मासुमा आत्मनिर्भर

सुर्खेत: दसैँ भित्रिएसँगै मासुका लागि खसी–बोका खरिद–बिक्री बढेको छ । मासुका विभिन्न परिकार खाने र बली दिने प्रचलनका कारण दसैँ पर्वमा खसी–बोका, भेडा, च्याङ्गा र हास–कुखुराको कारोबार धेरै हुने गरेको छ । सुर्खेतमा दसैँलाई लक्षित गरेर मासु आपूर्ति बढाउन व्यवसायीहरूले गाउँ–गाउँबाट खसी–बोका खरिद गरी ल्याएका छन् । मासु व्यवसायीहरूका अनुसार गतवर्ष दसैँका बेला सुर्खेतमा मात्रै एक हजार दुई सय खसी–बोका खपत भएका थिए । यसपालि पनि सोही हाराहारीमा मासुको खपत हुने आकलन गरिएको सुर्खेत मासु व्यवसायी संघका अध्यक्ष टोपेन्द्रजंग शाहीले जनाए । मासुको माग धान्ने गरी खसी–बोकाको आपूर्ति भइसकेको उनी बताउँछन् । ‘घटस्थापनादेखि ठूलो संख्यामा खसी–बोकाको माग हुन्छ,’ उनले भने, ‘यो समयमा विशेष गरेर जिउँदो खसी–बोकाको बिक्री–वितरण बढी हुने गरेको छ ।’ दसैँमा घटस्थापनादेखि अष्टमीसम्म खसी–बोका र मासुको कारोबार धेरै हुने गरेको हो ।

कर्णालीका विभिन्न जिल्लाबाट दैनिक सयौँको संख्यामा खसी–बोका बाहिर निर्यात

मासु व्यवसायी संघका अनुसार सामान्य अवस्थामा सुर्खेतको वीरेन्द्रनगरमा मात्रै दैनिक २५/२६ वटासम्म खसी खपत हुन्छन् । दसैँको समयमा भने माग बढी हुँदा दैनिक एक सयभन्दा बढी खसीको खपत हुने गरेको छ । ‘बजारको माग हेरेर हामीले त्यहीअनुसार खसी–बोका खरिद गर्ने हो,’ संघका अध्यक्ष शाहीले भने, ‘गत वर्षभन्दा यो वर्ष केही कम कारोबार हुने अनुमान छ ।’ सुर्खेतमा खसीको तुलनामा भेडा, च्याङ्ग्रा व्यापार निकै कम हुन्छ । अहिले भेडा च्याङ्ग्राको भाउसमेत बढेकाले झन् कम कारोबार हुने अनुमान गरिएको छ । भेडा–च्याङ्ग्राको एक केजी मासुको रेट हाल करिब एक हजार छ भने खसीको मासु नौ सय रूपैयाँमा बिक्री हुन्छ । खसीभन्दा भेडा च्याङ्ग्रा महँगो पर्ने र जुम्लाबाट ल्याउनुपर्ने भएकाले पनि खरिद बिक्रीका लागि सहज छैन । दसैँमा मासुको माग उच्च हुँदा अस्वभाविक मूल्यवृद्धिसमेत हुने गरेको छ । मासु व्यवसायी संघले बजारमा मासुको मूल्यमा एकरूपता ल्याउन मूल्यसूचि बनाइएको जनाएको छ । यसपालिको दसैँमा चलिरहेकै रेटमा मासु बिक्री भइरहेको संघको भनाइ छ ।

यसपटक विगतका वर्षहरूभन्दा खसीको मासु पनि कम कटिरहेको व्यवसायीहरू बताउँछन् । चार वर्षदेखि खसी बोकाको व्यवसाय गर्दै आएका रामबहादुर विकले आर्थिक मन्दीको असर मासु व्यवसायमा पनि परेको बताए । ‘घटस्थापनादेखि व्यापारमा घुँइचो हुन्थ्यो, यसपालि त्यस्तो भएको छैन,’ उनले भने, ‘यो वर्ष गतिलो व्यापार होलाजस्तो छाटकाट देखिएको पनि छैन ।’ सुर्खेतका लागि खसी–बोका दैलेख, जाजरकोट र कालीकोटबाट खरिद गरेर ल्याउने गरिएको छ । यी जिल्लाबाट सुर्खेतमा मात्र नभइ देशका ठूला सहर काठमाडौं, बुटवल, पोखरा र नेपालगञ्जसम्म खसी–बोका निर्यात गरिन्छ । यो पटक पनि दैनिकजसो सयौँको संख्यामा खसी–बोका निर्यात भइरहेका छन् । दसैँलाई लक्षित गरी शुक्रवारसम्म कर्णालीबाट झन्डै चार हजारको संख्यामा खसी–बोका विभिन्न सहरहरूमा बिक्रीका लागि लगिसकिएको बताइएको छ । कर्णालीमा खाद्यान्न र दुग्धजन्य उत्पादनमा परनिर्भर भएपनि मासुमा भने आत्मनिर्भर छ ।

यस्तै, अन्य समयमा बढी नै कारोबार हुने कुखुरा र माछाको व्यापार दसैँमा ह्वातै घट्छ । दसैँमा कुखुरा र माछा कम बिक्री हुने गरेको व्यवसायीहरू बताउँछन् । दसैँभित्र सक्दा पनि माछाको व्यापार फाटफुट मात्र भइरहेको विरु माछा पसलकी सञ्चालक पुनम विकले बताइन् । उनले भनिन, ‘अहिले खासै व्यापार छैन । गतवर्षको तुलनामा माछा बिक्री निकै कम छ ।’ अहिले प्रयास रहु जातको माछा प्रतिकेजी चार सय रूपैयाँमा पाइन्छ । जाडो महिना र तिहारमा माछाको व्यापार अलि धेरै हुने गरेको बताइएको छ । दसैँमा खसीको मासु खाने चलनका कारण कुखुराको मासु बिक्री कम हुन्छ । मनिषा फ्रेस हाउसकी सञ्चालक मनिषा थापाले अन्य समयभन्दा चाडपर्वमा कुखुराको मासु कम बिक्ने गरेको जनाइन् । उनी भन्छिन्, ‘दुई÷चार दिनयता कारोबार ठप्पजस्तै छ ।’

प्रकाशित मितिः   १५ आश्विन २०७९, शनिबार ०५:०१