कांग्रेसलाई पुनरागमनको अवसर
नेपाली कांग्रेसले कालीकोटमा संसदीय निर्वाचन जितेको इतिहास हेर्न तीन दशक पछाडि पर्खिनुपर्छ । २०४६ मा प्रजातन्त्र पुनस्र्थापनापश्चात् २०४८ मा भएको निर्वाचनमा कांग्रेसले देशैभरबाट बहुमत पाएको थियो । कांग्रेसले जितेका एक सय १० सीटमध्ये एक सीट कालीकोटको थियो । औँला भाँचेर वर्ष गन्दा यो ३१ वर्षअघिको कुरा हो । त्यसयता भने कांग्रेसले कालीकोटमा विजयको खुसीयाली मनाउन पाएको छैन ।
बितेका तीन दशकमा ६ पटक निर्वाचन भए । त्यसमध्ये पछिल्ला पाँच वटै निर्वाचनमा कांग्रेसले पराजय बेहोरेको छ । २०४८ मा तिलकप्रसाद न्यौपाने प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । कांग्रेसले जितेको पछिल्लो निर्वाचन त्यही थियो । कार्यकाल नसकिँदैन संसद् विघटन भएर २०५१ मा मद्यावधी निर्वाचन भयो । यसपटक भने कांग्रेसलाई एमाले तगारो बन्यो । नेकपा (एमाले) का यज्ञराज न्यौपानले चुनाव जिते । त्यसको पाँच वर्षपछि २०५६ मा आम निर्वाचन हुँदा एमालेकै उम्मेदवार प्रेमबहादुर सिंह निर्वाचित भएका थिए ।
दोस्रो जनआन्दोलन २०६२/०६३ पश्चात् २०६४ मा संविधान सभाको निर्वाचन भयो । यो निर्वाचन हुँदा भने कालीकोटमा सशस्त्र युद्धबाट शान्ति प्रक्रियामा आएको नेकपा (माओवादी) ले आफ्नो प्रभाव जमाएको थियो । निर्वाचनको नतिजा पनि सोहीअनुसार आयो, माओवादीका खड्गबहादुर विश्वकर्मा भारी मतसहित विजयी भए । प्रजातन्त्र पुनस्र्थापनापश्चातको निर्वाचन जितेको कांग्रेसले लोकतन्त्र प्राप्तिपछिको पहिलो निर्वाचन भने गुमाउन पुग्यो । भनिन्छ, ‘बाह्र वर्षमा त खोलो पनि फर्किन्छ ।’ तर १३ वर्ष बित्दा पनि नेपाली समाजमा प्रचलित उखानजसरी कालीकोटमा कांग्रेसको विजयी बिरासत फर्किएन ।
पहिलो संविधान सभा असफल भएपछि २०७० मा दोस्रो पटक संविधान सभाको निर्वाचन भयो । यसपटक कांग्रेस आफ्नो गुमेको साख फिर्ता ल्याउने कसरतमा थियो । तर पुनः माओवादी नै बाधक बन्यो । द्वन्द्वकालदेखि नै आफ्नो आधार क्षेत्र बनाएको माओवादीले कांग्रेस र एमालेजस्ता देशका अन्य दुई ठूला दललाई कालीकोटमा राम्रै मतअन्तरले पराजित ग¥यो । उक्त चुनावमा माओवादीका महेन्द्रबहादुर शाही संविधान सभा सदस्यमा चुनिए ।
संविधान जारी भएपछि २०७४ मा फेरि प्रतिनिधि सभाको निर्वाचन भयो । यो निर्वाचनमा माओवादीले नै बाजी मा¥यो । एमालेको समेत साथ पाएपछि माओवादीका दुर्गबहादुर रावतले २१ हजार एक सय १२ मत पाएर चुनाव जिते । कांग्रेसका भुपेन्द्रजंग शाहीले १६ हजार चार सय सात मत पाए । अन्य दलले एक हजार मत पनि कटाउन सकेनन् ।
यसरी कांग्रेसबाट कम्युनिष्टहरूले खोसेको कालीकोटमा आगामी मंसिरमा अर्को रोचक चुनावी प्रतिस्पर्धा हुँदैछ । यसपटक देशव्यापी कांग्रेस–कम्युनिष्ट गठबन्धन बनेको छ । सत्तारुढ गठबन्धनका दलहरू कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) सहितका दलहरू एकातिर छन् भने उक्त गठबन्धनसँगको प्रतिस्पर्धामा नेकपा (एमाले) हुनेछ । एकैपटक हुने प्रतिनिधि सभा र प्रदेश सभाको यो निर्वाचनबाट कालीकोटमा कांग्रेसले विजय जुलुस गर्न पाउने आँकलन गरिएको छ ।
सम्भावित उम्मेदवार
प्रतिनिधि सभातर्फ जिल्लामा एउटा निर्वाचन क्षेत्र छ । सत्तागठबन्धनभित्र भागबन्डा हुँदा कालीकोट सम्भवतः माओवादीको भागमा पर्नेछ । त्यसो हुँदा कांग्रेसले प्रदेश सभातर्फको सीट पाउन सक्नेछ ।
गठबन्धनसँग प्रतिस्पर्धा गर्ने दोस्रो दल एमाले हो । तर गत वैशाखको स्थानीय निर्वाचनको मतपरिणामलाई आधार मान्ने हो भने कालीकोटमा सत्तारुढ गठबन्धन ठूलो मनान्तरसहित अगाडि छ । पालिका प्रमुखहरूले पाएको मतअनुसार गठबन्धनसँग करिब ३२ हजार मत छ । एमालेसँग १५ हजार हाराहारी मत देखिन्छ । यस हिसाबले एमालेभन्दा सत्तागठबन्धन दोब्बर मतले अघि छ ।
