हुम्लामा १६ जनाको उम्मेदवारी दर्ता
हुम्ला : आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि हुम्लामा १६ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधिसभामा ४ जना, प्रदेशसभा ‘क’ मा ६ र ‘ख’ मा ६ जना गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका छिरिङडम्डोल लामा (कार्चेन), नेकपा (एमाले) का दल रावल, माओवादी केन्द्र समाजवादीबाट कर्णजित बुढाथोकी (सशील) र राप्रपाबाट तेजबहादुर रावतसहित चार जनाले मनोनयन पत्र दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले जनाएको छ ।
प्रदेश निर्वाचन क्षेत्र (क) मा गठबन्धनकातर्फबाट माओवादी केन्द्रका रणसिंह परियार, नेकपा (एमाले)बाट दल फडेरा, एकीकृत समाजवादीबाट हस्तबहादुर शाही, राप्रपाबाट छापे ऐडीसहित कांग्रेस नेता मंगलबहादुर शाही माओवादी केन्द्रका ध्रुवकुमार शाहीले स्वतन्त्र मनोनयन पत्र दर्ता गराएका छन् ।
यसैगरी प्रदेश निर्वाचन क्षेत्र (ख) का लागि गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, एमालेका छक्कबहादुर लामा, राप्रपा नेपालका सुमन रावत, जनता समाजवादीका वलिराज शाही, राप्रपाबाट नैन रावत र माओवादी केन्द्रका वली रावतले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धन भित्रबाटै प्रदेशसभा ख मा माओवादी केन्द्रका बली रावत र प्रदेशसभा क मा नेकपा एकीकृत समाजबादीका हस्तबहादुर शाही नेपाली कांग्रेसका नेता मंगलबहादुर शाही र माओवादी केन्द्रका ध्रुवकुमार शाहीसहित ४ जनाले गठबन्धनकाविरुद्ध उम्मेदवार दर्ता गराएका छन् ।
प्रकाशित मितिः २४ आश्विन २०७९, सोमबार १६:५८
साझा बिसौनी ।