सडक विस्तारसँगै सरे बजार

चुप्रा सुनसान, बेस्तडा चम्कियो

सुर्खेत: ग्रामीण भेकहरू सडक सञ्जालमा जोडिएसँगै गाउँगाउँमा व्यापारिक केन्द्रहरू स्थापना भएका छन् । यातायातको सहज पहुँचले सबैतिर बजार विस्तार हुन थालेका हुन् । सडक विस्तारले नयाँ ठाउँहरू व्यापारिक क्षेत्रका रूपमा विकास भएका छन् भने कतिपय पुराना बजारमा व्यापार घटेको छ ।

दैलेखको चुप्रा बजार केही समययता सुनसानजस्तै छ । कुनैबेला त्यस क्षेत्रको मात्र नभइ छिमेकी जिल्लाहरूको नुनदेखि सुनसम्म किनमेल गर्ने बजार थियो यो । पछिल्ला वर्षहरूमा त्यहाँ कारोबार निकै न्यून छ । बजार सुक्न थालेपछि वर्षौंदेखि व्यवसाय गर्दै आएकाहरू विस्थापित भइसकेका छन् । ५० को दशकमा खुबै चम्किएको चुप्राले अहिले ग्राहक पाउनै मुस्किल छ । पछिल्ला वर्षहरूमा कारोबार झन् झन् खस्किदै गएको हो । केही वर्ष अघिसम्म दैलेखको समरमुकाम पछिको ठूलो व्यापारिक केन्द्र मानिने चुप्रामा अहिले असाध्यै कम व्यापार हुने गरेको स्थानीय योगेन्द्र पन्त बताउँछन् । उनी चुप्राका पुराना व्यापारी पनि हुन् । उतिबेला खुद्रा व्यवसाय गर्ने पन्तले एकै दिनमा लाखौँको कारोबार गर्थे । विस्तारै कारोबार घट्दै जान थालेपछि अहिले उनले व्यवसाय नै छोडिसकेका छन् । ‘एक समयमा चुप्रा व्यापारको हबका रूपमा चिनिन्थ्यो,’ पन्त भन्छन्, ‘पाँच सात वर्षयता ठाउँ नै सुनसान देखिन्छ ।’

गाउँगाउँमा सडकको पहँुच विस्तार भएपछि खुद्रा पसल गाउँमै खुले । वस्ती नजिकै सबैखाले सामान खरिद बिक्रीको सुविधा पुग्यो । मानिसहरू किनमेलका लागि चुप्रा बजार आइरहनुपर्ने बाध्यता हट्यो । स्थानीय पाकाहरूका अनुसार चुप्रा पाँच दशक पहिलेदेखि बसेको बजार हो । जिल्ला सदरमुकाम जाने घोरेटो बाटो बनेसँगै चुप्रामा स–सानो बजार बस्यो । सुर्खेत नेपालगञ्जदेखि जाजरकोट, कालीकोट र जुम्ला आउजाउ गर्नेहरूको बास बस्ने ठाउँ बन्यो । सानो लगानीका होटलमा पनि ग्राहकको भिड हुन्थ्यो । पन्त भन्छन्, ‘२०५५÷०५६ सालतिर त्यहाँ व्यापार निकै चम्केको थियो ।’ चुप्रामा स्थानीयस्तरमा उत्पादन भएका कृषिवस्तु र हस्तकलाका सामग्रीको पनि धेरै व्यापार हुन्थ्यो । बदाम, भटमास, तमाखु, सुल्पा, चोयाको काइयो, डोको, लिखेट्टोजस्ता खाद्यवस्तु र घरायसी सामग्रीको किनबेच हुने गरेको थियो । यही ठाउँबाट खच्चडमा ढुवानी गरेर जुुम्ला, कालीकोट र जाजरकोटसम्म सामान पठाइन्थ्यो । चुप्रा बजारमा व्यापार गर्नेहरू धेरैजसो डुङ्गेश्वर गाउँपालिका र दुल्लू नगरपालिका थिए । तोराया, भूकाहाँ, दह, लम्सु लाकुरी र साडँुका साथसाथै अर्घाखाची र बुटवलसम्मका व्यापारिहरूको रोजाइँ बजार यही थियो । जिल्लाका अन्य साना बजारहरूको थोक सामान खरिद गर्ने स्थान पनि चुप्रा नै थियो ।

