कच्ची सडकको बिजोक

सुर्खेत: एकसाता अघिको अविरल वर्षाका कारण कर्णाली राजमार्गसँगै अधिकांश जिल्लाका ग्रामीण सडकहरूको बेहाल छ । कच्ची सडकहरूमा ठाउँठाउँमा पहिरो जाँदा यातायात सेवा बन्द भएका छन् । कालीकोट, जुम्ला, दैलेख, सल्यान र मुगुका धेरैजसो ग्रामीण सडक बाढी र पहिरोले तहसनहस गरेको हो । सडकमा पहिरो जाँदा ठूलो क्षति भएकाले सबै सडक सञ्चालनमा ल्याउन अझै दुई महिनाजसो समय लाग्ने सडक डिभिजन कार्यालयले जनाएको छ । डिभिजन कार्यालयको तथ्यांकअनुसार मुगुको गमगढी–सोरुकोट सडकखण्डमा ४८ ठाउँमा पहिरो गएको छ । सडक अवरुद्ध हुँदा स्थानीयलाई खुबै सास्ती भएको छ । गमगढी आउन र सोरुकोट जान हैरानी भइरहेको स्थानीयले बताएका छन् । त्यहाँ स्थानीयहरू रुमखोलाको उकालो चढेर रारा लेक हुँदै पैदल सोरुकोट आउजाउ गर्न बाध्य छन् । बाढी पहिरोले गमगढी–सोरुकोट सडक पुरै तहसनहस भएको सोरु गाउँपालिका उपाध्यक्ष केशरबहादुर शाहीले जानकारी दिए ।

त्यस्तै, गमगढी–छाइल सडकखण्ड पनि पहिरोले क्षतविच्छेद भएको छ । मुगुमकार्मारोङ गाउँपालिका जोड्ने उक्त सडकको करिब ३५ स्थानमा पहिरो खसेको छ । लुम्स भटडाडीदेखि सालिम खोलासम्मको सडकमा ठूलो क्षति पुगेपछि स्थानीयहरू घण्टौं हिँडेर गन्तव्यमा पुग्न बाध्य भएको लुम्सका कम्मर ऐडीले जनाए । सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गअन्तर्गतको ताल्चा–रारा विमानस्थल–गमगढी सडकखण्डमा पनि ठाउँठाउँमा पहिरो झरेको बताएको छ । यो सडकको कालीकोटको नाग्मादेखि ९४ किलोमिटर सडकमा साना–ठूला गरी दर्जनौँ ठाउँमा पहिरो खसेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पहिरोले गमगढी जोड्ने मुख्य राजमार्ग नै अवरुद्ध भएको बताए । उनका अनुसार सडक अवरुद्ध हुँदा मुगुबासीलाई सुर्खेत र नेपालगञ्ज जान समस्या भएको छ । सडक अवरुद्ध भएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल ढुवानीमा पनि समस्या भएको बताइएको छ । केही दिन पहिलेको अविरल वर्षाले सल्यानमा पनि सडकहरू ठाउँठाउँमा समस्या भइरहेको कुमाख गाउँपालिका–५ कालागाउँका धनबहादुर बुढाथोकी बताउँछन् । उनका अनुसार कतिपय सडकमा पैदल हिँड्ने बाटोसमेत छैन । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले डोजर लगाएर पहिरो पन्छाउन खोजे पनि माथिबाट पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भइरहेको जनाए ।

प्रकाशित मितिः   ३० आश्विन २०७९, आईतवार ०५:०२