पहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो

सुर्खेत: एक साताको अविरल वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न स्थानमा ठूलो मानविय तथा भौतिक क्षति भएको छ । बाढीपहिरो तथा विभिन्न प्राकृतिक विपद्मा परी प्रदेशभर मृत्यु हुनेको संख्या मंगलवारसम्म ३३ पुगेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार २२ जना मानिस अझै बेपत्ता छन् । त्यस्तै, पहिरोमा परी २१ जना घाइते छन् । वर्षाका कारण घरमा क्षति पुगेर चार सय ८० परिवार विस्थापित भएको प्रहरीको तथ्यांक छ ।

२२ जना अझै बेपत्ता, चार सय ८० परिवार विस्थापित

पछिल्लो एक साताको वर्षाको विपद्बाट जुम्लामा नौ जनाको मृत्यु भएको छ । यस्तै, मुगुमा आठ, हुम्लामा चार, कालीकोटमा चार, जाजरकोटमा तीन, सल्यानमा दुई, डोल्पामा दुई र दैलेखमा एक जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयको यो विवरण मंगलवार दिउँसोसम्मको हो । पहिरोमा परी कालीकोटमा १९, जुम्लामा दुई र दैलेखमा एक जना बेपत्ता भएका छन् । उनीहरूको खोजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै, जाजरकोट र रुकुम–पश्चिममा एक÷एक जना, जुम्लामा दुई, कालीकोटमा सात, मुगु तथा हुम्लामा पाँच÷पाँच जना विपद्बाट घाइते भएको प्रहरीको विवरण छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मुगुमा एक सय ७८, दैलेखमा एक सय तीन, जुम्लामा ८६, कालीकोटमा ४८, हुम्लामा ४०, सल्यानमा नौ, सुर्खेतमा आठ, डोल्पामा चार, जाजरकोटमा दुई र रुकुम–पश्चिममा दुई घरधुरी वर्षाका कारण विस्थापित भएका छन् । निरन्तरको झरीले प्रदेशभरका ६० वटा घरमा पानी पसेपछि परिवारलाई सुरक्षित स्थानमा सारिएको छ भने दुई हजार आठ सय ८९ परिवार प्रभावित भएको प्रहरीले जनाएको छ । वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा कर्णाली राजमार्ग तथा सहायक मार्गहरू अवरूद्ध भएका छन् । सडकमा पहिरोको अवरोध हुँदा आवतजावतमा कठिनाइ भएको छ । प्रभावित जिल्लाहरूमा जिल्ला सुरक्षा समितिको समन्वयमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोली उद्दार कार्यमा खटिएको बताइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार घरमा क्षति भएर विस्थापित भएका परिवारका लागि प्रदेश सरकारबाट राहत पठाउने प्रक्रिया थालिएको छ ।

प्रकाशित मितिः   २६ आश्विन २०७९, बुधबार ०५:०१