त छैन पूर्वाधार

सुर्खेत: गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीवारदेखि सकिएको छ । कर्णाली प्रदेश नतिजाको तालिकामा यो पटक पनि पुछारमै देखिएको छ । यद्यपि, विगतका वर्षहरूभन्दा नतिजामा केही सुधार भने भएको छ । यसपालि कर्णाली प्रदेशले १६ वटा पदक हात पारेको छ । खेलाडिले विभिन्न विद्यामा दुई स्वर्ण, तीन रजत र ११ कास्य पाएका हुन् ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताभन्दा नवौँमा कर्णालीले ६ वटा पदक बढाएको छ । आठौँ राष्ट्रिय खेलकुदमा प्रदेशले १० वटा पदक मात्रै जितेको थियो । यो पटक पनि अपेक्षित लक्ष्यअनुसार कर्णालीले पदक ल्याउन सकेन । गएका वर्षहरूभन्दा खेलकुदको अवस्था सन्तोषजनक बन्दै गएपनि अपेक्षित नतिजा भने निकाल्न नसकिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । परिषद्का उपाध्यक्ष प्रमोद हमाल अघिल्ला वर्षहरूको दाँजोमा नजितामा क्रमिक सुधार हुँदै गएको र खेलाडिहरूले हरेक विद्यामा राम्रो प्रदर्शन गरेको बताउँछन् । उनका अनुसार अहिले चार स्वर्ण, आठ रजत र २१ वटासम्म कास्य पदक जित्ने आकलन गरिएको थियो । अपेक्षाभन्दा झन्डै आधाजस्तो पदक जितेर कर्णालीले चित्त बुझाउनु परेको हो ।

खेल पूर्वाधार तथा दक्ष प्रशिक्षकको कमी, खेलाडिको पेसागत सुरक्षा र प्रोत्साहन गर्नेजस्ता नीतिको अभाव हुँदा कर्णालीले खेलकुदमा फड्को मार्न सकेको छैन । अन्य प्रदेशको तुलनामा यहाँको खेलकुद नतिजा निकै कमजोर छ । खेलकुदका लागि उपयुक्त वातावरण बनिनसकेको अवस्थामा केही खेलाडिहरूले भने आफ्नै बलबुतामा अब्बल प्रदर्शन गरिरहेका छन् । उनीहरूले अभावका बीच पनि विभिन्न विधामा पदक जित्ने गरेका हुन् ।

गत असोज २८ देखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लवले तीन सयभन्दा बढी पदक जितेर शीर्ष स्थान बनाएको छ । त्यस्तै, नेपाल पुलिस क्लव द्वितीय र एपीएफले तेस्रो स्थान बनाएका छन् । आयोजक गण्डकी प्रदेशले पनि यसपटक राम्रो प्रदर्शन गरेको छ । गण्डकीले एक सयभन्दा बढी पदक जितेको हो । नजिताअनुसार बागमती, सुदूरपश्चिम, मधेस र लुम्बिनी प्रदेश क्रमश अगाडि छन् । कर्णाली पदक तालिकाको अन्तिममा रहेको छ । अरु प्रदेशको दाँजोमा कर्णालीको खेलकुदमा सेना र प्रहरीको सहभागिता कम हुँदा पनि उल्लेखनीय नतिजा हासिल गर्न नसकिएको बताइएको छ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तेस्रो स्थान हासिल गर्ने गरी पूर्वतयारीमा लागिने प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल बताउँछन् । ‘अहिलेसम्मका खेलमा कर्णाली पदकविहीन बन्नुपरेको छैन,’ उनी भन्छन्, ‘दशाँै राष्ट्रिय प्रतियोगिता आफ्नै प्रदेशमा हुँदैछ । पदक बढाउने गरी तयारी तीव्र पारिनेछ ।’

दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा

आगामी राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गरिने भएको छ । त्यसका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा कर्णालीले उचाल्ने भएको छ । दुई वर्षको अन्तरालमा हुने प्रतियोगिताको आउँदो श्रृंखला कर्णालीमा आयोजना गरिने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । राष्ट्रिय खेलकुदको झण्डा शुक्रवार पोखराबाट कर्णाली ल्याइँदै छ । आगामी प्रतियोगिताका लागि खेल पूर्वाधारको विकासमा जोड दिइएको छ । सोही प्रतियोगितालाई मध्यनजर गरेर प्रदेश गौरवको रंगशाला निर्माणको कामलाई तीव्र पारिएको छ । प्रतियोगिता सञ्चालनका लागि चुनौती भएपनि उत्कृष्ट व्यवस्थापन गर्नेगरी आफूहरू लागि परेको परिषद्का उपाध्यक्ष हमालको दाबी छ । वीरेन्द्रनगरमा निर्माणधीन अन्तर्राष्ट्रियस्तरको रगंशालाको हालसम्म काम ४० प्रतिशत काम सम्पन्न भएको ठेकेदार कम्पनीले जनाएको छ । निर्माणको जिम्मा पाएको कम्पनीका अनुसार फिल्ड निर्माण सकिएको छ भने अब अन्य पूर्वाधार निर्माणका काम अघि बढाइनेछ । करिब एक अर्ब ५९ करोड लगानीमा अन्तर्राष्ट्रिय मापदण्डको खेल मैदान निर्माण गर्न लागिएको छ । उक्त रंगशालालाई प्रदेश सरकारले कर्णालीकै गौरवको आयोजनाका रूपमा हेरेको छ । सम्झौताअनुसार २०८१ जेठ १२ गतेसम्म रगंशाला निर्माणको काम सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने छ । राष्ट्रिय प्रतियोगिताको फुटबल खेलका लागि दुईवटा मैदान आवश्यक पर्छन् । वीरेन्द्रनगरमा निमार्णाधीन रंगशालामा पुरुष फुटबल प्रतियोगिता र चिसापानीको रंगशालालाई महिला फुटबल खेलका लागि तयारी अवस्थामा राखिनेछ । दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत हुने ३६ प्रकारका खेलमाहरूमा २२ वटा खेल सुर्खेतमै सञ्चालन गरिने छ भने बाँकी दैलेख, जुम्ला र जाजरकोटमा हुनेछन् । ती जिल्लाहरूमा पनि खेलकुदका पूर्वाधार र व्यवस्थापकीय कामहरू भइरहेको जनाइएको छ ।

लोगो र मस्कट राराबाट सार्वजनिक गरिने

कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो तथा मस्कट मुगुस्थित पर्यटकीय स्थल रारातालबाट सार्वजनिक गरिने भएको छ । परिषद्का उपाध्यक्ष हमालले आउँदो मंसिर ७ गते दशौँ राष्ट्रिय खेलकुदको बोर्ड बैठक रारामा हुने जानकारी दिए । उक्त बैठकले लोगो र मस्कट खेल हुने निश्चित मिति निर्धारण गर्ने छ । आठौँ राष्ट्रिय खेलकुदमा गैँडा र भर्खरै सम्पन्न नवाँै राष्ट्रिय खेलकुद प्रतियोगितामा हिमालको मस्कट राखिएको थियो । हिमालले कर्णालीमा हुने प्रतियोगिताको मस्कट चौरीगाईं राख्नेबारे छलफल भइरहेको जनाए । लोगोका बारेमा रारामा बस्ने बैठकले नै तय गर्ने छ ।

प्रकाशित मितिः   ४ कार्तिक २०७९, शुक्रबार ०५:०५