अपाङ्गतामैत्री नभएको निर्वाचन

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । यो निर्वाचनले आगामी पाँच वर्षे कार्यकालका लागि प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यको छनौट गर्नेछ । संसद् मात्रै होइन आगामी सरकार कसले चलाउने भन्ने छनोटसमेत हो, यो । त्यसैले सकेसम्म सबै मतदाताले निर्वाचनमा सहभागिता जनाएर मतदान गर्ने अपेक्षा गरिन्छ । तर जुन विधि र प्रक्रियाअनुसार निर्वाचन गरिन्छ त्यो सबै मतदाताका लागि सहज र अनुकूल भने हुन सकेको छैन । विशेष गरेर अपाङ्गता भएका नागरिकका लागि विगतदेखि नै निर्वाचन सहज हुन सकेको देखिदैन । अपाङ्गतामैत्री संरचनाको अभाव तथा निर्वाचन केन्द्रहरूको भूगोल व्यवस्थापनका कारण उनीहरूले मताधिकार प्रयोग गर्दा निकै झन्झट व्यहोर्दै आएका छन् ।

दृष्टिविहीन मतदाताले अन्य व्यक्तिको सहायतामा मतदान गर्नुपर्ने हुन्छ । सहयोगीको मद्दतले भोट हाल्नुपर्ने बाध्यता रहेका उनीहरू आफूले भनेकै उम्मेदवार र दललाई आफ्नो मत गए नगएकोमा भने ढुक्क हुन सक्दैनन् । तैपनि विश्वास मानेर सहयोगीमार्फत मतदान गर्नुको विकल्प छैन । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन (मतदान) निर्देशिका–२०७९ मा दृष्टिविहीन वा शारीरिक रूपले अशक्त मतदाताको सहयोगका लागि एकाघरको परिवारको सदस्यको मद्दत लिन सक्छन् । कुनै मतदाताले दृष्टिविहीन वा शारीरिक अशक्तता भएको तथा अरु कुनै कारणवश आफैँ मत संकेत गर्न नसक्ने भएमा मत संकेत गर्ने काममा सहयोग पु¥याउन मतदान अधिकृतलाई अनुरोध गरेमा त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था छ । मतदान अधिकृतलाई सो कुरा उपयुक्त लागेमा मतदान अधिकृतले त्यस्तो मतदाताको मतपत्रमा निजको इच्छाअनुसार मत संकेत गर्ने काममा सहयोग गर्नुपर्ने उल्लेख छ । तर, यो व्यवस्थाले मात्रै आफूहरूको अधिकार स्थापित नहुने अपाङ्गता भएका मतदाताहरू बताउँछन् । उनीहरूले एकाघरका सदस्य वा अन्य सहयोगीलाई विश्वास गरेर मतदान गर्ने हो, हाल्नेले बदमासी गरिदिए आफ्नो मत भनेका उम्मेदवारलाई नजान सक्छ । एकातिर गोपनीयता भंग हुने र अर्कोतिर मतको दुरूपयोग हुने जोखिम उत्तिकै रहन्छ ।
कर्णाली प्रदेशमा सहयोगीको भरमा मतदान गर्नुपर्ने थुप्रै व्यक्तिहरू छन् । मतदानस्थल अपाङ्गमैत्री र प्रविधियुक्त नहुँदा उनीहरूलाई मताधिकार प्रयोग गर्न समस्या छ । मतदान केन्द्रहरू टाढा हुँदा झनै समस्या झेल्नुपर्छ । अपाङ्गता भएका व्यक्तिहरू पनि नामावली भएकै मतदान केन्द्रमा पुगेर मात्रै मत हाल्न पाउँछन् । पायक पर्ने स्थानमा भोट हाल्ने व्यवस्था मिलाइनुपर्ने उनीहरूले माग गर्दै आएका छन् । निर्वाचनको व्यवस्थापन अपाङ्गतामैत्री नभएकाले मताधिकारजस्तो अधिकार प्रयोग गर्दा पनि विश्वस्त हुने आधार दृष्टिविहीन नागरिकले पाएका छैनन् । यसमा सम्बन्धित सरोकारवालाहरूले ध्यान दिन जरुरी छ । विद्युतीय मतदानको व्यवस्था यसको विकल्प हुन सक्दछ । जसले दृष्टिविहीनहरूको मताअधिकारको सदुपयोग हुनेछ ।

प्रकाशित मितिः   १ कार्तिक २०७९, मंगलवार ०५:०३