ड्युटीमै बित्छन् चाडबाड

सुर्खेत: बडादसैँ सुरु भएपछि चाड मनाउन गाउँघर फर्कनेको चहलपहल छ । दसैँले गाउँदेखि सहरसम्म रौनक ल्याएको छ । यतिबेला चाडपर्व मनाउन धेरैजसो पेसा व्यवसायका मानिसहरू धमाधम आफ्नो मूल घर गइरहेका छन् । तर, कतिपय यस्ता अत्यावश्यक निकायहरू छन्, जहाँ कार्यरतहरू दसैँजस्ता ठूला चाडमा पनि ड्युटीमै हुन्छन् । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीजस्ता पेसामा आवद्धहरू कमै मात्र चाडपर्वमा बिदा बस्छन् । चाडपर्वको समयमा गाउँघर जाने र आफन्त तथा साथीभाइसँग भेटघाट गरी रमाइलोसँग समय बिताउने चाहाना हुँदाहुँदै उनीहरूले पहिलो प्राथमिकता भने पेसालाई दिनुपर्छ । जसले गर्दा उनीहरूको चाडबाडसमेत कार्यकक्षमै बित्छ । त्यस्तै महŒवपूर्ण जिम्मेवारी बोकेको एउटा पेसा प्रहरी हो । नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउनुपर्ने प्रहरीको जिम्मेवारीका कारण उनीहरूमध्ये धेरैले चाडबाडमा पनि बिदा पाउँदैनन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डीएसपी) सुरज कार्की यसपालिको दसैँ ड्युटीमै मनाउँदै छन् । उनी भन्छन्, ‘हाम्रो जिम्मेवारी र दायित्वका कारण चाडपर्वमा पनि आरामले बिदा मनाउन मिल्दैन । विगतका वर्षहरूजस्तै यसपटक पनि कार्यालयमै दसैँ मनाउने योजना छ ।’ चाडपर्वको समयमा शान्ति सुरक्षा कायम गर्ने प्रमुख दायित्व प्रहरीको हुन्छ । यसैबेला आपराधिक घटनासमेत बढ्ने हुँदा धेरै प्रहरी परिचालन गर्नुपर्ने हुन्छ । त्यसकारण पनि उनीहरूलाई बिदा पाउन मुस्किल पर्छ । डीएसपी कार्कीले दसैँ कसरी मनाउने भन्दा पनि जिल्लाको शान्ति सुरक्षा कसरी गर्ने भन्नेमा बढी ध्यान जाने गरेको बताए । रामेछाप घर भएका कार्की १५ वर्षदेखि प्रहरी सेवामा छन् । उनी यो अवधिमा तीन÷चार पटक मात्रै दसैँमा घर गएका छन् । ‘बरु अरु बेला यसो मिलाएर घरतिर गइन्छ, चाडबाडमा झनै कामको चाप हुन्छ,’ उनी भन्छन् । उनी मात्रै होइन सुरक्षा निकायमा कार्यरत धेरैको चाडबाड यस्तै व्यस्तताकाबीच बित्छ ।

जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला तथा बालबालिका सेवा केन्द्रकी इन्चार्ज डिला विकको पनि दसैँ मनाउने विशेष योजना केही छैन् । उनी भन्छिन्, ‘चाडपर्वमा हामीले बरु विशेष सुरक्षा योजना बनाएर कार्यान्वयन गर्नुपर्ने हुन्छ । प्रहरीको सक्रियता झनै बढाउनुपर्ने भएकाले बिदामा बस्ने कमै सम्भावना रहन्छ ।’ उनी यसपालि पनि कार्यालयमै दसैँ मनाउने योजनामा छन् । ‘कार्यालय प्रमुखको सहभागितामा सबै जना परिवार जस्तै मिलेर टिका लगाएर मनाउँछौँ, दसैँको समयमा ड्युटीको चाप बढी हुन्छ । ड्युटीलाई असर नगर्ने गरी कार्यालयमै मनाउने हो,’ उनले भनिन् । डिलाले प्रहरीमा जागिर सुरु गरेदेखि घरमा गएर कमै दसैँ मनाएकी छन् । केही प्रहरी बिदामा घर जाने भएकोले जिम्मेवारी पनि थपिने हँुदा कार्यक्षेत्रमा रहेकाहरूको ड्युटी समय अझै बढ्छ ।

