उम्मेदवारसँग अपेक्षाभन्दा गुनासा धेरै

सुर्खेत: प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । यतिबेला राजनीतिक दल तथा उम्मेदवारहरू मतदाता केन्द्रित भएका छन् । उम्मेदवारहरूले मतदातासँग भेटघाट गर्दै उनीहरूका अपेक्षा सुन्ने र आफ्ना योजनाहरू सुनाउने गरिरहेका हुन् । तर, जनमत आफ्नो पक्षमा पार्न गाउँ पसेका उम्मेदवारसँग मतदाताका अपेक्षाभन्दा पनि गुनासा बढी छन् । निर्वाचन आयोगले कार्तिक १८ पछि मात्रै चुनावीसभाहरू गर्न पाइने आचारसंहिता लागू गरेपछि उम्मेदवारहरू अहिले मतदाता रिझाउन घरदैलो अभियानमा जुटेका छन् । यसपालि पनि धेरैजसो पुरानै अनुहार दोहोरिएकाले विगतमा गरेका बाचा पूरा नगरेको भन्दै गुनासो गर्ने मतदाताको संख्या ठूलो छ । विकास निर्माणका काम नभएको मात्र नभइ राजनीतिक स्थायित्व नभएका गुनासो पनि धेरै सुनिने गरेको उम्मेदवारहरूले बताउँछन् ।

आफूले निर्वाचित गरेका प्रतिनिधिले कानुन र विकास निर्माणमा ध्यान दिनुको साटो सरकार फेरबदलमा मात्रै जोड दिने गरेको पनि मतदाताको गुनासो छ । अस्थिर राजनीतिले विकासमा पनि बाधा पुगिरहेको सचेत मतदाताहरूले बताइरहेका हुन् । वीरेन्द्रनगर–१२ का टोपबहादुर शाही आफ्नो ठाउँको विकासका लागि इमान्दार प्रतिनिधि चुन्नुपर्ने बताउँछन् । उनले यसपालि पनि उही पुराना आश्वास ल्याएर पुरानै अनुहार भोट माग्न आउन थालेको बताए । विगतमा गरेका प्रतिबद्धताअनुसार काम नभएकाले अहिले आफूले निकै सुझबुझका साथ प्रतिनिधि चुन्ने बताए । ‘सधैँ यो गर्छौं त्यो गर्छौं मात्रै भन्छन् काम भने कहिल्यै भएन,’ उनले भने, ‘अहिले पनि हामीलाई सडक, खानेपानी र विद्युतको राम्रो सुविधा छैन । यी सुविधाको भरपर्दो सेवाका लागि पहल गर्न सक्नेलाई भोट दिने सोचमा छु ।’

आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावका लागि राजनीतिक दलहरू कार्यकर्ता भेला, प्रशिक्षण तथा बैठक र मतदाता भेटघाटमा व्यस्त छन् । चुनावी नतिजा आफ्नो पोल्टामा पार्ने कसरतमा लागेका उनीहरूका आश्वासले मतदाता भने आजित भइसकेका छन् । वर्षाैंदेखि उही विकास र समृद्धिका चिल्ला नारा मात्रै सुन्दासुन्दा दिक्क भइसकिएको वीरेन्द्रनगर–३ की जयन्ती अधिकारी बताउँछिन् । योभन्दा पहिलेका चुनावमा गरेका प्रतिबद्धता भुलेको भन्दै उनले नेताहरूप्रति आक्रोश पोखिन् । ‘धारामा महिना दिनसम्म पानी आउँदैन,’ उनले भनिन्, ‘न गतिलो सडक छ न त भरपर्दो बिजुली । नेताले भोट माग्न आउनै सरम मान्नुपर्ने हो ।’ उनले विगतका व्यवहारका कारण नेताहरूले केही गर्लान् भन्ने भरोसा लाग्नै छोडेको जनाइन् । ‘जनताका साना–साना समस्या पनि हल गर्न नसक्नेहरू पटक–पटक भोट माग्न आइरहन्छन्,’ उनले भनिन् ।