केही वर्ष पहिले कर्णाली राजमार्ग बन्यो । सुर्खेत–दैलेख–कालीकोट हँुदै जुम्ला जोडिने अन्य सडकहरू निर्माण भए । ठाउँ–ठाउँमा पसल खुले । गाउँगाउँमा बजार बने । चुप्राको व्यापार विस्तारै ओरालो लाग्यो अर्थात् अन्यत्रै सर्‍यो । जसले गर्दा यहाँ ग्राहक घटे, व्यापार कम हुँदै गयो । सडक सञ्जालको विकासले चुप्राबाट हुने थोक व्यापार अन्तबाट पनि हुन थाल्यो । बेस्तडा, खोलि बजार, सातखम्ब, दुल्लू, डाँडीमाडी, खम्मागाडे, सिमाडा लोहोरे, नौमुले, विनायक, सेर्माकोटजस्ता ठाउँमा ठूला बजार स्थापित भए । कुनै बेला सानो बजार बेस्तडा अहिले चम्किएको छ । स्थानीय व्यापारी किशोर शर्माका अनुसार बेस्तडाका व्यापारी व्यापारमा आएको परिवर्तनले दङ्ग छन् । उनले २०७२ सालदेखि सोही ठाउँमा व्यापार गर्छन् । ६ लाख लगानीबाट सुरु भएको व्यवसाय हाल करोडौँमा पुगेको छ । मध्यपहाडी लोकमार्ग यही बजार भएर जान्छ । स्तरीय सडक बनेपछि यहाँ आमूल परिवर्तनहरू देखिन थालेको व्यापारीहरू बताउँछन् । उक्त बजारमा इलोक्ट्रोनिक व्यवसाय पनि फस्टाएको छ । मोबाइल पसलका सञ्चालक गणेश शाही बजार बढेपछि धेरैले रोजगारीसमेत पाएको बताउँछन् । बाटो र यातायातको सहजताले गर्दा दैलेख सदरमुकाम तथा सुर्खेतमा पाइने रेटमै सामान बिक्री वितरण भइरहेको उनको भनाइ छ ।

मध्यपहाडी लोकमार्गले बेस्तडाको मुहार फेरेको गाउँपालिकाका निर्वतमान अध्यक्ष दानबहादुर थापाले बताए । ‘सडक विस्तारसँगै धेरैको जीविकोपार्जनमा ढोका खुलेका छन्,’ उनी भन्छन्, ‘बाह्रै महिना सडक सञ्चालन हँुदा बजार तातेको छ ।’ स्थानीय उत्पादन पनि सुर्खेत–नेपालगञ्जसम्म पुर्‍याएर बिक्री गर्ने गरिएको छ । बेस्तडा भगवतीमाई गाउँपालिकाको केन्द्रसमेत हो । ४० को दशकभन्दा पहिला हालको बेस्तडा बजार त्यस वरिपरीका वस्तीहरूको गोठेरी रहेको ठाउँ हो । चारैतिरका मानिसहरूको जमघट र हेलमेलबाट उक्त ठाउँमा सामूहिक बसाइँ हुन थाल्यो । कट्टि खोलाको तिरमा रहेको यो सानो फाँटको माटो उर्बर मानिन्छ । यो ठाउँ अहिले त्यस भेकका मात्र नभइ जाजरकोटसम्मका बासिन्दाको शैक्षिक, प्रशासनिक र व्यापारिक केन्द्र बनेको छ ।

प्रकाशित मितिः   २९ आश्विन २०७९, शनिबार ०५:०६