नेपाली कांग्रेसले कालीकोटबाट प्रतिनिधि सभा सदस्यका लागि भुपेन्द्रजंग शाही, मीनबहादुर बोगटी र अशोकनाथ योगीलाई सिफारिस गरेको छ । माओवादी केन्द्रले कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित विष्णु विक, लक्ष्मी चौलागाईं र काशशीचन्द्र बराललाई सिफारिस गरेको छ । गठबन्धनभित्र कालीकोटमा माओवादीको मुख्य दावी छ । माओवादीको भागमा परेको खण्डमा पूर्वमुख्यमन्त्री शाही प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनेछन् ।
एमालेले नगिन्द्र शाही (नेशनल)को नाम एकल सिफारिस गरेको छ । उनी पहिलो पटक संसदीय चुनाव लड्न लागेका हुन् ।
प्रदेशसभातर्फ
कालीकोटमा प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र छन् । २०७४ मा एमाले र माओवादीले एक/एक क्षेत्र बाँडेका थिए । ‘क’मा एमालेका कुर्मराज शाही निर्वाचित भएका थिए । उनले ११ हजार नौ सय ३५ मत पाए । दोस्रो स्थानमा रहेका कांग्रेसका टेकराज शाहीले चार हजार चार सय ८९ मत पाएका थिए । ‘ख’बाट माओवादीका मेन्द्रबहादुर शाही चुनिए । उनले १२ हजार एक सय ५३ मत पाउँदा कांग्रेसका कालीबहादुर सहकारीले नौ हजार तीन सय ४२ मत पाए ।
निर्वाचन क्षेत्र (क) मा महावै र शुभकालिका गाउँपालिका तथा तिलागुफा र खाँडाचक्र नगरपालिका गरी चार स्थानीय तह छन् । गत वैशाखमा भएको निर्वाचनबाट चारमध्ये दुई वटामा माओवादी, एउटामा कांग्रेस र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । यो क्षेत्रमा सत्तारुढ गठबन्धनको करिब १५ हजार मत छ । एमालेको मत करिब सात हजार रहेको छ ।
अघिल्लो पटक जितेका कुर्मराज शाही अहिले एमालेमा छैनन् । उनी एकीकृत समाजवादीमा छन् । एमालेले उनको स्थानमा तुलाराज मल्ल, पुत्र मल्ल, कमलबहादुर शाही, दुर्गबहादुर शाहीलगायतलाई सिफारिस गरेको छ ।
नेपाली कांग्रेसले मनराज शाही, टेकराज शाही, खड्गजंग शाही, सुरज शाहीको नाम प्रदेशसभा सदस्यमा सिफारिस गरेको छ । गठबन्धनको अर्को दल माओवादीले निवर्तमान संघीय सांसद दुर्गबहादुर रावतलाई यसपटक प्रदेश सभा सदस्यका लागि सिफासि गरेको छ । एकीकृत समाजवादीबाट कुर्मराज शाही, विजया विष्ट र रविन्द्र शाही सिफारिस भएका छन् ।
पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जितेको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा पाँच वटा पालिका छन् । जसमध्ये तीन पालिका माओवादी र एउटा कांग्रेसले जित्दा एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पालिका प्रमुखहरूकै मतलाई हेर्दा यो क्षेत्रमा सत्तारुढ गठबन्धनको मत १९ हजार छ । गठबन्धनको तुलनामा एमालेको मत आधाले कम छ ।
प्रदेश सभा सदस्यका लागि कांग्रेसले यो क्षेत्रबाट कालीबहादुर सहकारी, दमनबहादुर शाही, नारायणप्रसाद भट्टराईलगायतलाई सिफारिस गरेको छ । माओवादीले जीवन बुढालाई अघि सारेको छ ।
एमालेले रमेश शाही, वीरेन्द्र बोगटी, प्रकाश रोकायासहितको नाम सिफारिस गर्दा एकीकृत समाजवादीले तुलाराज सिंम्खाडा र विश्वराज बमलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।
प्रतिनिधि सभा र प्रदेश सभा गरी कालीकोटका तीन वटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन निकै बलियो अवस्थामा छ । यही गठबन्धनको बलमा तीनमध्ये कम्तिमा कुनै एक निर्वाचन क्षेत्र जितेर तीन दशकपछि नेपाली कांग्रेस कालीकोटमा पुनरागमन गर्ने प्रयासमा हुनेछ ।
प्रकाशित मितिः १५ आश्विन २०७९, शनिबार ०५:०४
साझा बिसौनी ।