जाजरकोटमा १४ जनाको मनोनयन

जाजरकोट : प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि जाजरकोटमा स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ । प्रतिनिधि सभामा ६ जना, प्रदेश सभा ‘क’ मा ४ र ‘ख’ मा ४ जना गरी १४ जनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट प्रदेश ‘क’ मा नेपाली कांग्रेसबाट वेदराज सिंह र प्रदेश ‘ख’ बाट नेपाली कांग्रेसका राजिव विक्रम शाहले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएका हुन् । सिंहले महेन्द्र शाह र शाहले नगेन्द्र शाहलाई वारेस पठाएर उम्मेदवारी दर्ता गराएका हुन् । छिन्चु जाजरकोट सडक अवरुद्ध भएका कारण कांग्रेस उम्मेदवार बाटोमै भएका वारेस मार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभामा निरज आचार्य, प्रदेश सभा ‘क’ मा डम्बरबहादुर सिंह र प्रदेश ‘ख’ मा खिमबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा दीपक खनाल, प्रदेश ‘क’ मा गणेश बटाला र प्रदेश ‘ख’ मा कृष्णबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा राजबहादुर शाही र नेपाली कांग्रेस बीपीबाट प्रतिनिधिसभामा झलकनाथ वाग्लले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा ‘ख’ मा कृष्णबहादुर बुढाले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिनिधिसभामा स्वतन्त्र रुपमा नरबहादुर कार्कीको उम्मेदवारी परेको छ भने प्रदेश सभा ‘क’ मा कमान बहादुर खड्काको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट समाजवादीलाई भाग नदिएको भन्दै जिल्ला अध्यक्ष खड्काले स्वतन्त्र र केन्द्रीय सदस्य बुढाले प्रदेश सभा ‘ख’ मा पार्टीबाटै उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मितिः   २४ आश्विन २०७९, सोमबार १७:०१