गाउँघरको विकास र समृद्धिको योजना लिएर फेरि मतदाताबीच गइरहेका दल र उम्मेदवारहरूलाई मतदाता रिझाउन भने हम्मेहम्मे छ । मतदाताका असन्तुष्टिले नेताहरूलाई भोट माग्नै कठिन छ । मतदाताले खासगरी उम्मेदवारहरूसँग सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको विकास तथा वस्ती व्यवस्थापनलगायत सवालहरू उठाउने गरेका छन् । ग्रामीण सडकहरूको स्तरोन्नती, स्वास्थ्य सेवाको सहज पहँुच, गुणस्तरीय शिक्षा र आफ्नै ठाउँमा रोजगारका अवसरको सिर्जना गर्नुपर्ने माग मतदाताहरूको छ । वीरेन्द्रनगर–९ का सर्वराज विसी नेताहरूले सधैँ उस्तै चुनावी नारा बनाउने गरेपनि जनतालाई सुविधा दिन र समस्यामा केन्द्रित हुन नसकेको जनाए । नागरिकका समस्या ज्युँका त्युँ रहेको उनको भनाइ छ । हरेक निर्वाचनताका मतदाताको घरदैलोमा पुग्दा उम्मेदवारहरूले सोही टोल वस्तीका समस्याहरू उठान गरेर मतदाता प्रभावित पार्ने कोशिस गर्दै आएका छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–५ बाबियाचौरका यादव पौडेलले पश्चिम क्षेत्रमा नेताले गरेका बाँचा पूरा नगर्दा विकासको अनुभूति गर्न नपाएको बताए । पश्चिममा सडक, खानेपानी, विद्युत, सिँचाइको समस्या अहिले पनि उस्तै छ । उनी भन्छन्, ‘दशकौंदेखि एउटा गतिलो सडकसमेत छैन, नेताहरू चुनाव जितेर गएपछि आफ्नै स्वार्थमा भुल्छन् ।’

जुम्लाबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार बनेकी नेकपा ‐माओवादी केन्द्र) की गोमा गौतम कुँवर जनताका समस्याहरू बुझ्न भेटघाटमै व्यस्त छिन् । उनले जनताका अपेक्षा र गुनासा सुन्ने तथा निर्वाचित भए सोहीअनुरूप काम गर्ने दाबी गरिन् । जिल्लामा बाढीपहिरोका कारण ठूलो क्षति भएकाले वस्ती व्यवस्थापन, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता पूर्वाधारको विकासमा आफूले जोड दिने उनको भनाइ छ । नागरिकहरूले आधारभूत विकाससँगै यसपटक राजनीतिक स्थायित्वको लागि पनि अनुरोध गर्ने गरेको नेकपा ‐एमाले) बाट दैलेख क्षेत्र नं. १ प्रदेशसभा ‘क’ मा उम्मेदवार बनेका धर्मराज रेग्मी बताउँछन् । ‘मतदाताको माग विकास हुनुप¥यो भन्ने मात्रै छैन,’ उनले भने, ‘राजनीतिक विकृति हटाएर स्थायित्व हुनुपर्ने विषय उठ्ने गरेको छ ।’ उनले पछिल्लो पुस्ताका मतदाताले राजनीतिक स्थायित्व नभइ विकास हुँदैन भन्ने कुरा बुझिसकेको बताए । चुनेर पठाएका प्रतिनिधि सत्ता परिवर्तनका खेलमा मात्रै रुमलिँदा जनतामा निराशा देखिएको रेग्मीको भनाइ छ । सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अमृत विसीले अहिले जनताका अपेक्षाका बारेमा छलफल तथा भेटघाट गरिसकेको बताए । पहिलो पटक उम्मेदवार बनेका उनलाई पनि जनताले आफ्ना आधारभूत आवश्यकतासँग जोडिएका कामहरू विगतमा हुन नसकेको भन्दै गुनासो गरिरहेका छन् । आफू निर्वाचित भए जनताले राखेका मागहरूलाई सम्बोधन गर्ने गरी लाग्ने उनको दाबी छ ।

प्रकाशित मितिः   २ कार्तिक २०७९, बुधबार ०५:०५