मुख्यमन्त्री शाहीलाई लामाको चुनौती
सुर्खेत: २०७४ मा नेकपा (माओवादी केन्द्र) ले टिकट नदिएपछि हुम्लाका छक्कबहादुर लामा बागी उम्मेदवार बने । एमालेसहितको समर्थनमा पार्टीको आधिकारिक उम्मेदवार बनेका छिमी दोर्ची लामा र नेपाली कांग्रेसका मंगलबहादुर शाहीलाई पराजित गरेर प्रतिनिधिसभा सदस्य चुनिए ।
आगामी मंसिरमा हुने निर्वाचनमा लामा पुनः प्रतिनिधिसभा वा प्रदेशसभातर्फ उम्मेदवार हुन चाहन्थे । तर पार्टीले यसपटक पनि उनलाई टिकट दिएन । उनी जिल्लाबाट सिफारिसमा समेत परेनन् । माओवादीबाट प्रदेश र प्रतिनिधिसभाका लागि नौ जनाको नाम सिफारिस हुँदासमेत छक्कबहादुरको नाम त्यसमा अटेन । सिफारिसमै नपरेका उनले टिकट पाएनन् ।
जिल्लाको राजनीतिमा व्यक्तिगत प्रभावसमेत बनाएका लामाले अन्तिममा दल नै बदले । उनले नेकपा (एमाले) रोजे । लामालाई एमालेले प्रदेशसभा सदस्यको उम्मेदवार बनायो । अघिल्लो पटक बागी बनेर प्रतिनिधिसभा सदस्यको निर्वाचन जितेको उनी यसपटक प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । उनको उम्मेदवारी किन पनि रोचक बनेको छ भने लामाले जुन क्षेत्रबाट उम्मेदवारी दिएका छन्, त्यही क्षेत्रबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पनि उम्मेदवार छन् । यसपटक शाही र लामाबीच रोचक चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
जीवनबहादुर शाही पुनः मुख्यमन्त्री हुने योजनासहित प्रदेशसभा सदस्यको उम्मेदवार बनेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको फाइदा उठाउँदै छोटो अवधिका लागि मुख्यमन्त्री बनेका उनी यसपटक भने पूर्ण कार्यकाल सरकार चलाउने दाउमा छन् । तर उनका लागि लामासँगको प्रतिस्पर्धा सहज हुने छैन ।
शाहीले २०७४ मा चार हजार पाँच सय १९ मत पाएर विजयी हुँदा गठबन्धनबाट माओवादी केन्द्रका विजय भण्डारीले तीन हजार नौ सय ९५ मत पाएका थिए । यसपटक माओवादी र कांग्रेसको गठबन्धन बनेको छ । अघिल्लो पटक माओवादी–एमाले गठबन्धनविरुद्ध एक्लै जितेका शाहीलाई माओवादीको साथले केही सहज भने बनाउनेछ ।
यो निर्वाचन क्षेत्रमा तीन पालिका छन् । गत स्थानीय निर्वाचनमा तीनमध्ये दुई वटामा माओवादी र एउटामा कांग्रेस विजयी भएको छ । पालिकाका प्रमुखहरूले ल्याएको मतअनुसार गठबन्धनले ६ हजार एक सय ५८ मत पाएको छ । एमालेले भने तीन हजार पाँच सय ७६ मत पाएको छ । शाहीलाई चुनाव जित्न गठबन्धनको मत जोगाउनुपर्ने हुन्छ । यसपटक चुनाव जिते उनले लगातार तेस्रो पटक विजय हासिल गर्नेछन् । २०७४ अघि २०७० मा उनी हुम्लाबाटै संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।
गठबन्धनकोभन्दा आधा मत रहेको एमालेले भने लामाको व्यक्तिगत प्रभावलाई उपयोग गर्न खोजेको देखिन्छ । छक्कबहादुर लामा जिल्लाका पुराना नेता हुन् । उनको व्यक्तिगत प्रभाव भएकाले पनि आफ्नो पक्षमा मत बढ्ने एमालेको आँकलन छ । शाहीलाई पराजित गर्न सके लामा पनि हुम्लाबाट तेस्रो पटक चुनाव जित्ने नेता हुनेछन् । उनी २०४८ सालमा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यतिबेला उनी संयुक्त जनमोर्चा नेपालका उम्मेदवार थिए ।
प्रकाशित मितिः १ कार्तिक २०७९, मंगलवार ०५:०४
साझा बिसौनी ।