प्रहरी सेवा जस्तै स्वास्थ्यकर्मीहरूको पेसा पनि संवेदनशील छ । उनीहरूलाई पनि न त चाडबाडको बिदा सहजै मिल्छ न त सार्वजनिक बिदाका दिन पनि फुर्सद हुन्छ । अस्पतालमा बिरामी छोडेर स्वास्थ्यकर्मीहरूलाई बिदामा बस्न मनले पनि मान्दैन । बिरामीहरूको उपचारमा खटिनुनै पर्छ । प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसी विगतका वर्षहरूजस्तै यसपटकको दसैँ पनि बिरामीकै सेवामा लगाउने बताउँछन् । उनी स्थानीय भएकाले पनि बाहिरका स्वास्थ्यकर्मीहरूलाई यस समयमा घर जाने व्यवस्था मिलाउनुपर्छ । डा. केसी भन्छन्, ‘चाडपर्वमा झनै गम्भीर प्रकृतिका बिरामीहरू आउनुहुन्छ, अस्पतालहरूको ओपिडी सेवा सञ्चालनका लागि भएपनि हामीहरू बिदामा बस्ने कुरै हुँदैन । यस्तो बेला सबै बिदामा बस्दा बिरामीको बिचल्ली हुन्छ ।’ समय मिलेसम्म दसैँमा आफन्त, घरपरिवार र साथीहरूसँग भेटघाट गर्ने योजनामा उनी छन् ।

प्रदेश अस्पतालमै कार्यरत स्टाफ नर्स लक्ष्मी विक स्वास्थ्य सेवाको जिम्मेवारी काँधमा भएकाले यसपालिको दसैँमा पनि ड्युटीमै हुनेछिन् । उनको घर दैलेख हो । टीका थाप्ने उत्तम् साइतमै उनको ड्युटी परेको छ । अस्पतालको एनआइसीयूमा कार्यरत भएकाले पनि बिदा पाउने सम्भावना निकै कम हुन्छ । जहाँ २८ दिन मुनीका बच्चाहरूको उपचार गर्नुपर्ने हुन्छ । लक्ष्मीले भनिन्, ‘क्रिटिकल केस भएका बच्चाहरू हुन्छन् । भेन्टिलेटर र नर्मल बेडमा पनि बच्चाहरू हुन्छन् । उनीहरूको हेरविचारमा ध्यान दिनुपर्ने हुन्छ । मेरो दसैँको दिन बिहानदेखि दिउँसो तीन बजेसम्म ड्युटी परेको छ ।’ अघिल्लो साल पनि उनी दसैँमा अस्पतालमै बिरामीको सेवा गरिरहेकी थिइन् । प्रदेश अस्पतालकै डा. केएन पौडेल इमरजेन्सीबाहेक यस समयमा बिरामीको चाप कम हुने भएकाले बिरामीको सेवासँगै आफन्तहरू भेटघाट गरेर दसैँ मनाउने योजनामा छन् । उनको घर अर्घाखाँची हो । आमा पनि यतै भएकाले उनी यसपालि सुर्खेतमै दसैँ मनाउने योजनामा छन् । उनी भन्छन्, ‘हामी संवेदनशील पेसा छौँ, यसकारण पनि चाडपर्व र रमाइलोभन्दा जिम्मेवारी निर्वाह गर्नु पहिलो प्राथमिकतामा पर्छ ।’ अत्यावश्यक सेवा सञ्चालमा खटिनुपर्ने भएकाले आफूहरूलाई चाडबाडको रौनकलेसमेत कमै छुने गरेको उनको भनाइ छ ।

प्रकाशित मितिः   १५ आश्विन २०७९, शनिबार ०५:०५