कमजोर लोकतन्त्र
आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदैछ । एकैचरणमा दुवै निर्वाचन गर्न लागिएको हो । यसका लागि आइतवार देशैभर उम्मेदवारी मनोनयन दर्ता गरिएको छ । समानुपातिकतर्फको बन्दसूचि यसअघि नै दर्ता गरिएको थियो भने आइतवार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गरिएको हो । लगातारको झरीकाबीच उम्मेदवारहरू निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्तासँगै मुलुकको राजनीति चुनाव केन्द्रित भएको छ । यतिबेला उम्मेदवार भएका, पार्टीबाट टिकट नपाएका, टिकट नपाएरपछि दल बदल गरिरहेका गतिविधि चर्चामा छन् । यिनै यावत चर्चाकाबीच मतदाताहरूले आगामी मंसिरमा आफ्नो मत भोटमार्फत व्यक्त गर्नेछन् । जसले मुलुकको राजनीति र आगामी सरकारको टुँगो लगाउनेछ ।
चुनावी राजनीति बडो रोचक तरिकाले अघि बढिरहेको छ । एकातिर सत्तारुढ गठबन्धन सोही गठबन्धनलाई कायम राखेर निर्वाचनमा जाँदै छ । यद्यपि, गठबन्धनको एक घटक जनता समाजवादी पार्टी उम्मेदवारी दर्ताको मुखैमा आएर गठबन्धनबाट बाहिरिएको छ । अर्कोतर्फ नेकपा (एमाले) ले पनि विभिन्न साना दलहरूलाई आफूसँगै जोड्दै चुनावी तालमेलमा नै जोड दिएको देखिन्छ । पछिल्लो समय राजनीति थप विकृत बन्दै गएको छ । नेताहरूप्रति नागरिकको वितृष्णा बढेको छ । अहिले उम्मेदवार बनेकाहरूको अनुहारले आशा जागृत गराउन सकेको देखिँदैन । पटक–पटक उम्मेदवार बनेका, निर्वाचित भएका तर असफलसिद्ध व्यक्तिहरू नै धेरै ठाउँमा दोहोरिएका छन् । यसले थप निराशा पैदा गराएको छ । त्यसमाथि उम्मेदवार हुन भइरहेका अराजनीतिक खेलचक्रले पनि मतदातालाई राजनीतिप्रति वितृष्णा बढाउन भूमिका खेलिरहेको छ ।
चुनावलाई दलहरूले एक लोकतान्त्रिक प्रक्रियाका रूपमा हेरेका छैनन् । आफ्ना नीति, योजना र कार्यक्रमलाई मतदातामाझ लगेर अनुमोदन गराउने परीक्षाका रूपमा पनि लिएका छैनन् । जुनसुकै हालतमा चुनाव जित्ने र सत्तामा जाने अवसरका रूपमा मात्रै उपयोग गर्न खोजेको देखिन्छ । अहिले बनाइएका चुनावी गठबन्धनले त्यसैलाई पुष्टि गर्दछ । त्यसमाथि उम्मेदवार छनोटमा दलहरूले जे जस्तो अभ्यास गरेका छन् त्यसले राजनीतिक दलहरूभित्रको आन्तरिक लोकतन्त्र निकै कमजोर बनेको देखाउँछ । दलहरूभित्रकै आन्तरिक लोकतन्त्र कमजोर हुँदा त्यसले मुलुककै लोकतान्त्रिक व्यवस्थामा क्षयीकरण हुन जान्छ । यसले समग्र व्यवस्था र मुलुकलाई पछाडि धकेल्छ । लोकतान्त्रिक व्यवस्थालाई अबलम्बन गरिसकेपछि दलहरूको भूमिका र व्यवहार पनि लोकतान्त्रिक हुन जरुरी हुन्छ । त्यसले मात्रै मुलुकको लोकतान्त्रिक व्यवस्थालाई सबल र सफल बनाउन योगदान पु¥याउन सक्दछ । चुनाव लोकतन्त्रकै एक महङ्खवपूर्ण पक्ष हो, यसलाई त्यसकै मूल्य र मान्यतामा आधारित रहेर सफल बनाउनु सबैको उत्तिकै दायित्व हुनआउँछ ।
प्रकाशित मितिः २४ आश्विन २०७९, सोमबार ०५:०३
सम्पादकीय ।