एक सातामा २३ जनाको मृत्यु
सुर्खेत: पछिल्लो एक सातादेखि निरन्तर परेको वर्षाले कर्णालीमा ठूलो जनधनको क्षति गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल झरीका कारण आएको बाढी र पहिरोमा परी २३ जनाको ज्यान गएको छ भने दर्जन बढी व्यक्तिहरू अझै बेपत्ता छन् । बाढी र पहिरोले कालीकोट, जुम्ला, हुम्ला र मुगुमा धेरै क्षति पु¥याएको छ । कालीकोटमा सोमवार साँझसम्म पहिरोमा परेका १९ जना बेपत्ता छन् भने चार जनाको मृत्यु भएको छ । तिलागुफा नगरपालिका–४ राँचुलीमा मात्रै तिला नदीमा मलामी गएका १३ जना पहिरोमा परेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । यस्तै, तिलागुफा नगरपालिका वडा नं. ७ मा एकै परिवारका पाँच जनामध्ये दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । उक्त नगरपालिकाको वडा नं. ६ भैसीगौडामा पहिरोमा परी एक जना बेपत्ता भएका छन् । एक सातायताको वर्षाले निम्त्याएको विपत्तीमा परी जिल्लामा पाँच जना घाइते भएका छन् ।
त्यस्तै, कालीकोटकै खाँडाचक्र नगरपालिका–८ सेराबाडामा एक जना प्रहरी जवान खोला तर्ने क्रममा बेपत्ता भएका छन् । जुम्लाको तातोपानी घरभइ हाल प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत पदम रावत खोला तर्ने क्रममा हराएका हुन् । अविरल वर्षाले मुगुको छायाँनाथ रारा नगरपालिका–११ स्थित सालिममा पहिरोमा परेर आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते छन् । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले आठ जनाको शव भेटिएको जानकारी दिए । उनका अनुसार ती आठै जनाको पहिरोमा परेर मृत्यु भएको हो ।
यसैगरी, हुम्लामा पहिरोमा परेर चार जनाको ज्यान गएको छ । चंखेली गाउँपालिका–६ मेल्छाममा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । वर्षाका कारण जिल्लामा मानवियसँगै भौतिक संरचनाहरूमा ठूलो नोक्सानी भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जनाइन् । पछिल्लो एक साताको झरीका कारण आएको पहिरोमा जुम्लामा सात जनाको मृत्यु भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिका–५ वारेकोट डाँडाका गणेशबहादुर शाहीको घर पहिरोले भत्किदा सात जनाको ज्यान गएको हो । पहिरोमा परेर घाइते भएका दुई जनालाई सोमवार थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । निरन्तर परेको वर्षाले कर्णालीका धेरै ठाउँमा सडक अवरुद्ध हुनुका साथै दर्जनौँ घरहरू भत्किएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार वर्षाले पु¥याएको क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन । प्रारम्भिक विवरणअनुसार नै ठूलो क्षति भएको अनुमान गर्न सकिने प्रहरीले जनाएको छ ।
प्रकाशित मितिः २४ आश्विन २०७९, सोमबार ०९:१६
साझा बिसौनी ।